मुकेश चौधरी
सोमवार, चैत्र १०, २०७६
375

कोरोना असरकोरोना असर

♦ सटडाउन अवधिभरको ब्याज मिनाह गर्न व्यवसायीहरूको माग
♦ अत्यावश्यक सेवा बाहेकका सबै व्यवसाय बन्द गर्न छलफल गर्दै महासंघ


धनगढी-नोभेल कोरोना (कोभिड–१९) को संक्रमणको त्रासमा सुदूरपश्चिमको उद्योग व्यवसाय धराशाही भएका छन् । सुदूरपश्चिममा रहेका ठूला लगानीका होटल, उद्योग व्यवसायहरू धमाधम बन्द हुन थालेका हुन् ।नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशका अनुसार प्रदेशमा रहेका होटल र उद्योगहरू सटडाउन हुन थालेका छन् । महासंघका प्रदेश अध्यक्ष शंकर बोगटीले बजारमा सामान जान छोडेको बताए । उनले प्रायः सबै उद्योगहरूको उत्पादन बन्द भइसकेको बताए ।
सरकारले सेल्फ क्वारेन्टाइनमा बस्न भनेको हुनाले प्रायः उद्योगहरूले मजदुरहरूलाई बिदा दिएर घर पठाइसकेको बताए । उनले ५० प्रतिशत उद्योगहरू बन्द भएको बताए ।खाद्यान्न उत्पादन गर्ने केही उद्योगहरूले बजारको मागअनुसार उत्पादन जारी राखे पनि धेरै उद्योगहरूले उत्पादन बन्द गरिसकेको बताए । उनले निर्माण र पर्यटन उद्योगहरू पूर्णरूपमा बन्द भइसकेको बताए । उत्पादन र बिक्री हुन छाडेपछि उद्योगहरू पूर्णरूपमा घाटामा गइसकेको अध्यक्ष बोगटीले बताए ।
 उनले जिल्ला–जिल्लामा अत्यावश्यक सेवा दिने पसल बाहेकका सबै बजार पनि बन्द गर्ने कि भन्ने विषयमा छलफल भइरहेको बताए । “यस विषयमा आजभोलिमा निर्णय भइसक्छ,” अध्यक्ष बोगटीले भने, “व्यापार नहुने, भीडभाड भइरहने अवस्थामा सतर्कता अपनाउन बजार पनि बन्द गर्ने निर्णय गरिरहेका छौं । कैलाली र कञ्चनपुरका संघले आइतबार नै बजार बन्द गर्ने निर्णय गरेका छन् ।”कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले जिल्लामा रहेका उद्योगहरू धमाधम बन्द भइरहेको बताए । उनले पनि अहिलेसम्म ५० प्रतिशत उद्योगहरू बन्द भइसकेको बताए ।
उद्योगहरूले मजदुरलाई काममै राखेर जोखिम हुने भएकाले मजदुरलाई बिदा दिएर घरमै बस्न आग्रह गरिरहेको बताए । उनले उद्योगहरू बन्द भएपछि व्यवसायीहरूलाई अर्बौंको घाटा भइरहेको बताउँदै सरकारसँग ब्याज मिनाहाका लागि संघले अनुरोध गरिरहेको बताए । उनले अत्यावश्यक खाद्यान्न आपूर्ति व्यवस्थापनका लागि समेत सरकारसँग आफूरुले छलफल थालेको बताए ।धनगढीमा पाँचतारे फ्लोरा होटल सञ्चालन गरेका अध्यक्ष कुँवरले होटलमा एउटा दुइटा रुम बुक भएको बताए ।
उनले अहिले होटलहरू बन्द नै नभए पनि हुने अवस्थामा पुगिसकेको बताए । होटलमा अधिकांश कर्मचारीलाई बिदा दिएर होटलको गेट मात्रै खोलेर व्यवसायीहरू बसिरहेको बताउँदै उनले एक दुई दिनमै बन्द गर्ने सल्लाह भइरहेको बताए ।होटल व्यवसायी संघ कैलालीका अध्यक्ष कलम बमले कैलालीमा करोडौंको लगानी भएका करिब ५० वटा होटलहरूमध्ये सबै होटलमा ग्राहक शून्य अवस्थामा रहेको बताए । उनले होटलको गेट खोलेर आफूहरूले बसेको भए पनि ग्राहक नरहेको बताए । होटलहरूमा ग्राहक नभएपछि होटलहरूले कर्मचारीलाई बिदामा पठाउन थालेको बताए उनले सोमबारदेखि सुदूरपश्चिमका धेरै जस्तो ठूला होटलहरू बन्द हुने बताए । होटलमा ग्राहक नहुँदा दैनिक करोडौंको घाटा भइरेको उनले बताए ।
होटललाई क्वारेन्टाइन बनाउन संघद्वारा प्रदेश सरकारलाई पत्राचारहोटल व्यवसायीहरूले होटल बन्द गर्ने तयारीमा लागेको हुनाले होटल व्यवसायी संघको निर्णयअनुसार आवश्यक परेमा होटललाई क्वारेन्टाइन र आइसोलेसन बनाउन प्रदेश सरकारलाई होटल व्यवसायी संघले पत्र पठाएको छ ।संघका जिल्ला अध्यक्ष बमले होटल बन्द भएपछि व्यवसायीहरूसँग समन्वय गर्न समस्या हुने भएकाले अहिले नै क्वारेन्टाइन र आइसोलेसनका लागि आवश्यक रुम र बेड संख्या माग गरी प्रदेशको सामाजिक विकास मन्त्रालयलाई पत्र पठाएको बताए । उनले सोको बोधार्थ जिल्ला प्रशासन कार्यालय कैलाली र धनगढी उपमहानगरपालिकालाई पनि पठाएको बताए ।होटल व्यवसायी संघ सुदूरपश्चिमले शनिबार विज्ञप्ति जारी गरेर आवश्यक परेमा होटलका कोठाहरू आइसोलेसन र क्वारेन्टाइनका लागि उपलब्ध गराउन सकिने निर्णय भएको जनाएको थियो । अध्यक्ष बमलाई आगामी पाँच दिनभित्र क्वारेन्टाइन र आइसोलेसनका लागि आवश्यक रुम र बेड संख्या एकिन गराइदिन आग्रह गरिएको बताए ।
सीमानाकामा कडाइका साथ चेकजाँच गरी दिन व्यवसायीको मागसीमानाकामा कमजोर चेकजाँचको असर प्रदेशमा पर्ने बताउँदै सुदूरपश्चिमका उद्योग व्यवसायीहरूले सीमानामै कडाइका साथ चेकजाँच गर्न माग गरेका छन् । भारतमा कोरोना फैलिएको कारण सुदूरपश्चिमेलीहरू घर फर्किने दर बढेको र सीमानामा चेकजाँच फितलो भएको बन्दै उनीहरूले चिन्ता व्यक्त गरेका हुन् ।होटल व्यवसायी संघ कैलालीका जिल्ला अध्यक्ष बमले सीमानामा राम्रो चेकजाँच नभएको असर प्रत्यक्ष रूपमा उद्योग व्यवसायमा पर्ने बताउँदै सीमानामै कडा चेकजाँच आवश्यक रहेको बताए । कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष कुँवरले सीमानामा चेकजाँच कडाइका साथ हुन नसकेकाले प्रदेश त्रास बढेको बताए । महासंघका प्रदेश अध्यक्ष बोगटीले सीमानाबाट कोरोना छिर्न नदिने गरी चेकजाँच गर्न आवश्यक रहेको बताए । उनले प्रदेशमा रहेका सबै नाकाहरू शील गर्न आवश्यक रहेको बताए ।
कैलाली र कञ्चनपुर बजार सटडाउनकैलाली र कञ्चनपुर उद्योग वाणिज्य संघले सोमबारदेखि अत्यावश्यक बाहेकका सबै व्यवसाय सटडाउन गर्ने निर्णय गरेका छन् । कैलाली उद्योग वाणिज्य संघले सोमबारदेखि अर्को निर्णय नभएसम्मका लागि अत्यावश्यक सेवा बाहेका बजार बन्द गर्न सूचना जारी गरेको छ भने कञ्चनपुरले चैत २१ गतेसम्म बजार बन्द गर्ने निर्णय गरेको छ । संघका कञ्चनपुर अध्यक्ष जंगबहादुर मल्लले चैत २१ गतेसम्मका लागि उद्योग र बजार बन्द गर्ने निर्णय भएको जनाए ।
उनले खाद्यान्न र मेडिकल सेवा बाहेकका व्यापार व्यवासय बन्द रहने जनाए ।जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले पनि सोमबारदेखि अत्यावश्यक सेवा बाहेक बसै व्यवसाय, यातायात, नाका लकडाउन गर्ने निर्णय गरेको छ । प्रशासनमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले भारतबाट आवागमनका चाप बढेकाले जोखिम हुन सक्ने भन्दै चैत ११ गते बिहान ७ बजेदेखि गड्डाचौकी नाकाबाट पैदलयात्रु समेतको आवागमन बन्द गर्ने निर्णय गरेको छ । साथै सीमावर्ती क्षेत्रमा मदिरा बिक्रीसमेत बन्द गर्ने निर्णय गरिएको छ । कञ्चनपुरका प्रमुख जिल्ला अधिकार नुरहरि खतिवडाले बन्द गर्ने निर्णयहरू अर्को सूचना जारी नभएसम्म लागू हुने बताए ।