कारोबार संवाददाता
बुधवार, जेठ १४, २०७७
584

आर्थिक वर्ष २०७५-७६ मा मुलुकमा सञ्चालित सार्वजनिक संस्थानमध्ये कुल २६ संस्थानले नाफा कमाएका छन् । सरकारका ४४ वटा संस्थानमध्ये २६ वटा नाफामा, १३ वटा घाटामा छन् भने ५ वटा बन्द भएका छन् ।
अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार दुवै संसदमा सार्वजनिक गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षाअनुसार संस्थानको नाफाबाट सरकाले लिने लाभांश अघिल्लो आवको तुलनामा ४.२८ प्रतिशतले कमी आइ जम्मा ९ खर्ब ४७ करोड ९ लाख रुपैयाँमात्र प्राप्त भएको छ । तर, संस्थानहरूको खुद नाफा १२.३६ प्रतिशतले बढेको छ अर्थात् सार्वजनिक संस्थानबाट सरकारले ४८ अर्ब ७७ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

समीक्षाअनुसार संस्थानहरूको सञ्चिती नाफा ३.८३ प्रतिशत र सञ्चिती नोक्सानी २७.३३ प्रतिशतले कमी आए पनि समग्र सञ्चिती नाफा २८.९३ प्रतिशतले बढेको छ । अर्थमन्त्रीका अनुसार, संस्थानहरूले ४८ अर्ब ७७ करोड ४१ लाख रुपैयाँ नाफा गरेका छन् भने लाभांश भने ९ अर्ब ४७ करोड ९ लाख रुपैयाँ मात्र भुक्तानी गरेका छन् । यस्तै, संस्थानहरूको कुल सञ्चालन आयमा उच्च वृद्धि देखिएको छ । एक वर्षमा यस्तो आय २०.२९ प्रतिशतले बढेर ४ खर्ब ७० अर्ब २६ करोड २५ लाख पुगेको छ। अघिल्लो वर्ष ३ खर्ब ९० अर्ब ९२ करोड ६६ लाख रुपैयाँ थियो ।
नोक्सानीमा रहेकामध्ये नेपाल ओरियन्टल म्याग्नासाइट प्रालि र बुटवल धागो कारखाना हाल सञ्चालनमा छैनन् भने नेपाल रेल्वे कम्पनी निर्माणाधीन छ । संस्थामा रहेका सेयरधनीको नेटवर्थ २१ प्रतिशतले बढेर ६ खर्ब १० अर्ब ५९ करोड ४२ लाख रुपैयाँ पुगेको छ । संस्थानमा सरकारी लगानी २७.३६ प्रतिशतले बढेको छ । कुल लगानी ४ खर्ब ६४ अर्ब ५९ करोड ३१ लाख रुपैयाँ पुगेको छ । सेयर लगानी ३५.६७ प्रतिशतले बढेर ७१ अर्ब ८३ करोड ९९ लाख पुगेको छ । ऋण लगानी १७.२३ प्रतिशतले बढेर ९२ अर्ब ७५ करोड नाघेको छ ।