कारोबार संवाददाता
सोमवार, चैत्र १०, २०७६
340

राहतको प्याकेजमा होस्टल व्यवसायीलाई समेट्न आग्रह गरिएको छ । सेवामूलक व्यवसायमध्ये होस्टलसमेत एक महत्वपूर्ण व्यवसाय रहेको कुरा स्मरण गराउँदै नेपाल होस्टल एसोसिएसनले काठमाडौं उपत्यकासहित देशका सबै प्रमुख सहरहरूमा एक हजारभन्दा बढी संख्यामा होस्टलहरू सञ्चालनमा रहेको जनाएको छ ।
यी शहरहरूमा अध्यायन, तालिम तथा प्रशिक्षणलगायतका ज्ञान, सीप आदि हाँसिल गर्न आएका विद्यार्थीलगायतका सेवाग्राहीलाई सुलभ मूल्यमा उत्कृष्ट गाँस र बासको सेवा होस्टलहरूले उपलब्ध गराउँदै आएका होस्टललाई हालको अवस्थाबाट राज्यका सामु देखा पर्न सक्ने सहरी आवाससम्बन्धी ठूलो समस्या हल भइरहेको छ । त्यसैले होस्टल व्यवसायले पु-याएको यो योगदानको राज्यले उचित मूल्यांकन गर्नु आवश्यक रहेको एसोसिएसनले जनाएको छ ।

सेवाग्राहीहरूको स्वास्थ्यलाई केन्द्रमा राख्ने र सरकारले कोरोनाको संक्रमण रोक्न गरेका प्रयासहरूलाई सहयोग गर्ने महत्वपूर्ण जिम्मेवारीलाई बोध गर्दै चैत ९ गतेदेखि सम्पूर्ण होस्टलहरू चैत मसान्तसम्म बन्द गर्न सबै होस्टल व्यवसायीहरूलाई यसअघि नै आह्वान गरिसकिएको छ ।
विज्ञप्ति प्रकाशित गर्दै एसोसिएसनले सरकारलाई राहतको प्याकेजमा होस्टल व्यवसायीलाई समेट्न, घरबेटीलाई बहाल छुटका लागि आह्वान गर्न र घरबेटीहरूलाई आमव्यवसायीले बिगतदेखि देखाउँदै आएको व्यावसायिक इमान्दारितालाई समेत सम्मान गर्दै घर बहाल (भाडा) छुट दिने निर्णय गर्न पनि अनुरोध गरेको छ ।
२५ जनाभन्दा बढी मानिसहरू भेला हुनसमेत बन्देज लगाएको हुँदा होस्टलहरूमा समेत त्यसको संक्रमण नफैलियोस् भन्ने उद्देश्यले नेपाल होस्टल एसोसिएसनले जिम्मेवारी बोध गर्दै होस्टल बन्द गर्ने निर्णय गरेकोमा सो निर्णयलाई स्वीकार गरी आफ्ना होस्टलहरू बन्द गरेका छन् । तर, अन्य व्यवसायको तुलनामा होस्टल व्यवसायले यो अवस्थामा ठूलो आर्थिक क्षतिव्यहोर्नु परेको यथार्थतालाई मनन् गर्दै राज्यले राहतको प्याकेज घोषणा गर्दा होस्टल व्यवसायीहरूलाई समेत प्राथमिकतामा राख्न हामी उसोसिउसनले अनुरोध गरेको छ ।