कारोबार संवाददाता
बुधवार, असार ३१, २०७७
390

महासंघमा चुनाव

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न साधारण सभाका लागि वरिष्ठ उपाध्यक्ष पदका प्रत्यासी उद्योगपति चन्द्रप्रसाद ढकाल समूहका तीन उपाध्यक्षको उम्मेदवारी घोषणा भएको छ । ढकाल समूहबाट जिल्लानगर उपाध्यक्षमा गुणनिधि तिवारी, वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ र एशोसिएट उपाध्यक्षमा रामचन्द्र सांघाईले उम्मेदवारी दिने भएका छन् । तिवारी हाल महासंघको प्रदेश ५ उद्योग वाणिज्य संघका अध्यक्ष हुन् भने श्रेष्ठ हालको कार्यसमितिमा पनि वस्तुगत उपाध्यक्ष रहेका छन् । यस्तै, सांघाई डेढ दशकदेखि महासंघ कार्यसमितिमा रहेका छन् ।
वरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकाल कार्यसमितिमा एशोसिएटतर्फका उपाध्यक्ष हुन् । उनी यसअघि निर्विरोध उपाध्यक्ष चयन भएका थिए । मंगलबार राजधानीमा आयोजित उम्मेदवारी घोषणा कार्यक्रममा ढकालले वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाको पक्षधरताप्रति आलोचना गरेका छन् । गोल्छाले अर्को पक्ष (किशोर प्रधान) समूहमा खुलेर प्रचार गरेको भन्दै ढकालले आलोचना गरेका हुन् । गोल्छाले आफ्नो गुन बिर्सिएको ढकालले आरोप थियो । “स्वाभाविक रुपमा नेपाल उद्योग वाणिज्य महासंघको आगामी तीनवर्षे कार्यकालका लागि अध्यक्षका रुपमा शेखर गोल्छाले हाम्रो टीमको नेतृत्व गर्नुहुनेछ” उनले भने, “शेखरजीलाई एउटा प्रश्न के सोध्न चाहन्छु भने हामीले वरिष्ठ उपाध्यक्षलाई स्वतःअध्यक्ष बनाउने प्रस्ताव किन पारित गरेका थियौं, त्यसको मर्मलाई अहिले कसले मार्दैछ ?” ढकालले प्रश्न गरे ।

महासंघको साधारणसभा अघि विधान संशोधन गरी वरिष्ठ अध्यक्ष स्वतःअध्यक्ष हुने प्रावधान हटाउने बहस भएको थियो । त्यतिबेला महासंघ भित्र विवाद सिर्जना भएको थियो । ढकालसहितका व्यवसायीको मध्यमार्गी भूमिकाले यो विवादको सहज अवतरण भएको थियो ।
मंगलबारको घोषणा सभामा उपाध्यक्षका उम्मेदवारहरुको घोषणा भएपनि अन्य सदस्यहरुको उम्मेदवारको भने टुंगो लाग्न सकेको छैन । सदस्यका आकांक्षीहरुको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा पूर्वअध्यक्ष चण्डिराज ढकाल, पूर्वउपाध्यक्षहरु कृष्णप्रसाद ताम्राकार र भाष्करराज राजकर्णिकारसहित नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल, उद्योगपति शशीकान्त अग्रवाललगायतका व्यवसायीको उपस्थिति थियो । ढकालले महासंघमा नयाँ नेतृत्वका रुपमा आउने आफूहरुको टीमले कोरोनाबाट सिर्जना भएका चुनौतीलाई मात्रै परास्त गर्ने नभइ आफूहरुले चाहेको, खोजेको आर्थिक रुपमा समुन्नत नेपाल प्राप्त गर्न पनि काम गर्ने दावी गरे ।
“हाम्रो यो टीम अनुभवले भरिएको छ । विश्वासले भरिएको छ । टीममा साना तथा मझौला व्यवसायदेखि ठूलो व्यावसायिक घरानासम्मको उपस्थिति छ । त्यति मात्रै नभएर यो टीमको गाउँ जिल्लादेखि नीतिगत तहसम्म पहूँच छ,” उनले भने ।