डा. प्रकाशकुमार श्रेष्ठ
मंगलबार, चैत्र ११, २०७६
392

नेपाल उद्योग परिसंघ र नेपाल बैंकर्स संघबीच विश्व महामारीको रुपमा रहेको कोरोना भाइरसको नेपालमा पर्न सक्ने प्रभाव र यसले उद्योग व्यवसाय र बैंकिङ्ग क्षेत्रमा पर्नसक्ने प्रभावका सम्बन्धमा छलफल भएको छ ।
निजी क्षेत्रले सञ्चालन गरेका उद्योग व्यवसाय र बैंक एक अर्काको पुरकको रुपमा रहेको र निजी क्षेत्र र बैंकले आगमी दिनमा कोरोनाबाट पर्नसक्ने असरका बारेमा समान धारणा बनाउनु पर्ने निष्कर्ष रहेको छ । पर्यटन र हवाई क्षेत्रमा यसको प्रत्यक्ष प्रभाव देखिए पनि समग्र क्षेत्रमा यसको प्रभाव पर्ने र आपूर्ति व्यवस्था मिलाउनका लागि अत्यावश्यक वस्तुहरुको उत्पादन तथा वितरण गर्ने कम्पनीहरुलाई समेत सूचारु राख्नका लागि सरकारले आवश्यक व्यवस्थापन मिलाउनेतर्फ ध्यान दिन अनुरोध गरेको छ ।

ऋण पुनर्संरचना, अग्रिम कर र भ्याट बुझाउनका लागि समयावधी थप गरी उद्योग व्यवसाय बन्द भएको अवस्थामा मजदुरहरुको ज्याला सम्बन्धमा सरकारबाट समेत सहयोगको अपेक्षा गरेको छ । सरकारले घोषणा गरेको लकडाउनको अवस्थामा निजी क्षेत्रबाट प्रवाह गरिने सेवाहरु कसरी प्रभावकारी बनाउने भन्ने विषयमा समेत छलफल भएको थियो । वर्तमान अवस्थामा बैंकिङ्ग क्षेत्रबाट निजी क्षेत्रले गरेका अपेक्षाहरुलाई पूरा गर्न सरकारको सहयोग आवश्यक रहेकोले निजी क्षेत्र र बैंकहरु बीचको आपसी सहकार्यले विशेष अर्थ राख्ने धारणा रहेको छ ।
यसैबीच विश्व महामारीको रुपमा फैलीरहेको कोरोना भाइरसको रोकथाम एवं सोबाट उत्पन्न हुन सक्ने समस्यासँग जुध्न निजी क्षेत्रको तर्फबाट सरकारलाई सहयोग गर्न के–कस्तो कार्यहरु गर्न सकिन्छ भन्ने विषयमा नेपाल उद्योग परिसंघको प्रतिनिधि मण्डलले सरकारको उच्चस्तरीय समितिका संयोजक तथा उप–प्रधानमन्त्री ईश्वर पोख्रेलसँग छलफल गरेको छ ।
सरकालाई निजी क्षेत्रले सघाउन सक्ने क्षेत्रहरु आपूर्ति व्यवस्था नियमित राख्ने, अत्यावश्यक स्वास्थ्य सामग्री जुटाउन सहकार्य गर्ने, रोगथामका लागि आवश्यक पूर्वाधार निर्माणमा सघाउने विषयमा छलफल भएको हो । उपप्रधानमन्त्री एवं संयोजक ईश्वर पोख्रेलले सरकारी तयारीबारे जानकारी गराउँदै अत्यावश्यक स्वास्थ्य सामग्रीको आपूर्तिमा सघाउन र सरकारसँग सघन सम्पर्कमा रहेर विषम परिस्थितिको सामना गर्न सहकार्यको अपरिहार्यता स्पष्ट पारे । यी विषयमा नेपाल उद्योग परिसंघका अध्यक्ष मोरले निजी क्षेत्रमा आपसी समन्वय गरी सरकारलाई चाँडो उपलब्ध सहयोग हस्तान्तरण गर्ने प्रतिवद्धता व्यक्त गरे ।
परिसंघका अध्यक्ष एमिरेट्स विनोद चौधरीले आवश्यक सहकार्य र सहयोग उपलब्ध गराउन तयारी अवस्थामा रहेको जानकारी गराए ।
छलफल कार्यक्रममा परिसंघका पदाधिकारी तथा गभनिङ्ग काउन्सिलका सदस्यहरुको उपस्थिति रहेको थियो ।