केशव समर्पण
शुक्रवार, आश्विन ५, २०७५
951

विभिन्न माग राख्दै देशभरका सवारी चालकहरु आन्दोलनमा उत्रिएपछि त्यसको प्रत्यक्ष प्रभाव उद्योग क्षेत्रमा पनि देखिएको छ । सवारी चालकहरुले चारदिनदेखि सवारी नचलाउँदा हेटौंडामा रहेको करिब डेढसय उद्योगहरु प्रभावित भएका छन् ।
उद्योग संघ हेटौंडाका अनुसार संघमा आवद्ध १ सय २५ उद्योगहरु मध्ये करिब सयवटा भन्दा बढी उद्योगहरु कच्चा पदार्थको अभावमा बन्द हुने अवस्थामा पुगेका छन् । केही उद्योगहरुको स्टक सामान भरिएर पनि बन्द गर्नुपर्ने अवस्था आइसकेको उद्योग संघ हेटौंडाका अध्यक्ष नवराज अर्यालले बताए । ‘अब तत्काल कच्चा पदार्थ ल्याउने र स्टक सामान नउठ्ने हो भने धेरै उद्योगहरु बन्द नै हुन्छन् । कच्चा पदार्थ भएकाले पनि स्टक सामान बाहिर पठाउन नसक्दा थप उत्पादन गर्न सकेका छैनन् ।’ अध्यक्ष अर्यालले भने ।

उद्योग संघमा आवद्ध हेटौंडा औद्योगिक क्षेत्र र बाहिरका उद्योग गरी एक सय एकसय २५ वटा उद्योगले दैनिक २५ करोड रुपैयाँ बराबरको सामान स्वदेश तथा विदेशमा निकासी गर्दै आएका थिए । मंगलबारदेखि सवारी चालकहरुले सवारी सञ्चालन नगर्दा दैनिक व्यापारमा प्रत्यक्ष असर परेको उद्योगीहरुको भनाइ छ ।
हेटौंडामा रहेका शिवम् सिमेन्ट, हेटौंडा सिमेन्ट, युनिलिभर नेपाल, नेपाल इकरात, एसियन पेन्ट्स्, युनाइटेड ब्रुअरीलगायतका ठूला उद्योगहरुले चालक हड्तालको मार खेपिरहेका छन् । कच्चा पदार्थ आयात पनि रोकिएको र उत्पादित समान पनि बाहिर पठाउन नसकिएको कारण उद्योग बन्दै गर्नुपर्ने अवस्था आएको उद्योग एसियन पेन्ट्स प्रशासनले जनाएको छ । ‘भारत, चाइना, जर्मनबाट आउने कच्चा पदार्थ चारदिनदेखि रोकिएको छ, भित्र भएको स्टक उत्पादन पनि लगभग भरिसकिएको, रङको लागि यो चाडवाडको सिजनमा उद्योगले व्यापार गर्न पाएको छैन ।’ उद्योगका उत्पादन शाखाका एक अधिकारीले नाम बताउन नमिल्ने बताउँदै भने । एसियन पेन्ट्सबाट दैनिक ५ देखि १० वटा गाडी सामान लोड गरेर बाहिरिने गरेकोमा चारदिनदेखि रोकिएको जनाइएको छ ।
साथै दाना उद्योगहरु, गाबिनेट वायर उत्पादन गर्ने उद्योगहरु पनि चालक हड्तालको कारण बन्द हुने अवस्थामा पुगेका छन् । सामान्य अवस्थामा हेटौंडाका उद्योगहरुबाट दैनिक करिब एकसय वटा सवारीले उत्पादित सामान लोड गर्ने र सयवटा भन्दा बढी सवारीले कच्चा पदार्थ बोकेर भित्रिने गरेका संघका अध्यक्ष अर्यालले बताए । ‘उद्योगहरुको अधिकांश कच्चा पदार्थ भारत तथा तेस्रो मुलुकबाट आउने गर्छन्, कच्चा पदार्थ बोकेको धेरै गाडी भन्सारमा रोकिएका छन्, कतिपय लोड हुनै पाएका छैनन् । तत्कालै सवारी चल्न थाले पनि केही दिन उद्योगको उत्पादन प्रभावित हुन्छ ।’ उद्योग संघका अध्यक्ष अर्यालले भने । भन्सार छुटेर आउँदा कच्चा पदार्थ बोकेको सवारीलाई कम्तीमा दुइदिन लाग्ने उनको भनाइ छ ।
चाडवाडको समयमा आफ्ना उत्पादन उपभोक्ता समक्ष पुराउन नपाउँदा मारमा परेको भन्दै उद्योग संघ मकवानपुरले एक विज्ञप्तिसमेत जारी गरी सम्बन्धित सरोकारवालाको ध्यानाकर्षण गराएको छ । उद्योगको कच्चा पदार्थको आपूर्ति र उत्पादनहरुको बजारसम्म पुराउने प्रक्रिया रोकिनु सबैको लागि पीडादायी भएको भन्दै तत्काल यातायात सुचारु गरी बजारमा सहज परिस्थिति सिर्जना गर्न संघले आग्रह गरेको छ । ‘उद्योगहरु सहज वातावरणमा चल्ने वातावरण सिर्जना गर्न हामी आन्दोलनरत र सरकार पक्षलाई ध्यानाकर्षण गराउन चाहन्छौं ।’ संघका अध्यक्ष अर्यालले भने–‘समृद्धिको नारा जप्ने सरकारले चारदिनदेखि सवारी बन्द भएर उद्योगधन्दामा असर पुग्दा चासो नदिनु दुःखपूर्ण छ ।’
सरकारले जारी गरेको सवारी ऐन यातायात मजदुरमैत्री नभएको भन्दै नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिले मंगलबारदेखि सवारी चलाउन छोडेपछि आम उपभोक्तामा पनि त्यसको असर देखिएको छ । सवारी तथा यातायात ब्यवस्था सम्बन्धी ऐन २०४९ को संशोधित ऐन २०७४ को दफा ६३ देखि १६३ सम्मका विभिन्न बुँदाहरु सवारी चालकहरुको हित विपरित भएको भन्दै चालकहरुले सच्याउन माग गरेका छन् । चालकहरु बिना कसुर पनि अपराधी बन्नुपर्ने बाध्यता सिर्जना भएको उनीहरुको भनाइ छ ।