सरस्वती ढकाल
शुक्रवार, चैत्र १४, २०७६
568

कोरना भाइरस (कोभिड–१९) संक्रमण नियन्त्रणका लागि भारत सरकारले थप २१ दिनका लागि देशभर लकडाउन गरेसँगै नेपालमा दैनिक उपभोग्य वस्तुको अभाव हुने देखिएपछि सरकार र निजी क्षेत्र वैकल्पिक व्यवस्थापनमा जुटेको छ । भारतमा लकडाउन भएसँगै नेपालमा आपूर्ति व्यवस्थापनमा चुनौती थपिएको महशुस गर्दै सरकार र निजी क्षेत्रले एयर कार्गोमार्फत ढुवानी गर्ने भएका छन् । खासगरी औषधि र मेडिकलजन्य सामग्री तथा अन्य उपभोग्य वस्तुको ढुवानी चार्टर गरेर ल्याउन लागिएको निजी क्षेत्रका संगठनहरूले जानकारी दिएका छन् ।
निजी क्षेत्रका तीनवटै प्रमुख संगठनहरू नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ तथा नेपाल चेम्बर अफ कमर्सले लकडाउनका बेला अत्यावश्यकीय वस्तुको अभाव हुन नदिन आफू मातहतका व्यवसायीलाई परिचालन गरिरहेको जनाएका छन् ।

महासंघ अध्यक्ष भवानी राणा आयात र आन्तरिक उत्पादन दुवैमा जोड दिइएको बताउँछिन् । सुरक्षात्मक उपाय अपनाएर उत्पादन र उपभोक्ताको घरसम्म ढुवानीको व्यवस्थाका लागि सरकार र निजी क्षेत्र मिलेर काम गरिरहेको उनको भनाइ छ । “हामी आपूर्ति व्यवस्था सहज बनाउन सरकारसँंग निरन्तर सम्बाद र छलफलमा छौं,” अध्यक्ष राणा भन्छिन्, “लकडाउन देशैभर भएकाले उपत्यकामा मात्र नभइ सम्बन्धित जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरूलाई पनि हामीले अपिल जारी गरेका छौं र अत्यावश्यकीय सामग्रीका उद्योगहरू खोल्न र अप्ठेरो परिस्थिति आएमा जिल्ला प्रशासशनसँग सहकार्य गर्न भनेका छौं ।” उनले अत्यावश्यकीय सामग्रीको भाउ नबढोस् भन्नेमा निजी क्षेत्र सचेत रहेको र अहिलेको अवस्थामा नाफाभन्दा पनि सामाजिक दायित्ववोध गरिएको बताइन् । महासंघले मेडिकल सामग्री आपूर्तिमा सरकारलाई सहयोग गरिरहेको पनि उनले जानकारी दिइन् ।
परिसंघ अध्यक्ष सतिशकुमार मोरका अनुसार भारतका उत्तर प्रदेश, पश्चिम बंगाल, बिहार लगायतका सीमावर्ती राज्यमा रहेका भन्सार नाका सुचारु गर्ने पहल भइरहे पनि कतिपयमा कामदार अभावको समस्या देखिएको छ । यस्तो बेला अत्यावश्यकीय सामग्री ति नाकाबाट झिकाउनु झन्झटिलो र समय पनि बढी लाग्ने भएकाले एयर कार्गोको विकल्प अघि सारिएको हो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान बन्द रहेकाले हाल एयर कार्गोका लागि अवस्था सहज पनि रहेकाले यो विकल्प उपयुक्त रहेको अध्यक्ष मोर बताउँछन् ।
नेपाल चेम्बर अफ कमर्सले पनि कोरोना संक्रमणको अवस्थाबारे सरकारभन्दा पहिल्यै निजी क्षेत्र सचेत रहेको र सरकारलाई खुला हृदयले सहयोग गरिरहेको जनाएको छ । अहिलेको कठिन अवस्थामा पनि अत्यावश्यकीय सामाग्रीहरू निजी क्षेत्रले आयात गरिरहेको भन्दै चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले दैनिक उपभोग्य वस्तुको सहज व्यवस्थापनमा चेम्बर सबैभन्दा अगाडि रहेको दाबी गरे । कोरोना संक्रमणको त्रास बढेसँगै सामान ढुवानीमा संलग्न कर्मचारी, सवारी चालकहरू काममा नजाने क्रम बढेको र यसले गर्दा मालवाहक सवारी केही कमी भए पनि अत्तिनुपर्ने अवस्था नरहेको उनको भनाइ छ । “दैनिक उपभोग्य सामग्रीमा कमी आउन नदिन आवश्यक परे हवाई चार्टर गर्ने विषयमा समेत छलफल भएको छ, एकदुई दिनमै यस विषयमा टुंगो लाग्छ,” उनले भने ।
यस्तै, चीनमा अवस्था केही सहज भएकाले त्यसतर्फबाट सामान आयात गर्न केरुङ नाका खोल्ने पहलसमेत भइरहेको श्रेष्ठले जानकारी दिए ।