कारोबार संवाददाता
सोमवार, चैत्र १०, २०७६
380

नेपाल निर्माण व्यवसायी महासंघले विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामको लागि नेपाल सरकारलाई आवश्यक सहयोग गर्ने भएको छ । महासंघ स्थायी समितिको बैठकले सरकारलाई सहयोग गर्नेसहित कोरोनाको त्रासका कारण निर्माण क्षेत्रमा उत्पन्न समस्याका बारेमा सरकारको ध्यानाकर्षण गराउने निर्णय समेत गरेको छ ।
बैठकले उपलब्ध स्रोत साधन र जनशक्तिको आधारमा सचेतना एवं सुरक्षा अपनाई सम्बन्धित जिल्ला प्रशासन कार्यालय तथा सम्बन्धित आयोजना प्रमुखहरुसँग समन्वय गरी अति आवश्यक सेवा एवं निर्माण कार्यहरु सुचारु गर्ने गराउने निर्णय गरेको छ । कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि सरकारले गरेका निर्णयहरुका कारण मानवीय दृष्टिले समेत निर्माण मजदुरहरुलाई कार्य क्षेत्रमा खटाउन सक्ने अवस्था नरहेको महासंघले जनाएको छ । यसरी निर्माण कार्यहरु सुचारु नभएको कारण आयोजनाहरु तोकिएको समयमा सम्पन्न हुन नसक्ने देखिएकोले यस सम्बन्धमा बैठकले नेपाल सरकारको ध्यानाकर्षण गराएको महासचिव रोशन दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

अधिकांश क्रसर उद्योग बन्द भएकोले नदीजन्य निर्माण सामाग्री हाल उपलब्ध नभएको र ढुवानी सेवा समेत प्रभावित भएकाले निर्माण कार्य सञ्चालन गर्न कठिन भएकोतर्फ पनि बैठकले सरकारको ध्यानाकर्षण नेपाल गराएको छ ।
निर्माण व्यवसायीहरुबाट निर्माण कार्य सम्पन्न गरी सकिएको र हस्तान्तरण हुन बाँकी रहेको भएपनि सरकारले उक्त स्थान प्रकोप नियन्त्रणका लागि प्रयोग गर्न चाहेमा सम्बन्धित निर्माण व्यवसायीहरु र सरोकारवालाहरुसँग समन्वय गरी ती स्थानहरु उपलब्ध गराउन सहज वातावरण बनाउन सहयोग गर्ने निर्णय बैठकले गरेको छ ।
संकटको यस क्षणमा निर्माण व्यवसायीहरुले बैंकमा तिर्न बुझाउन पर्ने किस्ता एवं ब्याज भुक्तानीमा समस्या पर्ने भएकोले ब्याज मिनाह एवं किस्ता र नेपाल सरकारलाई बुझाउनु पर्ने आय कर, मूल्य अभिवृद्घि कर लगायत रकम बुझाउन पर्याप्त समय प्रदान गर्न बैठकले सरकार समक्ष अनुरोध गर्ने निर्णय गरेको छ ।