कारोबार संवाददाता
आइतवार, असार २१, २०७७
559

सैपाल ग्यास उद्योगबाट बिहीबारदेखि ग्यास बिक्री सुरु भएको छ । उद्योगी शिवप्रसाद घिमिरेले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टबाट यो ग्यास उद्योग किनेपछि सिलिण्डरको बिक्री औपचारिक रूपमा सुरु गरेका हुन् ।
घिमिरेले यो उद्योग १८ करोड रुपैयाँमा किनेका हुन् । सैपाल सुरुवातमा उद्योगमन्त्री भट्टसहित चार जना सञ्चालकले स्थापना गरेका थिए ।

घिमिरेले कैलाली र कञ्चनपुरका ४० वटा डिलरमार्फत ग्यास बजारमा पठाइएको जानकारी दिए । कैलालीको गोदावरी नगरपालिका –१ मा उद्योग रहेको सैपाल ग्यासले प्रत्येक दिन १० हजार सिलिण्डर उत्पादन गर्न सक्ने सञ्चालक घिमिरेले जानकारी दिए । उनले सैपाल ग्यासको उत्पादन सुदूरपश्चिमसँगै कर्णाली र प्रदेश नम्बर ५ का बजारमा पनि पठाइने बताए ।
घिमिरेका अनुसार उत्पादित ग्यास सिलिण्डर सुदूरपश्चिम प्रदेशका नौ वटै तथा कर्णाली प्रदेशका १० वटै जिल्ला र प्रदेश ५ का दुई जिल्ला बाँके र बर्दियासम्म बजारीकरण गरिने छ ।

यो ग्यास प्रालिमा ५० जनाले प्रत्यक्षरूपमा रोजगारी पाएका छन्। सैपाल ग्यास खरिदपछि एभरेष्ट ग्यास ग्रुपसँग ग्यास उद्योगको संख्या ७ पुगेको छ । पूर्वमा प्रिमा र कामाख्या, हेटौंडामा सहारा, काठमाडौंमा एभरेष्ट, धादिङमा सुगम र भैरहवा त्रिशूल ग्यास उद्योग छ।
यो ग्यास प्रालिसँगै सुदूरपश्चिममा एलपी ग्यास उद्योगको संख्या दुई पुगेको छ । यसअघि गोदावरी नगरपालिकाको मालाखेतीमा रेडियन्ट ग्यास उद्योग संचालनमा छ ।