मनोरञ्जन शर्मा
सोमवार, चैत्र १०, २०७६
601

 

अन्य होटल पनि धमाधम बन्द हुँदै

रुपन्देही-कोरोना भाइरसका कारण बाह्य, भारतिय र आन्तरिक पर्यटक आगमन शून्य जस्तै भएपछि भैरहवा क्षेत्रको एकमात्र पाँचतारे टाइगर प्यालेस रिसोर्ट बन्द भएको छ ।
यसअघि काठमाडौंका केही पाँचतारे होटलहरू बन्द भइसकेका छन् । पर्यटक आगमन शून्य भएसँगै टाइगर प्यालेस रिसोर्ट बन्द गर्ने निर्णय रिसोर्ट व्यवस्थापनले गरेको रिसोर्टका निमित्त महाप्रबन्धक लक्ष्मण थापाले बताए । रिसोर्ट आइतबारबाट बन्द भए तापनि रिसोर्टमै सञ्चालन रहेको क्यासिनो भने ३ दिन अघिनै बन्द भइसकेको छ । यो क्यासिनो ठूलो क्षेत्रफल भएको एसियाकै क्यासिनो मध्येको एक थियो । क्यासिनोमा ३ सय ६० बढी कर्मचारी थिए । त्यसैगरी रिसोर्टमा २ सय २० कामदार थिए । रिसोट अहिलेको लागी निश्चितकाल भनेर बन्द गरिएको छ । सरकारले जहिले अब सुरक्षित छ बिजनेस सुरु गर्नुस् भनेर घोषणा गर्छ, त्यसपछि बल्ल सञ्चालनमा आउँछ, थापाले भने । रिसोर्टले सबै कर्मचारीलाई मार्च महिनाको तलब दिएर बिदा दिएको छ । त्यसैगरी क्यासिनो व्यवस्थापनले पनि मार्च महिनाको तलब कर्मचारीलाई दिएर बिदा दिएका छन् । अंग्रेजी महिनामा तलब दिने भएकाले अप्रिल आगामी महिनाको के गर्ने अहिलेसम्म निर्णय भएको छैन, रिसोर्टका निमित्त महाप्रबन्धक थापाले भने । २८ महिनाअघि भैरहवा नजिकै चिल्हियामा सिल्भर हेरिटेज गु्रपद्वारा सञ्चालित यो रिसोर्टमा ५ अर्ब बढीको लगानी छ ।

त्यसैगरी भैरहवामा साढे तीन महिनाअघि मात्र सुचारु भएको तीनतारे सुबिधाको मौर्य होटल पनि शनिबारदेखि बन्द भएको छ । पर्यटक आगमन शून्य भएपछि होटलका सबै कर्मचारीलाई काम गरेको दिनसम्मको सबै तलब दिएर बिदा दिइएको होटल सञ्चालक एवं प्रबन्ध निर्देशक रामबहादुर कोइरीले बताए ।
अवस्था सहज भएपछि सरकारले अब व्यवसाय सुरु गर्न खतरा छैन भन्ने घोषणा भएपछि होटल पुनः सञ्चालनमा आउँछ, कर्मचारी पनि अहिले सामान्य बिदामा मात्र हुन, कोइरीले भने । होटलमा ६० बढी कर्मचारी छन् । ५० करोडको लगानी रहेको यो होटल मंसिर तेस्रो साताबाट सञ्चालनमा आएको थियो ।
त्यसैगरी भैरहवाकै अर्को चारतारे होटल निर्भाना लक्जरी इन्टरनेसनल प्रालिले पनि ३१ मार्चसम्मका लागि भनी एक साता अघिनै २७ कर्मचारीलाई बिदा दिइसकेको छ । त्यसैगरी बाकी रहेका ५० कर्मचारीमध्ये २५ जनालाई आइतबारबाट बिदा दिइएको होटलका महाप्रबन्धक सुनिल श्रेष्ठले बताए । कर्मचारीहरूलाई १ महिनाको ५० प्रतिशत तलब दिएर बिदा दिइएको छ । केही कर्मचारीहरू भने राखेका छौं, चार, पाँच रुम (एफआईटी) गइरहेकाले कर्मचारी केही रहन्छन्, महाप्रबन्धक श्रेष्ठले भने । त्यहाँ सञ्चालित क्यासिनो भने ३ साता अघिनै बन्द भइसकेको छ । यो होटलमा ६० कोठा छन् । सरकारको आदेश आए पछि मात्रै पूर्णरूपमा होटल खुल्छ, उनले भने ।
भैरहवाकै अर्को पर्यटकीय स्तरको सिटी म्याक्स होटल पनि अनिश्चितकालका लागी बन्द भएको छ । पहिले स्वास्थ्य सुरक्षा अनि मात्र ब्यबसाय भन्दै होटल बन्द गरिएको प्रबन्ध निर्देशक रवीन्द्र शर्मा घिमिरेले बताए । सिद्धार्थ होटल संघ नेपाल (सान)का महासचिवसमेत रहेका रबिन्द्रले सरकारी निर्णय र सूचना पछि मात्रै व्यवसाय सुचारु हुने भन्दै कर्मचारीलाई शनिबारबाटै बिदा दिइएको बताए ।
द पिक हस्पिटालिटीको ब्यबस्थापनमा रहेको भैरहवाकै बोधी रेडशन होटल भने पर्यटक शून्य भए पनि बन्द नहुने जनाएको छ । व्यवस्थापन सम्हालेका द पिकका उपाध्यक्ष यादवराज पाण्डेले कर्मचारीहरूलाई उनीहरूको पुरानो बाँकी बिदाबाट कट्टा हुने गरी बिदा दिइएको र अन्य कर्मचारीलाई पनि त्यही अनुसार रोटेसन गरिएको पाण्डेले बताए । उता भैरहवाका अन्य २ क्यासिनो पनि बन्द भएका छन् ।
सिद्धार्थ होटल संघ नेपाल(सान)का अध्यक्ष तथा हानका केन्द्रीय सदस्य रहेका चन्द्रप्रकाश श्रेष्ठले पर्यटक नभएपछि शून्यबराबर रहेको होटलहरू बन्द गर्ने या पर्यटक नभए पनि खुला राख्ने आफ्नो विवेक प्रयोग गरी निर्णय गर्न सबै सदस्य होटलमा आग्रह गरिएको बताए ।
लुम्बिनीका होटलहरू पनि सुनसान छन् । त्यहाँका स्टारलेभलका होटलदेखि पर्यटक स्तरसम्मका सबै करिब ६० होटल आन्तरिक र बाह्य पर्यटक नहुँदा बन्दबराबर रहेको लुम्बिनी होटल संघका अध्यक्ष मिथुनमान श्रेष्ठले बताए ।