कारोबार संवाददाता
सोमवार, चैत्र १०, २०७६
311

अत्यधिक क्षमतायुक्त सिमेन्ट उत्पादक बालाजी सिमेन्ट इन्डष्ट्रिज प्रालिको बाहुबली सिमेन्टले प्रत्येक दिन २ हजार टनसम्म सिमेन्ट उत्पादन गरी देशभर रहेको आफ्नो बलियो बिक्री सन्जालमार्फत सिमेन्ट आपूर्ति गर्दै आएको छ । हाल विश्वभर सन्त्रास फैलाएको कोरोना भाइरस–कोभिड १९ संक्रमण हुनबाट जोगिन विश्वभर नाक मुखमास्कले ढाक्ने र हातधुने अभियान नै चलाइएको परिप्रेक्ष्यमा कम्पनीले पनि एभरेस्ट प्यारेन्टरल्स् प्रालिको सहकार्यमा उक्त अभियानलाई सहयोग पु-याउने उद्देश्यका साथ सामाजिक उत्तरदायित्वको अभिभारा बहन गरेको कम्पनीले जनाएको छ ।
कोरोना भाइरस व्यक्तिदेखि व्यक्तिमा सर्ने अधिकतर जोखिमयुक्त भएको अध्ययनहरुले देखाएका छन् । कम्पनीले पनि कोरोना भाइरस फैलिन नदिन आमनागरिकहरुलाई हात धुन स्यानिटाइजर र नाकमुख ढाक्न मास्क वितरण गर्ने कार्य अघि बढाएको छ । उक्त वितरण कार्य काठमाडौं उपत्यकाभित्रका धेरै भीडभाड हुने विभिन्न स्थानहरुमा गरेको छ । “हामी चाहन्छौं देश कोरोनाको त्रासबाट आक्रान्त भइरहेको यस घडीमा यहाँ कानागरिकहरुलाई सीमित संख्यामै भए पनि मास्क र स्यानिटाइजर वितरण गरेर उनीहरुको स्वास्थ्य सुरक्षित बनाउन सकौं । वास्तवमा भन्ने हो भने देशको एक उद्योग भएको नाताले यो हाम्रो सामाजिक दायित्व पनि हो, देशलाई परेको बेलामा साथ दिन हामी कहिल्यैपछि पर्ने छैनौ,” बालाजी सिमेण्ट इन्डस्ट्रिज प्रालिका प्रवन्ध निर्देशक गौरव गाडियाले भने ।