नारच्याङ–अन्नपूर्ण बेसक्याप पदमार्ग सञ्चालनमा
कारोबार संवाददाता
सोमवार, बैशाख ३, २०७५
323

म्याग्दीको नारच्याङदेखि ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको आधार शिविर जोड्ने नयाँ पदमार्ग सञ्चालन भएको छ । अन्नपूर्ण गाउँपालिका ४ नारच्याङदेखि पहिलो पटक हिमाल आरोहण र पदयात्रीको २१ जनाको टोली आधार शिविर पुगेका छन् ।
सेभेन समिट टे«किङमार्फत पथप्रर्दशक मिङ्मा शेर्पाको नेतृत्वमा ५ जना दक्षिण कोरियाका हिमाल आरोहीसहित पर्यटक र भरियाहरूको २१ जनाको टोली पहिलो पटक नारच्याङदेखि हिँडेर अन्नपूर्ण आधार शिविर पुगेका स्थानीय होटल व्यवसायी इन्द्रसिङ शेरचनले बताए । नीलगिरि खोलाको किनारै किनार स्थानीयवासी र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले पदमार्ग बनाएका छन् ।
यो पदमार्ग अन्नपूर्ण आधार शिविर पुग्ने सबैभन्दा छोटो बाटो भएको पथप्रदर्शक शेर्पाले बताए । यसअघि अन्नपूर्ण आधार शिविर पुग्न मुस्ताङको लेतेबाट पैदल र म्याग्दीको दानाबाट हेलिकप्टरबाट जाने गरिएको थियो । लेतेबाट दुइटा भ्याली पार गरेर आधार शिविर पुग्न चार दिन लाग्ने गरेको थियो ।
हेलिकप्टर चार्टर गर्दा एक पटकको डेढ लाख रुपैयाँ तिर्नुपथ्र्याे । नयाँ पदमार्ग सञ्चालन भएपछि यात्रा अवधि छोटिनुका साथै खर्चसमेत घटेको छ । वि.सं. ०७२ देखि निर्माण सुरु भएको पदमार्ग निर्माण कार्यले पूर्णता पाएपछि सञ्चालनमा ल्याइएको हो ।
नारच्याङबाट पहिलो दिन कालोखोला, दोस्रो दिन फुलबारी बास बसेर तेस्रो दिन आधार शिविर पुगिन्छ भने दुई दिनमै नारच्याङ फर्किन सकिन्छ । पदमार्गमा होटल तथा लज नभएकाले पदयात्री तथा आरोहीहरू बन्दोबस्तीका सामानसहित जानुपर्नेछ ।
पर्यटन विभाग, एक्यापलगायतका निकायले यस पदमार्गमा पूर्वाधार निर्माणमा हालसम्म ६० लाख रुपैयाँभन्दा बढी लगानी गरिसकेका छन् । पदमार्गको स्तरवृद्धि, अस्थायी टहरा र झोलुङ्गे पुल निर्माणलाई प्राथमिकता दिइएको गाउँ संरक्षण तथा पर्यटन प्रवद्र्धन समिति नारच्याङका अध्यक्ष तेज गुरुङले बताए ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को १० लाख रुपैयाँ अनुदानमा गत वर्ष स्थानीय बासिन्दाले श्रमदान गरेर नीलगिरि खोलामा ३७ मिटर लामो झोलुङ्गे पुल हालेका थिए ।
-सन्तोष गौतम