मीनकुमार नवोदित
सोमवार, चैत्र १०, २०७६
356

साढे ३ हजार मजदुर कामविहीन

विराटनगर-नेपाल विद्युत् प्राधिकरण विराटनगर वितरण केन्द्रले विराटनगर रानीस्थित ७५ वर्ष पुरानो रघुपति जुट मिलको विद्युत् काटिदिएको छ । विद्युत् काटेपछि उद्योग बन्द भएको छ । उद्योग बन्द भएसँगै साढे ३ हजार मजदुरको रोजीरोटी खोसिएको छ ।
विगतमा डेडिकेटेड फिडर र टंकलाइनबाट लिएको विद्युत्को बक्यौता नतिरेकाले विद्युत् लाइन काट्नुपरेको वितरण केन्द्रले जनाएको छ । तर, उद्योगका सञ्चालक राजकुमार गोल्छाले भने आफ्नोतर्फबाट विद्युत्को महसुस बाँकी नरहेको बताए । “हाम्रोतर्फबाट विद्युत्को महसुस तिर्न बाँकी देखिँदैन,” उनले भने, “उहाँहरूलाई तिर्न बाँकी रहेको प्रमाण ल्याउनुहोस् भन्दा पनि प्रमाण देखाउन सक्नुहुन्न । यो उद्योगी व्यवसायीलाई हतोत्साहित बनाउने काम हो ।”
१५ करोड ५५ लाख ६८ हजार रुपैयाँ विद्युत् महसुलबापत तिर्न बाँकी बक्यौता रहेको प्राधिकरणका सूचना अधिकारी भरत केसीको दाबी छ । रघुपति जुटमिलले बाँकी भुक्तानी नतिर्न विभिन्न समयमा अदालतमा निवेदन दिए पनि अदालतले प्राधिकरणका पक्षमा निर्णय गरेको उनको भनाइ छ । रघुपति जुट मिलले पाटन उच्च अदालत र त्यहाँ कार्यरत मजदुरले उच्च अदालत विराटनगरमा रिट निवेदन दिएका थिए । उच्च अदालत विराटनगरले फागुन ५ गते रिट खारेज गरेपछि प्राधिकरणले बुधबार लाइन काटेको हो । रघुपति जुटमिलको देशभरमा ३० वटा उद्योगको डेडिकेटेड फिडरबाट लिएको विद्युत्को तिर्न बाँकी रकम ११ अर्ब रुपैयाँभन्दा बढी प्राधिकरणले जनाएको छ ।
गोल्छाले लोडसेडिङ, तराई–मधेस बन्द, नाकाबन्दी, भूकम्पजस्तो विभिन्न समस्या पार गर्दै सञ्चालित उद्योगलाई सरकारले प्रोत्साहित गर्नुको सट्टा निरुत्साहित बनाएको गुनासो पोखे । “अब लगानी गर्नेे वातावरण रहेन,” उनले भने, “सरकारले स्वदेशमा मजदुरले काम गरुन् भन्ने चाहेकै छैन । अब साढे ३ हजार मजदुरको कामविहीन भएका छन् ।” साढे ३ हजारले प्रत्यक्ष रोजगारी पाए पनि उनीहरूको आश्रित परिवार जोड्दा १० हजारको रोजीरोटी गुमेको जुट उद्योग संघका अध्यक्षसमेत रहेका गोल्छाको भनाइ छ ।
कोरोनाका कारण उद्योगहरू उत्पादन क्षमतामा ह्रास आइरहेका बेला प्राधिकरणको कार्यले उद्योगीहरू निराश बनेको उनले सुनाए । रघुपतिले दैनिक ५० टन जुटका विभिन्न सामग्री उत्पादन गर्दै आएको थियो । रोजगारमूलक, वातावरणमैत्री, कृषिजन्य उद्योगलाई सरकारले प्रोत्साहित गर्नुपर्नेमा उल्टै कारबाही गरेको गोल्छाले दुखेसो पोखे ।
प्राधिकरणले सुनसरीको दुहबीस्थित रिलायन्स स्पिनिङ मिलको पनि लाइन काटिदिएको छ । रिलायन्सको बक्यौता रहेको डेढ अर्ब रुपैयाँ नतिरेका कारण लाइन काटिएको प्राधिकरणका १ नम्बर प्रदेशका प्रमुख श्रीराम पाण्डेले जानकारी दिए । पाण्डेले भने, “ठूलो रकम बक्यौता रहेको र पटक–पटक ताकेता गर्दा पनि नतिरेपछि लाइन काटिएको हो ।”
दुई दर्जन बढी उद्योग प्रतिष्ठानले डेडिकेटेट र ट्रकलाइनबापत प्रयोग गरेको विजुलीको बिल नतिर्ने भन्दै अदालत गएका थिए । त्यसमध्ये हालसम्म २० वटा उद्योगीको मुद्दामाथि अदालतले फैसला गरेको छ । उद्योगीले भने प्राधिकरणले जबरजस्ती बिल पठाएको बताउँदै आएका छन् । २०७५ सालमा लोडसेडिङ हटेको घोषणा गरेपछि पनि प्राधिकरणले डेडिकेटेट र ट्रकलाइनको बिल पठाएको मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले बताए । त्यो बिल तिर्न नसक्ने उद्योगीहरूले बताउँदै आएका छन् । लोडसेडिङ हटेपछि पठाएको बिलमा उद्योगीहरूले असन्तुष्टि जनाएका छन् ।

मुख्यमन्त्रीलाई उद्योगीको ज्ञापनपत्र
यसैबीच, कोरोनाको प्रभावले उद्योग व्यवसाय क्षेत्र प्रभावित भइरहेको बेला नेपाल विद्युत् प्राधिकरणले लाइन काटेको प्रति मोरङ व्यापार संघले आपत्ति जनाएको छ । व्यावसायीहरुले प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईलाई भेटेर ज्ञापनपत्रसमेत बुझाएका छन् ।
संघका अध्यक्ष प्रकाश मुन्दडाको नेतृत्वमा गएको उद्योगी–व्यवसायीहरूको टोलीले मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो । रघुपति र रिलायन्स उद्योगमा काटिएको विद्युत् पुनः जोड्ने वातावरण मिलाइदिन उनीहरूले मुख्यमन्त्रीसँग आग्रह गरेका थिए ।