कारोबार संवाददाता
बिहिवार, जेठ ८, २०७७
402

गोरखा उद्योग वाणिज्य संघले साना व्यावसायीलाई व्याजमा ५० प्रतिशत छुट दिन माग गरेको छ । संघका अध्यक्ष जीवनज्योति श्रेष्ठले मंगलबार प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै निजी क्षेत्रलाई राहतको व्यवस्था गर्न माग गरेका हुन् । जसअन्तरगत बैंक तथा वित्तीय संस्थाबाट ५० लाखसम्म ऋण लिई कारोबार गर्ने साना व्यवसायीलाई व्याजमा ५० प्रतिशतसम्म छुट दिन माग गरिएको छ ।
अन्य कर्जावालालाई व्याजमा ३३ प्रतिशतसम्म छुट दिन संघले माग गरेको छ । लकडाउन खुल्ने वित्तिकै व्यवसायीलाई नगदको अभाव हुने भएकाले ऋणीहरुको निवेदनका आधारमा २० प्रतिशतसम्म सरल प्रक्रियाबाट थप सुरक्षण र धितो विना कर्जा सीमा थप गर्नबारे नीतिगत निर्णय गर्न पनि संघले ध्यानाकर्षण गराएको छ ।

संघले साना व्यावसायीलाई बिना धितो १० लाख रुपैयाँसम्म कर्जा उपलब्ध गराउन, लकडाउन अवधिभरको वयाजलाई सावाँमा परिणत गरी कर्जा नविकरण गर्ने नीतिगत व्यवस्था गर्न, लकडाउन खुलेपछि मात्रै किस्ता बुझाउने व्यवस्था मिलाउन, घर भाडा सम्बन्धमा स्पस्ट नीति सार्वजनिक गर्न पनि माग गरेको छ ।
ज्ञापन पत्रमा होटल तथा पर्यटन क्षेत्रलाई विशेष राहतको व्यवस्था गर्न, यातायात व्यवसायीले लकडाउन खुलेपछि मात्रै बैंकमा किस्ता बुझाउनुपर्ने व्यवस्था मिलाउन पनि माग गरिएको छ ।
कोरोना माहामारीका कारण व्यापार व्यावसाय बन्द भएकाले स्थानीय तहले उनीहरुलाई राहतस्वरुप आगामी वर्ष व्यावसाय कर, घरभाडा कर नलिने नीति ल्याउन र सरकारले लिने करको दर घटाउन पनि संघले आग्रह गरेको छ ।