कारोबार संवाददाता
बिहिवार, कार्तिक २३, २०७४
431

भारतको बथनाहास्थित मीरगञ्ज पुल सुचारु नहुँदा पूर्वका उद्योगी व्यवसायीहरूलाई दैनिक १८ करोडभन्दा बढी नोक्सानी भएको छ । गत साउन अन्तिम साता आएको बाढीका कारण मीरगञ्ज पुल बिग्रिएको थियो । यसयता यो पुलबाट मालबाहक सवारी साधन आवतजावतमा रोक लगाइएको छ । भारतीय पक्षले २० टनभन्दा बढी वजन भएका मालबाहक सवारीलाई पुलबाट आवतजावतमा रोक लगाएको छ । 
यसले गर्दा यो क्षेत्रका उद्योगी व्यवसायीहरूले ८० किलोमिटर घुमाउरो दूरी प्रयोग गरेर कच्चापदार्थ र अन्य सामान आयात गर्न बाध्य छन् । मीरगञ्ज पुल विराटनगर भन्सार कार्यालयबाट करिब ५ किलोमिटरको दूरी पर्दछ । तर सुनसरीको भान्टाबारी नाकाबाट ८० किलोमिटर घुमाउरो दूरी प्रयोग गर्दा ढुवानी खर्च बढ्नुका साथै उद्योगीलाई हैरानी भएको मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार सारडाले बताए । “सुनसरीको भान्टाबारीमा पनि मालबाहक सवारी चेकजाँच गरिन्छ अनि फेरि रानी भन्सारमा पनि चेकजाँच गरिन्छ,” उनले भने, “यसले उद्योगीलाई दोहोरो दुःख भएको छ ।” भान्टाबारी नाकाबाट आयात गर्दा दोहोरो सवारी चल्दैन । सडक साँघुरो भएका कारण एकतर्फी मात्रै सवारी सञ्चालन हुने गरेको उनी बताउँछन् । 

उनका अनुसार ड्यामरेज, डिटेन्सन, ढुवानीलगायतका कारण यो क्षेत्रका उद्योगीलाई दैनिक १५ देखि १८ करोड रूपैयाँ नोक्सानी भएको छ । “१५ दिनका लागि भनेर आएका कन्टेनर १ महिनासम्म लाग्छ,” उनले थपे, “जसले डिटेन्सन शुल्क धेरै लाग्ने गरेको छ ।” कलकत्ता बन्दरगाहामा सयौं कन्टेनरहरू रोकिएको उनी बताउँछन् । जोगबनी नाकाबाट आयात गर्दा ढुवानी खर्च कम पर्नुका साथै कम झन्झट बेहोर्नुपथ्र्यो उद्योगीहरूले । 
अध्यक्ष सारडाले उत्पादन लागतसमेत ह्वात्तै बढेको बताए । हाल प्रतिकिलो २ रुपैयाँभन्दा बढी लागत बढेको छ । कम लागतमा उत्पादित भारतीय र स्वदेशी वस्तुसँग प्रतिस्पर्धा गर्न निकै गाह्रो भएको उनले दुखेसो पोखे । पुल सुचारु गर्नका लागि मोरङ व्यापार संघ, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १, उद्योग संगठन मोरङलगायतले नेपाल सरकार र भारतीय पक्षको ध्यानाकर्षण गराउँदै आएका छन् । केही दिनअघि विराटनगर आएका काठमाडौंस्थित भारतीय राजदूतावासका डेपुटी चिफ मिसन अजयकुमारको पनि ध्यानाकर्षण गराएका थिए । 
पूर्वका उद्योगीका समस्या समाधान गर्नेतर्फ सरकारले ध्यान नदिएको नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १ का उपाध्यक्ष राजेन्द्र राउतले बताए । कोशीको बाँध भत्किँदा, भूकम्प, तराई–मधेस आन्दोलन, नाकाबन्दीको मार पनि पूर्वकै उद्योगीले बढी झेल्नुपरेको उनको भनाइ छ । “मीरगञ्ज पुल बिग्रिएको ३ महिना बितिसकेको छ,” उपाध्यक्ष राउतले भने, “तर मर्मत गर्नेतर्फ नेपाल सरकार र भारतीय पक्षबाट पर्याप्त पहल भएको देखिएन ।” 
कच्चा पदार्थ समयमै आयात नहुँदा उद्योगहरूले उत्पादनसमेत घटाएको उद्योग संगठन मोरङका अध्यक्ष मुकेश उपाध्यायले बताए । यहाँ अधिकांश उद्योगले भारतसहित तेस्रो मुलुकबाटै कच्चापदार्थ आयात गर्ने गरेका छन् । अझ जुट उद्योगले त ७० प्रतिशत कच्चापदार्थ भारतबाटै आयात गर्ने गरेका छन् । उत्पादित जुटमध्ये ९५ प्रतिशत भारत नै निर्यात हुने गरेको छ । “एउटा गाडी नै १२–१५ टन जति हुन्छ,” नेपाल जुट उद्योग संघका अध्यक्ष राजकुमार गोल्छाले भने, “भारतीय पक्षले तोकेको २० टनभन्दा तल निर्यात गर्ने अवस्थै छैन ।” 
पुलका प्रत्येक दुई खम्बाका बीचमा अर्को बलियो खम्बा हाल्नुपर्ने भारतीय पक्षले बताउँदै आएको छ । त्यसका लागि कम्तीमा ३ महिना लाग्नेछ । “तीन महिना यत्तिकै गयो,” उनले भने, “अब फेरि तीन महिना मर्मतमै लाग्ने हो भने यो क्षेत्रका उद्योगी व्यवसायी टाट पल्टिने अवस्था आउन सक्छ ।” यो क्षेत्रमा चाउचाउ, विस्कुट, जस्तापाता, कर्कटपाता, फलामे डण्डी, साबुन, तेल, पानीट्यांकीलगायतका साना–ठूला गरी ६ सयभन्दा बढी उद्योग सञ्चालनमा छन् ।