कारोबार संवाददाता
बिहिवार, जेठ ३, २०७५
538

उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’सँग चीन सिचुवान प्रान्तका उपगभर्नर पेङ युसिङले शिष्टाचार भेट गरेका छन् । बुधबार उपराष्ट्रपतिको कार्यालयबहादुर भवन पुगेर सिचुवान प्रान्तका उपगभर्नरले उपराष्ट्रपतिसँग शिष्टाचार भेट गरेका हुन् । उपराष्ट्रपतिले सिचुवान प्रान्तका उपगभर्नर नेतृत्वको प्रतिनिधि मण्डलसँगको भेटमा नेपाल राजनीतिक स्थायित्व, विकास र समृद्धिको मार्गमा अगाडि बढिरहेको बताए । उनले नेपालको समृद्धिमा चीनको सहयोगको खाँचो औंल्याउनु हुँदै एक पेटी एक मार्ग (ओवीओआर)बाट नेपालले अधिकतम लाभ लिने कोसिस गरिरहेको पनि बताए ।
उनले नेपाल लगानीका लागि भर्जिनल्यान्ड भएको उल्लेख गर्दै ऊर्जा, कृषि, पर्यटन, रेलमार्ग, भौतिक पूर्वाधार निर्माणको क्षेत्रमा लगानी गर्न आग्रह गरे । उपराष्ट्रपतिले चीनसँगको व्यापार बढ्दो भए पनि नेपालले व्यापारघाटा भोगिरहेको भन्दै व्यापार सन्तुलनका लागि दुवै देशले सोच्नुपर्ने बताए ।
उपराष्ट्रपतिसँगको भेटमा सिचुवान प्रान्तका उपगभर्नरले नेपाल–चीन सम्बन्ध अत्यन्त प्रगाढ रहेको बताउँदै नेपालको विकासमा सधैं चीनको साथ रहने उल्लेख गरे । उनले चीन र सिचुवान प्रान्त नेपालको ऊर्जा, कृषि तथा खाद्य प्रविधि, सडक सञ्जाल, रेलवेको क्षेत्रमा लगानी गर्न चाहेको पनि बताए । उनले आफू नेतृत्वको प्रतिनिधिमण्डल लगानीको सम्भाव्यता अध्ययन गर्न आएको समेत बताए ।