कारोबार संवाददाता
मंगलबार, चैत्र २५, २०७६
677

भरतपुर- उद्योग वाणिज्य संघ चितवनले कोरोना राहत कोष स्थापना गरेको छ । संघका अध्यक्ष राजु श्रेष्ठले पहिलो चरणमा कोषमा ३ लाख रुपैयाँ जम्मा गरिएको बताए । संघले १ लाख ३० हजार, कार्यसमितिबाट १ लाख ७० हजार रुपैयाँ जम्मा गरिएको हो । संघको सोमबार बसेको बैठकले कोषलाई प्रभावकारी बनाउने छलफल गरेको छ ।
कोषमा रकम जुटाउँदै एकद्वार प्रणालीमार्फत सहयोग गरिने बताए । लकडाउनका कारण समस्यामा परेका दैनिक ज्यालादारी गर्ने मजदुर, विपन्न वर्गलाई सहयोग गरिने बताए । कोषमा रकम वृद्धि गर्नका लागि संघले संघमा आबद्ध सदस्य, वस्तुगत संघ, व्यावसायिक प्रतिष्ठानलाई समेत अपिल गर्ने निर्णय गरेको संघका कार्यसमिति सदस्य एवं स्वास्थ्य समितिका संयोजक सिरिश पन्तले जानकारी दिए । कार्यसमिति सदस्य एवं प्राकृतिक प्रकोप तथा विपद् व्यवस्थापन समितिका संयोजक नारायण प्रधानले सामाजिक उत्तरदायित्वअन्तर्गत कोषले सहयोग गर्ने बताए ।
संघले कोष स्थापना पहिले पनि सहयोग गर्दै आइरहेको थियो । विपन्न वर्गलाई खाद्यान्न वितरण, बजारका मुख्य केन्द्रमा साबुन पानीले हात धुने व्यवस्था, कोरोना अस्पताललाई एन ९५ मास्क वितरण, कोरोना अस्पताल स्थापनाका लागि समेत सहयोग गरिएको संघका वरिष्ठ अधिकृत नीलबहादुर केसीले जानकारी दिए । संघले बजारमा खाद्यान्नको आपूर्ति व्यवस्थापन गर्नका लागि समेत अनुगमन र पहल गर्दै आइरहेको छ ।