दीननाथ बराल
आइतवार, चैत्र ९, २०७६
366

पोखरा-विश्वमा हाल देखिएको कोरोना भाइरसको शंक्रमणको कारण नेपालको विभिन्न व्यवसायसमेत प्रभावित भएको अवस्थामा पोखराको सबैभन्दा ठूलो व्यापारी मल पोखरा ट्रेड मल एन्ड हाउजिङ्ग प्रालिले एक महिनामा सटर भाडामा ५० प्रतिशत छुट दिने भएको छ ।
मलले शनिबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममार्फत देशमा हाल परेको अवस्थालाई आफूहरूले समेत मध्यनजर गरी यही चैत महिनाको सटर भाडामा ५० प्रतिशत छुट दिने निर्णय गरेको मलका अध्यक्ष बिन्दुकुमार थापाले बताए । गण्डकी प्रदेशका सांसदसमेत रहेका अध्यक्ष थापाले सरकारले अत्यावसेक वस्तु तथा सेवा बाहेक अन्यलाई अहिलेको अवस्थामा बन्द गर्नु भनेकाले मलमा रहेका अधिकांश सटरहरू बन्द हुन थालेको उनले जनाए । मलमा रहेको एक जिम हल र दुई वटा फिल्म हलसमेत हाल बन्द भएको बताएका अध्यक्ष थापाले आगामी दिनमा अत्यावश्यक बैंक, खान्द्यवस्तु बाहेक अन्य पसलका सटरहरू बन्द हुने भएको जनाए । हाल केही दिनका लागि भने मध्याह्न १२ः०० बजेदेखि बेलुका ५ः०० बजेसम्म मात्र खुला राख्ने भएको अध्यक्ष थापाले बताए । कोरोना भाइरसको प्रभाव पुनः लम्बिदै गएको अबस्थामा पछि मलले पुनः बिचार गर्ने भएको उनले जनाए ।

मलमा आउने व्यत्तिहरूको सुरक्षाका लागि मलको प्रवेशद्वारहरूमा कोरोना भाइरस (कोभिड–१९) हेल्प डेस्क स्थापना गरेको उनले जनाए । ग्राहकहरूको शरिरको तापक्रम नापेर सही अवस्थाको जानकारी दिने मल भित्र प्रवेश गर्ने ग्राहक, शुभेच्छुक, व्यवसायी र कर्मचारीहरू सवैलाई सेनिटाइजर प्रयोग गर्न लगाई स्वच्छ भई मलभित्र प्रवेश गर्ने वातावरण मिलाइएको अध्यक्ष थापाले जनाए । मलभित्र रहेका रेस्ट रूमहरूमा प्रत्येक घण्टा विशेष सरसफाइ हुने गरेको छ साथै विभिन्न प्राकृतिक रसायनहरूद्वारा मलका बिभिन्न स्थानमा स्प्रे गरी निर्मलीकरणसमेत गर्ने गरिएको उनले जनाए । साथै मलभित्रको सार्वजनिक स्थान, भ-याङ, लिफ्ट, स्कालेटर तथा अन्य भागहरूमा विशेष सरसफाइ गर्न थालिएको मलले जनाएको छ ।
देश भरका उद्योग, व्यवसायहरू सवै खस्किरहेको यस विषम परिस्थितिमा बैंक तथा वित्तीय संस्थाहरूले पनि ब्याजदर कम्तीमा ५० प्रतिशत घटाउने व्यवस्था मिलाईदिनका लागि सम्बन्धित निकायसँग अनुरोधसमेत गरिएको मल सञ्चालक मध्यका एक मीनराज काफ्लेले बताए । विषम परिस्थितिमा सबैले सबैलाई आ–आफ्नो तर्फबाट सकेको सहयोग गर्नका लागि मलले अनुरोधसमेत गरेको छ ।
२०७२ असोज २४ गते औपचारिक रूपमा सञ्चालनमा आएको उक्त मलमा हाल ५ सय ३ वटा सटरहरू रहे पनि २ सय ५२ वटा व्यावसायिक प्रतिष्ठानहरू रहेको सञ्चालक काफ्लेले जनाए । एक महिनामा ५० प्रतिशत सटरमा भाडासहितको प्रालिमा आबद्ध अन्य संस्थाबाट चैतमा मात्र उक्त छुट दिँदा २५ लाखबराबरको आर्थिक भार आफूहरूले व्यवस्थापन गर्नुपर्ने भएको उनले जनाए । मलभित्र प्रवेश गर्ने ग्राहक, शुभेच्छुक, व्यवसायी र कर्मचारीहरू सबैलाई सेनिटाइजर प्रयोग गर्न लगाई स्वच्छ भई मलभित्र प्रवेश गर्ने वातावरण मिलाइएको काफ्लेले बताए ।