कारोबार संवाददाता
बिहिवार, जेठ १, २०७७
936

पोखरा-बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जाको किस्ता तथा व्याज एक वर्षका लागि थप गर्न व्यवसायीहरुले माग गरेका छन् । गण्डकी प्रदेशका यातायात, पर्यटन, निर्माण, हेवी इक्विपमेन्टसहितका व्यवसायीहरुले राहत प्याकेज स्वरुप निजी क्षेत्रको व्यवसायलाई बचाउन बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जाको किस्ता तथा व्याज एक वर्ष थप गर्न माग गरेका हुन् ।
कोरोना भाइरस नियन्त्रणका देशमा लकडाउन भएको करिब दुई महिना पुग्न लाग्दा लकडाउन खुल्ने संकेत सरकारले नगरेकाले राहत प्याकेज स्वरुप निजी क्षेत्रको व्यवसायलाई बचाउनु पर्ने अबस्था आएको उनीहरुले बताएका छन् ।
सार्वजनिक यात्रुबाहक, मालवाहक, पर्यटक तथा औद्योगिक प्रतिष्ठानहरुको हाल लकडाउनको समय अबधिको बिमा प्रिमियमलाई छुट गर्ने वा समय अवधी थप गर्न माग गरेका हुन् । त्यसैगरी निजी क्षेत्रको लगानीबाट सञ्चालित यात्रुबाहक तथा मालबाहक सवारी साधनहरुको जाँचपाँस र बाटो इजाजत तथा पत्र तथा सवारी नबिकरण शुल्क समेत सवारी कर र वार्षिक आयकर शुल्क छुट हुनुपर्ने पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले बताए ।
निजी क्षेत्रबाट सञ्चालित उद्योगी व्यवसायीहरु आवद्ध श्रमिकलाई पारिश्रमिक समेत भुक्तानी गर्न नसक्ने अवस्था रहेको भन्दै सामाजिक सुरक्षा कोषमा रहेको रकमबाट भुक्तानी गर्ने व्यवस्था मिलाउन माग गरेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ कास्कीका अध्यक्ष केदार पौडेलले बताए ।
निर्माणधीन आयोजनाहरुको समयसीमा न्यूनतम एक वर्ष थप गरी सम्भाभित जोखिम न्यूनिकरण गर्न गण्डकी प्रदेश सरकारसमक्ष व्यवसायीहरुले माग गरेका छन् ।
हेभी इक्विपमेन्ट सञ्चालन गर्ने व्यवसायीहरुको सञ्चालन गर्ने अबको समय अवधी अनुपयुक्त हुने र आगामी मंसिरपछि मात्र सञ्चालनमा आउन सक्ने भएकाले एक वर्षको व्याज र जरिवाना छुट गर्न माग गरिएको कास्की हेवी इक्विपमेन्ट व्यवसायी संघका अध्यक्ष इश्वर पोख्रेलले माग गरे ।
पोखरा ट्याक्सी व्यवसायी कम्पनीका अध्यक्ष प्रकाशमणि तिवारीले राज्यलाई आवश्यक परेको खण्डमा कम्पनीमा आवद्ध २ हजार ७ सय ट्याक्सी एम्बुलेन्सको रुपमा प्रयोग गर्न तयार रहेको जनाए ।