कारोबार संवाददाता
बुधवार, चैत्र १२, २०७६
402

नेपाल उद्योग परिसंघले नोवल कोरोना भाइरस संक्रमण प्रकोप नियन्त्रण गर्ने प्रयासमा सघाउन सक्रियता बढाएको छ । परिसंघ अध्यक्ष सतिशकुमार मोरले मंगलबार स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य विभागका महानिर्देशक नारायण ढकाल र डाक्टर विकास देवकोटालाई नोवल कोरोना भाइरस संक्रमणको उपचारको क्रममा स्वास्थ्यकर्मिले प्रयोग गर्ने ४९ थान निजी सुरक्षा उपकरण हस्तान्तरण गरे । हाल परिसंघसँग उपलब्ध रहेको सामान उपलब्ध गराइएको र निकट भविष्यमै अन्यत्रबाट आयात गर्न लागिएका आवश्यक सामग्रीहरूसमेत उपलब्ध गराउने उनले जानकारी गराए । अध्यक्ष मोरले स्वास्थ्य संकटको यो घडीमा स्वास्थ्यकर्मीको सुरक्षा र हौसला बढाउनु पहिलो कर्तव्य हुने ठानेर परिसंघले सो उपकरणहरू हस्तान्तरण गरेको समेत बताए । यसअघि सरकारले स्वास्थ्य उपकरण जुटाउने कार्य चुनौतीपूर्ण रहेकाले आवश्यक सहयोग गर्न आह्वान गरेको थियो । हस्तान्तरणका अवसरमा परिसंघका उपाध्यक्ष सुलभ अग्रवाल पनि सहभागी थिए ।
यसअघि परिसंघले स्वास्थ्य संकटको यो घडीमा आ–आफ्नो तर्फबाट स्वास्थ्य संस्था एवं स्वास्थ्यकर्मीको हौसला बढाउने कार्यमा आवश्यक सहयोग गर्न समेत सबैसँग विशेष अनुरोध गरेको थियो ।