कारोबार संवाददाता
बुधवार, असार ३१, २०७७
540

सुर्खेतका व्यवसायीहरु बैंकिङ कारोबार बहिस्कार गर्दै आन्दोलनमा उत्रिएका छन् । कोरोना महामारीको विषम परिस्थितिमा पनि बैंकहरुले ब्याज बुझाउन ताकेता गरेको भन्दै व्यवसायीहरु आन्दोलित भएका हुन् । विरोध स्वरुप व्यवसायीहरुले आइतबार वीरेन्द्रनगरमा पसलहरु बन्द गरेका छन् ।
पसलहरु बन्द गरेर आन्दोलनमा उत्रिएका व्यवसायीहरुले सुर्खेतस्थित बैंकहरुमा बैंकिङ कारोबार बहिस्कार गरिएको व्यानर टाँसेका छन् । संयुक्त संघर्ष समिति नै गठन गरेर आन्दोलनमा उत्रिएका व्यवसायीहरुले कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई भेटेर २७ बुँदे मागपत्र र सांकेतिक साँचो समेत बुझाएका छन् ।

मुख्यमन्त्री शाहीले माग सम्बोन्धनका लागि संघीय सरकारसँग पहल गर्ने बताए । लकडाउन खुलेको एक हप्तामा बैंकहरुको ब्याज तिर्न नसक्ने भएकाले आन्दोलनमा उत्रिन बाध्य भएको सुर्खेत उद्योग बाणिज्य संघका महासचिव लक्ष्मण कंडेलले बताए ।
सरकारले व्यवसायीहरुलाई राहत उपलब्ध गराउनुको सट्टा कर तथा ब्याज उठाउन लकडाउन खोलेको आरोप व्यवसायीहरुको छ । सरकारले राहत उपलब्ध नगराए चरणवद्ध आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गर्ने व्यवसायीहरुले चेतावनी दिएका छन् ।
सुर्खेत उद्योग वाणिज्य संघले नै आन्दोलनको अगुवाई गरिरहेको छ । संघले शनिबार एक विज्ञप्ति निकालेर आइतबार व्यवसाय बन्द गर्न आह्वान गरेको थियो ।