सागर परियार
बुधवार, आश्विन १०, २०७५
965

जुम्ला-स्थानीय तहले गाउँमा दिएको विकासे बजेटमा लाखौंको फजुल खर्च देखिएको छ । जुम्लाका सात गाउँपालिका तथा एक नगरपालिकाबाट उपभोक्ता समितिमार्फत सञ्चालन भएका विभिन्न योजनाको विकासे बजेटमा लाखौं रकम फजुल खर्च गरेको पाइएको छ ।
आवश्यकताभन्दा बढी रकम नास्ता, खाना खर्च तथा प्राविधिक खर्च भन्दै विकासे बजेटमा मनपरि खर्च गरेका छन् । जसले गर्दा स्टिमेटअनुसार विनियोजित गरेको बजेट नै विकास निर्माणका लागि अपुग हुने गरेको छ । फजुल खर्चकै कारण विकासे योजनामा बजेट अपुग हुँदा अलपत्र परेको छ ।
यसमा मितव्ययिता अपनाउने विषयमा कुनै स्थानीय तहले चासो दिएको पाइँदैन । स्थानीय सरकार आएपछि विगतको भन्दा विकास निर्माण भएता पनि अपेक्षाअनुसार बजेट कार्यान्वयन नभएको फजुल खर्च बढी गरेको भन्दै स्थानीयले ध्यानाकर्षण गराएका छन् । हिमा गाउँपालिकामा सञ्चालन भएका ६० बढी योजनामा १५ देखि २० लाख बराबरको खर्च उपभोक्ता समितिले मनपरि खर्च गरेको पाइएको छ ।

बजेटमा उपभोक्ताको मनपरि
जुम्लाको हिमा गाउँपालिकाबाट गत आवमा सञ्चालन भएका विभिन्न विकासे बजेटमा लाखांैको रकम अनियमितता भएको छ भने, आवश्यकताभन्दा बढी फजुल खर्च भएको पाइएको छ । गाउँपालिकाले सञ्चालन गरेका झण्डै ७० बढी योजनामा लाखौंको फजुल खर्च भएको पाइएको छ ।
देवार गाउँ बृहत् खानेपानी आयोजनामा झण्डै २ लाख बढी अनियमितता भएको छ । नास्तामा ८० हजार, स्टिमेन्ट बिनाको ढुवानीमा १ लाख खर्च गरेका छन् । उपभोक्ता समितिका अध्यक्ष रामबहादुर शाहीलाई मनपरि खर्च गरेको आरोप लागेको छ । जसमा ५० लाख विनियोजिन भएको थियो ।
प्राविधिकलाई गाउँपालिकाले तलब दिएको छ । गाउँमा गएर लाखौंको खर्च गर्ने काम गर्न नहुनेमा उनको जोड छ भने उपभोक्तलाई पनि सच्चिन सुझाव दिए । ६० बढी लाखौंका योजनामा १ लाख बढी प्राविधिक खर्च निकाल्नु राम्रो होइन, यो प्रक्रियाको अन्त्य नभए, सबै अख्तियारको फन्दामा पर्ने उपाध्यक्ष हिमाली रोकायाले बताइन् । उनले भनिन्, “गाउँपालिकालाई समृद्धितर्फ लैजान भ्रष्टाचार अन्त्य गर्न आवश्यक छ ।”
साथै, टाङ्डादेखि चिउडी सिँचाइ आयोजनामा २ लाख ३१ हजार रुपैयाँ मनपरि खर्च गरेको पाइएको छ । ३० लाखको योजनामा साढे २ लाख बढी रकमा उपभोक्ता समितिको मिलोमतोमा मनपरि खर्च भएको छ । अध्यक्ष धनवीरे बुढाले शिलान्यासमा २० हजारको खसी र ६२ हजार मनपरि खर्च गरेको आरोप छ भने स्वास्थ्य केन्द्र कालिका उमावि बुअदेखि भुगल पाटो सडक योजना गुणस्तरीय नभएको भन्दै भुक्तानी भएको छैन ।
वडाध्यक्ष नन्दबहादुर रावतले भने, “विनियोजित बजेटमा मनपरि खर्च गरेपछि बजेट नपुग्दा भनेको ठाउँमा सडक पुगेको छैन । योजनाका बारेमा स्थानीयले अख्तियारमा मुद्दासमेत हालेका छन् । ४० लाख माथिका योजनामा भने प्राविधिक खर्चका नाममा उपभोक्ताले लाखौं कुम्ल्याएका छन् ।”
स्टिमेन्टभन्दा फजुल खर्च गरी, अपुग भएको भन्दै थप बजेट माग्छन्, गाउँपालिका अध्यक्ष रजबहादुर शाहिले भने, अब निरीक्षण पश्चातमात्रै थप बजेट वा योजनाको भुक्तानी गरिने छ । उपभोक्ता समितिले योजनाको बजेटमा गरेको मनपरि नरोके गाउँपालिकाले नै सञ्चालन गर्ने उनको भनाइ छ ।
आगामी बजेटमा यस्तै काम दोहोरिए, उपभोक्ता र प्राविधिकलाई सिधै कारबाही गर्ने बताए । तर, गत आवका ६० बढी ४० लाखभन्दा माथिका योजनामा भएको १५ देखि २० लाखसम्मको मनपरि खर्च भएको देखिन्छ । उनले थपे, खर्चको बिल भर्पाइ नबुझाए समितिका अध्यक्षबाट असुली गरिने अध्यक्ष रजबहादुर शाहिले चेतावनी दिए ।

वार्षिक प्रगति ८८ प्रतिशत
जुम्लामै दोस्रो गाउँपालिकाका रूपमा हिमा गाउँपालिकाले वार्षिक समीक्षा तथा सार्वजनिक सुनुवाइ गरेको छ । विभिन्न योजना तथा वर्षभरिको गतिविधिबारे आमनागरिकलाई जानकारी दिन सार्वजनिक सुनुवाइ ऐन २०५५ तथा नियमावली २०५६ अनुसार सार्वजनिक सुनुवाइ गरिएको प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले बताए । उनले भने, “विभिन्न चुनौतीबीच पनि गाउँपालिकाले ८८ प्रतिशत प्रगति गरेको छ ।”
शतप्रतिशत प्रगति हासिल गर्ने लक्ष्य लिए पनि सल्लाह दिनेभन्दा पनि टीका टिप्पणीमात्रै गर्ने बानीले लक्ष्यअनुसार उपलब्धि नभएको भुसालको भनाइ छ । उनले थपे सशर्त स्वास्थ्यमा ९९ प्रतिशत, कृषिमा पनि ९९ र पशुमा पनि ९९ प्रतिशत प्रगति भएको छ ।
स्वास्थ्य, कृषि र पशुमा आएको सशर्त अनुदानको १८ करोड ३१ लख २२ हजारमध्ये १५ करोड ७८ लाख १४ हजारमात्रै खर्च भएको छ । गाउँपालिकामा आएको २३ करोड १९ लाख ४३ हजारमध्ये १९ करोड ९१ लख ६३ हजार विभिन्न विकास निर्माणमा खर्च गरी गाउँपालिकाले ८८ प्रतिशत प्रगति गरेको प्रमुख प्रशासकीय अधिृकत खिमानन्द भुसालले बताए ।
उनका अनुसार आगामी आवबाट विनियोजित बजेटलाई शतप्रतिशत कार्यान्वयनका लागि पहल गरिने भएको छ । जुम्लाका स्थानीय तहमा सञ्चालन भएका योजनामा उपभोक्ता तथा प्राविधिक मिलेर गर्ने खर्चलाई नियन्त्रण गर्न जनप्रतिनिधिले प्रत्यक्ष निगरानी गर्ने हिमा गाउँपालिकाका जनप्रतिनिधिले बताएका छन् ।

 

सातामा धेरै पढिएको