सागर परियार
सोमवार, चैत्र १०, २०७६
349

 
जुम्ला, मुगु र डोल्पाका ५४ उद्योग मात्रै सर्वेक्षणको सूचीमा

जुम्ला-विगतका वर्षमा साना ठूला उद्योगको छुट्टाछुट्टै हुँदै आएको औद्योगिक गणना र सर्वेक्षण यस वर्षबाट एकै साथ औद्योगिक सर्वेक्षण कर्णालीमा सुरु भएको छ । १० भन्दा बढी कामदार रहेका उद्योगहरूको लगानी, उत्पादनको अवस्था, आयात निर्यात, स्थायी सम्पत्ति, कर तिरे नतिरेको, वातावरणमा पारेको प्रभाव र रोजगारी सिर्जनालगायत अवस्था बुझ्न सर्वेक्षण गरिँदै छ । 

खानी तथा उत्पादन, औद्योगिक उत्पादन, विद्युत्, ग्यास तथा वातावरण अनुकूलित सेवा र पानीको आपूर्ति तथा ढल निकासा गरी यी चार क्षेत्र जोडिएका साना तथा ठूला उद्योगको सर्वेक्षण भइरहेको छ । औद्योगिक सर्वेक्षणलाई प्रभावकारी बनाउन सरकारले १४ सदस्यीय निर्देशन समिति, १६ सदस्यीय प्राविधिक समिति र राष्ट्रिय औद्योगिक सर्वेक्षण जिल्ला समन्वय समिति ७ सदस्यीय तोकेको छ ।
जिल्लामा प्रमुख जिल्ला अधिकारी सर्वेक्षण समन्वय समितिको अध्यक्ष रहने व्यवस्था रहेको छ । प्रजिअ दुर्गा बञ्जाडेले भनिन, आर्थिक समृद्धिका लागि औद्योगिक सर्वेक्षण आवश्यक छ । निजी क्षेत्र उद्योगहरूले विवरण दिँदा आम्दानी लुकाउने, घाटा मात्रै देखाउने, साचो विवरण नदिने समस्या देखिएकाले यसलाई प्रभावकारी बनाउन अनुसन्धानत्मक सर्वेक्षण गरिने उनको भनाइ छ ।
नेपालमा २०२९ सालबाट सुरु भएको औद्योगिक सर्वेक्षण रहेक ५ वर्षको अन्तरमा हुन्छ । २०२९ देखि ०६९ सम्म गणना गर्दा १० औँपटकसम्म साना तथा ठूला उद्योगको सर्वेक्षण गरिएको थियो । हाल ११ औ पटक भइरहेको सर्वेक्षणमा सरकारले साना ठूला दुवै सँगै गर्ने निर्णयअनुसार कर्णालीमा सर्वेक्षण अघि बढेको तथ्यांक अधिकृत शंकरदत्त भट्टले बताए ।
जिल्ला समन्वय समिति प्रमुख लालबहादुर सार्कीले औद्योगिक सर्वेक्षणमा कर कार्यालयले तथ्यांक कार्यालयसँगै जाँदा करको दायरामा नआउनेलाई नियम गर्न सकिने उल्लेख गरे । तथ्यांकलाई विश्वासिलो र भरपर्दो बनाउन समेत उनको सुझाव छ ।
५४ उद्योगमा सर्वेक्षण
साविक कर्णालीका जुम्ला, डोल्पा र मुगुका करिब ५४ साना ठूला औद्योगिक क्षेत्रमा सर्वेक्षण गरिँदै छ । गएको फागुनबाट दोस्रो साताबाट सुरु भएको सर्वेक्षणमा जुम्लाका ३५, मुगुका १५ र डोल्पाका ४ गरी ५४ उद्योग सर्वेक्षणको सूचीमा परेको तथ्यांक अधिकृत शंकरदत्त भट्टको जानकारी दिए । उनका अनुसार कर्णालीमा रहेका ४२ हजार आर्थिक प्रतिष्ठान मध्य साविक कर्णालीमा करिब ४० प्रतिशत उद्योग छन् ।
तीमध्य पनि १० भन्दाबढी कामदार भएका तिन जिल्लाका ५४ उद्योग सर्वेक्षणको सूचीमा परेका छन् । जसमा डोल्पामा चारवटै उद्योग जलविद्युत्सँग सम्बन्धित छन् । जुम्लामा आरके स्याउ प्रशोधन, कुन्जाङ झोला उद्योग, जडिबुटी उद्योग, खानेपानी उपभोक्ता समिति छन् । स्याम्पलिङ रूपमा ९-१० उद्योगको सर्वेक्षण भइरहेको छ ।
वैशाख अन्तिम साताभित्र सर्वेक्षण सकेर राष्ट्रिय योजना आयोग र केन्द्रीय तथ्यांक विभागमा पठाइ सकिनेछ । सर्वेक्षणले केही ठूला लगानीका उद्योगले देशको अर्थतन्त्र विकासमा उद्योगको योगदान, रोजगारी सिर्जना, तथा वातावरण प्रदूषणमा पारेको प्रभावका साथै, नीति निर्माता, योजना विद् उद्योगपतिहरूलाई तथ्यांक दिनु, विश्षलेण गर्ने दिगो व्यवस्थापनमा राज्यले लगानी गर्ने क्षेत्रका लागि बाटो खुला गर्ने सर्वेक्षणका मुख्य उद्देश्य छ ।
जुम्लामा बुधबार राष्ट्रिय औद्योगिक सर्वेक्षण २०७६ को सचेता गोष्ठीबाट गुणस्तर तथा सत्य तथ्यांक संकलनमा सहयोग गर्न आमउद्योगी व्यापारीहरूलाई आग्रहसमेत गरिएको छ । हाल चलिरहेको सर्वेक्षणको नतिजा आगामी वैशाख अन्तिम साता आउनेछ । जसले कर्णालीमा औद्योगिक क्षेत्रको अवस्था, अवसर र चुनौती, लगानीको अवस्था, राज्यले गर्नुपर्ने लगानीलगायतका बारेमा स्पष्ट हुनेछ ।
आर्थिक गणना र औद्योगिक सर्वेक्षणले बीचको सम्बन्ध फरक रहेको समेत विज्ञले बताएका छन् । आर्थिक गणनामा दर्ता बिनाका उद्योगहरूको पनि तथ्यांक संकलन गरिएको छ । औद्योगिक सर्वेक्षणमा दर्ता भई कर तिरेका राज्यलाई योगदान दिने क्षामता भएकाहरूको मात्रै सर्वेक्षण हुन्छ ।
औद्योगिक सर्वेक्षणमा पनि दर्तादेखि कर चुक्ता प्रमाणपत्र स्पष्ट नभए सरकारलाई कर छली गरेको ठहरिने कर अधिकृत हिमालय बमले बताए । राज्यलाई दिनुपर्ने कर नदिएका ठूला उद्योग पनि धेरै भएकाले सर्वेक्षणलाई सूक्ष्म रूपमा गर्न आग्रह गरे ।