कारोबार संवाददाता
बुधवार, बैशाख ३१, २०७७
358

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले पछिल्लो समय आर्थिक विकासको आधार लघु, घरेलु तथा साना उद्योगहरुका समस्यालाई गम्भिरतापूर्वक लिएको भन्दै समाधानका लागि पहल गर्ने प्रतिवद्घता व्यक्त गरेका छन् ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ र विभिन्न वस्तुगत संघहरुको संयुक्त प्रतिनिधिमण्डलसँग मन्त्रालयमा आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री भट्टले भने, “वर्तमान अवस्थामा साना उद्योग मर्कामा परेका छन् हामीले पनि महसुस गरेका छांै । यस्ता उद्योगलाई अहिलेको अवस्थामा हामी केही गर्न सक्र्छौं । व्यवसायीका सल्लाह सुझावलाई समेटेर बढीभन्दा बढी के कस्तो सुविधा दिन सकिन्छ छलफल भइरहेको छ ।”

मुलुकमा कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै गरिएको लकडाउनका कारण यस्ता उद्योगहरु मर्कामा परेको भन्दै मन्त्री भट्टले भने, “आउने बजेटमा पनि समावेश गराउन मेरो पहल र प्रयत्न रहनेछ । राहतको प्याकेजमा समावेश गराउनेलगायतका विषयमा हामी छलफल गरिरहेका छौं ।”
लघु, घरेलु तथा साना उद्योगहरुसँग सिँगो राष्ट्रको राष्ट्रिय हित जोडिएको छ । यो क्षेत्रलाई अगाडि बढाउने कुरामा आफू दृढ रहेको बताउँदै उनले समस्याका साथै समाधानका उपाय पनि ल्याउन व्यवसायीलाई आग्रह गरे ।
महासंघका कार्यबाहक अध्यक्ष उमेशप्रसाद सिंहले विदेशबाट आयात हुने वस्तु भन्दा स्वदेशकै उत्पादनहरुको प्रयोगलाई प्रोत्साहन गर्नुपर्नेमा ध्यानाकर्षण गराए । “यसका लागि सरकारी तथा सार्वजनिक संस्थाहरुमा स्वदेशी वस्तुको उपयोगलाई अनिवार्य गरिनु पर्दछ ।” उनले भने, “सरकारले लागू गरेको सार्वजनिक निकायमा स्वदेशी वस्तुको उपभोग सम्बन्धी निर्देशिकाको प्रभावकारी कार्यान्वयन गरिनुका साथै सहजीकरण तथा अनुगमन गर्ने व्यवस्था मिलाउनु पर्छ ।”
मुलुकका लघु, घरेलु तथा साना उद्योगको विकास र प्रवद्र्धन गर्ने उद्देश्यका साथ निजी क्षेत्रको सक्रिय सहभागितामा स्थापित लघु, घरेलु तथा साना उद्योग विकास कोष र महिला उद्यमीहरुलाई सहुलियत दरमा कर्जा उपलब्ध गराउन कम्तिमा ५०–५० करोडको रकम विनियोजन गरिनुपर्नेमा जोड दिए ।
निर्यात व्यापारलाई प्रोत्साहन गर्न सरकारले दिँदै आएको निर्यात सहुलियतलाई वृद्धि गरी कम्तिमा १० प्रतिशत हुनुपर्ने र सो सहुलियत रकम निर्यात गरेको सामानको भुक्तानी बैकिङ च्यानलबाट पाउने वित्तिकै सहज र सरल रुपमा सोही बैंक खातामा जम्मा हुनुपर्ने कार्यबाहक अध्यक्ष सिंहको भनाइ थियो ।
कोरोना भाइरसको त्रासका कारणले श्रम स्वीकृत लिई रोजगारीका लागि विदेश जानबाट बञ्चित भएका, विदेशबाट फर्केका वा देश भित्रैका युवाहरु समेत अहिलेको परिस्थितिमा शहर छोडी गाउँ फर्केको अवस्थालाई सदुपयोग गरी त्यस्ता युवा युवतीलाई निजी क्षेत्रका छाता संस्थामार्फत आवश्यक सीपमूलक तालिम प्रदान गरी स्थानीयस्तरमा पाइने कच्चा पदार्थको उपयोग गरी गाउँमै लघु, घरेलु तथा साना उद्योग मार्फत स्वरोजगार बनाउन स्थानीय सरकार तथा प्रदेश सरकारले पहल गर्नुपर्ने उनले बताए ।
लघु, घरेलु तथा साना उद्योग सञ्चालनमा प्रयोग गरिने नविनतम प्रविधिका मेशिनहरु आयात गर्दा लाग्ने एक प्रतिशत भन्सार करबाहेक अन्य करहरु पूर्णरुपमा छुट दिइनुपर्ने तथा स्थानीय तहहरुले लगाउने दोहोरो तेहोरो कर खारेज गरिनुपर्ने महासंघले बुझाएको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
कोरोना भाइरसका कारणले पीडित लघु, घरेलु तथा साना उद्योगहरुलाई एक वर्षसम्मको व्याजदर छुट दिने र यस्ता उद्योगहरुको पुर्नसंचालनका लागि आवश्यक पर्ने कर्जा ४ प्रतिशत ब्याजमा उपलब्ध गराउने । साथै लघु, घरेलु तथा साना उद्यमीले उद्योगमा प्रयोग गर्ने कच्चा पदार्थ लगायतका सामानहरुमा कर छुटको व्यवस्था गर्नुपर्ने सो पत्रमा उल्लेख छ ।
लघु, घरेलु तथा साना उद्यमीहरुको मेसिनरी लगायत स्थिर पुँजीलाई पनि धितो मानी सहुलियतपूर्ण परियोजना कर्जा दिने व्यवस्था हुनुपर्ने महासंघले ध्यानाकर्षण गराएको छ । मौद्रिक नीतिले हरेक वर्ष उल्लेख गर्ने गरेको लघु घरेलु तथा साना उद्योगी पुर्नकर्जा, महिला उद्यमी पुर्नकर्जा तथा निर्यात पुर्नकर्जाको व्यवस्थालाई बैंक तथा वित्तीय संस्थाहरुले प्रभावकारी रुपमा अवलम्वन नगरेको हुँदा कडाइका साथ लागू गर्दै सहजीकरण तथा अनुगमन गर्ने व्यवस्था मिलाउन महासंघले आग्रह गरेको छ ।