कारोबार संवाददाता
बिहिवार, जेठ ३, २०७५
1517

नेपाल राष्ट्र बैंकले सुन व्यवसायीहरूलाई वाणिज्य बैंक बाहेकसँग सुन खरिद गरेको पाए कारबाही गर्ने चेतावनी दिएको छ । राष्ट्र बैंकले बजारमा तस्करीको सुनको कारोबार हुने क्रम बढेपछि वाणिज्य बैंक बाहेकसँग सुन खरिद गरेको पाए व्यवसायीहरूलाई कारबाही गर्ने चेतावनी दिएको हो ।
नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले बुधबार काठमाडौंमा गरेको कार्यक्रममा राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले राष्ट्र बैंकले वाणिज्य बैंक बाहेकलाई काँचो सुन ल्याउने अनुमति नदिएको अवस्थामा व्यक्ति व्यक्तिसँग सुन खरिद नगर्न व्यवसायीहरूलाई सचेत गराएका छन् । उनले कतिपय सुनचाँदी व्यवसायीहरूले अनौपचारिक कारोबार गरेको सूचना पाएको भन्दै त्यस्ता व्यवसायीलाई कारबाहीको दायरामा ल्याउने बताए ।
राष्ट्र बैंकका डेपुटी गभर्नर शिवाकोटीले मुलुकको अर्थतन्त्रले दैनिक २० किलोभन्दा बढी सुन धान्न नसक्ने भन्दै व्यवसायीहरूलाई गरगहना विदेश निर्यात गर्ने शर्तमा जति पनि सुन दिने बताए । उनले गरगहना विदेश निर्यात गरेर विदेशी मुद्रा आर्जन गर्ने ग्यारेन्टी गरे मागेबमोजिम सुन उपलब्ध गराउन राष्ट्र बैंक तयार रहेको बताएका छन् । महासंघका अध्यक्ष रमेश महर्जनले रत्न पत्थरसहितका गरगहना निर्यात गरेर व्यापारघाटा कम गर्न सकिने बताए । महासंघले मुलुकभित्र रहेका रत्न पत्थरहरूको उत्खनन्को सम्भाव्यताका विषयमा छलफलका लागि सबै प्रदेशका मुख्यमन्त्रीलाई निम्ता गरेर बृहत् सम्मेलन गरेको छ । सम्मेलनमा १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राई, २ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउत र ७ नम्बर प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट सहभागी भए पनि बाँकी चार प्रदेशका मुख्यमन्त्री भने उपस्थित भएनन् ।