दीननाथ बराल
सोमवार, बैशाख ३, २०७५
760

पर्यटकीय नगरी पोखरामा पर्यटकहरूलाई नयाँ गन्तव्यका रूपमा वाटरपार्क सञ्चालनमा आउने भएको छ । पोखरा आउने आन्तरिक तथा बाह्य पर्यटकहरूका लागि नयाँ गन्तव्यका रूपमा आफूहरूले वाटर पार्कसहितको आर्य दि रिसोर्ट सञ्चालनमा ल्याउन लागेको सञ्चालक अमितराज मुल्मीले बताए ।
पोखरा ताल तलैयाको सहरका रूपमा परिचित भए पनि व्यवस्थित वाटरपार्क नभएकाले पोखरामा थप मनोरन्जन दिने उद्देश्यले पनि आफूहरूले नयाँ वर्ष २०७५ वैशाख एक गतेबाट उक्त पार्कसहित रेस्टुराँ सञ्चालनमा ल्याउने भएको सञ्चालक मुल्मीले बताए । पोखरा लेखनाथ महानगरपालिका १४ कुडँहर फाँटमा रहेको उक्त पार्कमा प्रवेश गरेपछि वाटरपार्क बिग स्प्पाशभित्र रहेका सबै किसिमका स्लाइडमा खेल्न पाउने छन् ।

पौडी र पानीमा रमाउनेका लागि ३० फिटको उचाइमा रहेको ओपन फ्लोट स्लाइडबाट ३ सय १० फिट लामो स्लाइडिङ गरी पुलमा उत्रिँदै पानीको मज्जा लिन सकिने प्रालिका प्रबन्ध निर्देशकसमेत रहेका अमितराज मुल्मीले बताए । त्यसैगरी ३० फिटको उचाइमा रहेको ओपन फ्लोट स्लाइडबाट ३ सय १० फिट लामो फ्ल्यास पुलमा उत्रन मिल्ने, ३० फिट उचाइमा १ सय २० फिट लामो र १५ फिट उचाइमा ६० फिटलामो छुट्टाछुट्टै स्टे«ट स्लाइड र वेभ स्लाइडबाट अर्को पुलमा उत्रने मिल्ने गरी वाटरपार्क निर्माण गरिएको उनले जनाए ।
पार्कमा मनोरञ्जनका लागि अन्य आकर्षक फाउन्टेन्सहरू पनि निर्माण गरिएको निर्देशक मुल्मीले जनाए । शुभारम्भको अवसरमा २ फिट ६ इन्चभन्दा साना बालबालिकालाई प्रवेश निःशुल्क गरेको छ भने उचाइ ४ फिटसम्मका लागि ४ सय ३५, ४ फिट उचाइमाथि भएकालाई ४ सय ९५ रुपैयाँ निर्धारण गरेको प्रालिले जनाएको छ ।
प्रालिले ११ करोड लागत निर्माण गरेको उक्त संरचना १३ रोपनी क्षेत्रफलमा फैलिएको मुल्मीले बताए । वाटरपार्क करिब १७ महिनामा निर्माण गरिएको हो । परिवार, बालबच्चासहित रमाउन सकिने आर्य दि रिसोर्ट फन प्रालिमा केही सयम पछि होटलसमेत सञ्चालन गर्ने योजना भएको प्रालिका आनन्दराज मुल्मीले बताए । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष समेत रहेका मुल्मीले आफ्नो पारिवारिक लगानी भएको बताउँदै वाटरपार्क पोखरा आउने पर्यटकका लागि नयाँ गन्तव्य हुने दाबी गरे । वाटरपार्कमा आवश्यक पानी प्रालिले बोरिङ गरी निकालेको हो । पानीलाई उच्च प्रविधिमा प्रशोधन गरी प्रयोगमा ल्याएको मुल्मीले बताए । वाटरपार्कका बिभिन्न खानाका परिकारसहित रेस्टुराँ समेत सञ्चालनमा छ । प्रालिले हाल २५ जनालाई रोजगार दिएको छ भने प्रतिटिकट ५ रुपैयाँ सामाजिक सेवामा खर्चिने भएको छ । बिहान १० बजेदेखि साँझ ६ बजेसम्म उक्त वाटरपार्क खुल्नेछ ।