मुकेश चौधरी
शुक्रवार, जेठ १६, २०७७
550

धनगढी-कोरोना भाइरस (कोभिड–१९) का कारण सुदूरपश्चिम प्रदेशका होटल तथा पर्यटन व्यवसाय धरासायी बन्दै गएको छ ।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनका कारण होटल व्यवसाय बन्द भएकाले २० अर्ब लगानी भएका होटलहरु धरासायी हुँदै गएका हुन् । दुई महिनादेखिको लकडाउनका कारण सबै भन्दा बढि मार होटल व्यवसायमा परेको होटल व्यवसायी संघ कैलालीले जनाएको छ ।

संघले कैलालीमा मात्रै करिब १० अर्वको लगानी सहित खुलेका साना ठूला गरी २५ सय होटल तथा रेष्टुरेन्टहरु लकडाउन कारण दैनिक दुई करोड ८० लाख रुपैयाँका दरले घाटा व्यहोर्दै आएको जनाएको छ । संघका अध्यक्ष कलमबहादुर बमले महिना दिनसम्म व्यवसाय पूर्ण रुपमा बन्द रहेका कारण जिविकोपार्जन गर्न र कर्मचारी तथा मजदुरको परिश्रमिक दिन, घरभाडा र ऋणको व्याज तथा किस्ता तिर्न नसक्ने गरी व्यवसायीहरु धारासायी बन्दै गएको बताए ।
उनले लकडाउन भएदेखि हालसम्म कैलालीमा होटल व्यवसाय क्षेत्रमा करिव २ अर्वको घाटा भएको जनाए । उनले कैलाली सबै होटलहरुमा गरी १६ हजार व्यक्तिहरुको प्रत्यक्ष रोजगारी गरिरहेको भएपनि लकडाउनका कारण अधिकांश मजदुरहरुले पारिश्रमिक पाउन नसकेको बताए ।
सुदूरपश्चिम प्रदेशमा करिब २० अर्ब लगानीमा ७ हजार भन्दा बढि होटलहरु खुलेको र त्यसमा ४५ हजार जनाले रोजगारी पाएको होटल तथा पर्यटन व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेशको तथ्यांक छ । ति होटलहरुमा दैनिक ७ अर्ब बराबरको कारोबार हुँदै आएकोमा लकडाउनपछि होटलहरु दैनिक रुपमा घाटा व्यहोर्दै आएको महासंघले जनाएको छ ।
होटल व्यवसायी संघ कैलालीका अध्यक्ष बमले अधिकांश होटलहरु ऋण र घर भाडा लिएर सञ्चालन गरिएकाले व्यवसायीहरु समस्यामा पर्न थालेको बताए । उनले अझै केहि समय यस्तै अवस्था रहिरहेमा होटल व्यवसाय नै वन्द भई टाट पल्टिने अवस्था आउने र व्यवसायी नै वेरोजगारी हुने अवस्था बढ्दै जाने निश्चित रहेको बताए ।
यसैबीच, होटल व्यवसायी संघ, कैलालीले प्रधानमन्त्रीलाई जिल्लाका प्रमुख जिल्ला अधिकारी र मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै धरासय बन्दै गएको होटल व्यवसायलाई सञ्चालनका लागि आगामी वर्षको बजेटमार्फत् राहत प्याकेजको माग गरेको छ । ज्ञापन पत्रमा नेपाल सरकारले पर्यटन भ्रमण वर्ष–२०२० घोषणा गरी सके पश्चात हौसियका र उत्साहित भई आफ्नो जायजेथा वैंक तथा वित्तिय संस्थामा धितोवन्धक राखी ऋण लिएर लगानी वढाएका तथा नयाँ व्यवसाय संचालन गरेका व्यवसायीहरुको लगानी वालुवामा पानी भएको उल्लेख गरिएको छ । ‘अव यो माहामारी कहिले नियन्त्रण हुन्छ ? कहिलेबाट बजार खुल्ला भई आर्थिक कारोवार सामान्य अवस्थामा फर्किन्छ भन्ने कुनै निश्चित छैन,’ ज्ञापन पत्रमा भनिएको छ, ‘बजार सामान्य अवस्थामा आएमा पनि होटल व्यवसाय पूर्ववत अवस्थामा फर्कन थप केही महिना लाग्ने निश्चित छ ।’
आफू स्वारोजगार हुदै व्यवसाय गर्दै आइरहेका व्यवसायीहरु र तिनमा निर्भर रहेका कर्मचारी तथा मजदुरको रोजगारी सुरक्षित गर्नका लागि आर्थिक वर्ष २०७७÷०७८ को बजेट मार्फत समग्र पर्यटन उद्योगको विकास र वर्तमान समस्यबाट निकासका लागि संघ सरकारलाई अनुरोध गरेको अध्यक्ष बमले बताए । उनले नीति तथा कार्यक्रम पर्यटन क्षेत्रको विकास तथा विस्तारका लागि प्रदेश सरकार र स्थानीय सरकारलाई पनि ठोस योजना निर्माण गर्न अनुरोध गरिएको बताए ।
संघले होटल तथा पर्यटन व्यवसायमा आवद्ध व्यक्ति परिवार तथा मजदुरहरु पूर्ण रुपमा विस्थापित हुन नदिन व्यवसाय पुनः संचालन गर्न सकिने ठोस योजना तर्जुमा गरी तत्काल लागु गर्न, लकडाउन अवधिभरको घरभाडा, बिजुली, पानी महशुल पूर्ण रुपमा छुट गर्ने र लकडाउन खुल्ला भई व्यवसाय पुर्ववत अवस्थामा नआएसम्म साविक घर भाडामा ५०% छुट गर्ने व्यवस्था मिलाई दिन माग गरेको छ । होटल व्यवसायीहरुले वैंक तथा वित्तिय संस्थाहरुबाट लिएको ऋणको व्याज मिनाहाका साथै पुर्ववत अवस्थामा व्यवसाय संचालन नभएसम्म कम्तिमा २ वर्ष पश्चात मात्र ऋणको किस्ता तिर्ने व्यवस्था मिलाई उक्त समयसम्मको व्याजमा सहुलियत व्याजदर निर्धारण गरिदिन, माहामारीका कारण यस क्षेत्रका व्यवसायीहरुलाई पलायन हुने नपर्ने परिस्थितिका लागि विशेष योजना बनाइदिन, व्यवसाय तथा व्यवसायीहरुको स्थिरताको लागि सहुलियत व्याजदरमा ऋण प्रदान गर्ने व्यवस्था मिलाइदिन, व्यवसायीले संचालन गरेको व्यवसायलाई राज्यले धितो मुल्याङ्कन गरी सहुलियत दरमा ऋण उपलब्ध गराउने व्यवस्था मिलाइदिन पनि संघले माग गरेको छ ।
लकडाउन अवधिबाट संक्रमण कालभरीको राज्यलाई दाखिला गर्नुपर्ने सवै प्रकारका कर छुटको व्यवस्था गरी दिन र मुल्यअभिबृद्धि करमा थप दस्तुर, व्याज, जरिवाना नलाग्ने व्यवस्था गरिदिन र होटल व्यवसायमा काम गर्ने कर्मचारी तथा मजदुरको उचित व्यवस्थापन तथा राहतको व्यवस्था मिलाइदिन पनि संघको माग छ ।