कारोबार संवाददाता
बुधवार, चैत्र १९, २०७६
495

साना किसान विकास लघुवित्त वित्तीय संस्थाले सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा १० लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको रोकथाम, नियन्त्रण र उपचारका लागि सरकारले स्थापना गरेको कोषमा आफ्नो तर्फबाट १० लाख रुपैयाँ सहयोग रकम जम्मा गराएको बैंकले जानकारी दिएको छ ।
विश्वभर फैलिएको कोरोना भाइरसविरुद्ध राज्य लडिरहेको अवस्थामा विभिन्न संघ–संस्थाहरूले सरकारलाई सहयोग प्रदान गरिरहेका छन् । कोरोनाका सम्भावित संक्रमितको परीक्षण, उपचार र रोकथामका लागि सरकारले सरकारी, अर्धसरकारी, निजी र आमनागरिकलाई कोषमा सहयोग गर्न अनुरोध गरेको छ । नेपालमा पनि कोरोना संक्रमित भेटिइसकेको अवस्थामा संस्थाले सबैलाई यसको संक्रमणबाट बच्नका लागि सरकारले जारी गरेका निर्देशन र आह्वानहरूलाई राम्रोसँग पालना गरी सुरक्षित रहन पनि अनुरोध गरेको छ ।
कोरोना संक्रमण नेपालमा पनि भित्रिसकेको अवस्थामा आमनागरिकलाई संक्रमणबाट बचाउन, संक्रमणको नियन्त्रण गर्न र संक्रमितको उपचारका लागि आवश्यक पर्ने आर्थिक संकलनका लागि सरकारले कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषको स्थापना गरेको हो ।