कारोबार संवाददाता
शुक्रवार, आश्विन ५, २०७५
850

भूकम्प गएको ४२ महिनापछि गजुरी गाउँपालिका–२ चामवास बाह्रबिसेको जमिनमा धाँजा फाटेको छ । भदौ १७ गते राति परेको अविरल वर्षाका कारण धाँजा फाट्दा तामाङ बस्ती जोखिममा परेको छ । स्थानीयले गाउँपालिकामा जानकारी गराएलगत्तै गाउँपालिका अध्यक्ष राजेन्द्रविक्रम बस्नेतले स्थलगत अवलोकन गरी माथिल्लो तह तथा निकायमा जानकारी गराई छिटो समाधान खोज्ने बताए । समस्या समाधान गर्नु अघि सुरक्षित स्थानमा बसोबास गर्ने व्यवस्था मिलाउने अध्यक्ष बस्नेतले बताए ।
पृथ्वीराज मार्ग (सडक) क्षेत्रको जग्गा र निजी जग्गामा ४० वर्ष पहिलेदेखि नारायण पाण्डे, रामप्रसाद पाण्डे र यदु पाण्डेले ढुंगा (घरमा गाह्रोमा टाँस्ने र आँगनमा बिछ्याउर्ने) खानी सञ्चालन गर्दै आएका छन् । केही वर्ष यता रिसोर्ट बनाउने नाममा घडेरी खार्ने क्रममा डोजर लगाएर ढुंगा खानी नै सञ्चालन हुँदै आएको थियो । स्थानीयको दबाब र जिल्ला प्रशासनको निर्देशनमा छ महिनादेखि ढुंगा निकाल्ने काम रोकिएको स्थानीयले बताए ।
चामबास बाह्रबिसे गाउँमा ११ घरधुरीमा ५० जनाको परिवार बस्दै आएका छन् । त्यस गाउँमा १२ परिवारको ३७ रोपनी जग्गा छ । भूकम्पपश्चात २ वटा पक्की घर निर्माण भएका छन् भने अरुले भूकम्पप्रतिरोधी घर बनाउन आवास अनुदान लिएर घरको डीपीसी गरेका छन् । गाउँबस्तीलाई घेराहाली ४ इन्च चौडा र २ फिट गहिराईसम्म धाँजा फाटेको छ । यो गाउँमा पहिरो गए बस्ती विस्थापित मात्र नभई राजधानी काठमाडांैसँग जोड्ने मुख्य पृथ्वीराज मार्गसमेत अवरुद्ध हुनेछ ।