कारोबार संवाददाता
बिहिवार, चैत्र १३, २०७६
317

विराटनगर- नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश उपाध्यक्ष राजेन्द्र राउतले प्रदेश–१ सरकारले स्थापना गरेको कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण तथा रोकथाम कोषलाई ११ लाख रुपैयाँ हस्तान्तरण गर्ने घोषणा गरेका छन् ।
प्रदेश–१ सरकारले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण तथा रोकथाम गर्नका लागि १० करोडको कोष खडा गर्ने निर्णय गरिसकेको छ ।
अहिले राज्यलाई सहयोग गर्नु सबैको दायित्व भएकाले कोषलाई ११ लाख रुपैयाँ हस्तान्तरण गरेको राउतले बताए । त्यस्तै राउतले प्रदेशका ३६ वटा जिल्ला नगर उद्योग वाणिज्य संघलाई मास्क र स्यानिटाइजरसमेत वितरण गरेका छन् । हरेक उद्योग वाणिज्य संघलाई ५ सय मास्क र ५ लिटर स्यानिटाइजर प्रदान गरेको राउतले बताए । उनले पहिलो चरणमा २३ वटा उद्योग वाणिज्य संघलाई मास्क र स्यानिटाइजर वितरण गरेका छन् । “राज्यलाई अहिले आफूले सकेको हरेक नागरिकले सहयोग गर्ने बेला आएको छ,” राउतले भने, “अहिलेको अवस्था घरभित्रै बसेर पनि सहयोग गर्न सकिन्छ ।”