कारोबार संवाददाता
बिहिवार, कार्तिक २३, २०७४
566

लगानीको संभावना रहेको नेपालमा पछिल्लो समयमा लगानीको वातावरणहरू पनि बन्दै गएको जापानी राजदूत मासाशी ओगावाले बताएका छन् । नेपाली र जापानीको लगानीमा स्थापना गरिएको बहुराष्ट्रिय कम्पनी कन्साई नेरोलेक पेन्ट्स उद्योगको बुधबार अवलोकन भ्रमणपछि जापानी राजदूत ओगावाले लगानीको संभावनाहरू प्रशस्तै रहेको र पछिल्लो समयमा वातावरण पनि सहज बन्दै गएको बताए ।  
कन्साई नेरोलेक पेन्ट्स जापानको पहिलो लगानी रहेको बताउँदै उनले लगानीबाट आपूmहरूलाई थप ऊर्जा प्राप्त भएको र जापानका अन्य उद्योगी व्यवसायीहरूले पनि नेपालमा लगानी गर्न सक्ने बताए । उनले नेपालमा लगानी गर्न जापानी निजी क्षेत्रहरूलाई पनि सुझावहरू दिइरहेको जानकारी दिए वीरगन्ज पथलैया औद्योगिक करिडोरको परवानीपुरमा रहेको उद्योगको अवलोकन भ्रमणमा आएका जापानी राजदूत ओगावा सहितको १३ जनाको जापानी प्रतिनिधिमण्डलले उद्योगको उत्पादन र त्यहाँको व्यवस्थापनको बारेमा पनि जानकारी लिएका थिए । 

भ्रमणमा सहभागी जापान उद्योग वाणिज्य संघ, सिंगापुरका अध्यक्ष ताकुहिको तोचोइरीले जापानको मुख्य लक्ष्य नेपालमा व्यापार विस्तार गर्ने रहेको र आपूmले नेपाल लगानीको प्रचुर सम्भावना भएको देश देखेकाले उत्पादनमूलक उद्योगमा मात्रै होइन अन्य ट्रेडिङ, बैंकिङ तथा अन्य क्षेत्रमा पनि थप लगानी हुन सक्ने बताए । 
कन्साई नेरोलेक पेन्ट्स उद्योग वीरगन्जका निर्देशक अशोक वैदले उद्योगको अवस्था र वातावरणको बारेमा जानकारी गराएका थिए । उनले व्यावसायिक साझेदारी ग्रहण गर्ने शर्तअनुसार कम्पनीलाई जापानसँग जोड्ने योजना अनुसार राजदूत ओगावाको भ्रमण भएको बताए । केएनपी जापान प्रालि विश्वभर ४० भन्दा बढी देशहरूमा व्यवसाय सञ्चालन गर्दै आएको जापानको सय वर्ष पुरानो हो । यसको नेपालमा ६ वटा शाखा कार्यालय स्थापना गरिएको र वीरगन्जको उद्योगबाट उत्कृष्ट उत्पादनको एकाइ पनि हो । स्थानीय साझेदारीको ३२ प्रतिशत र भारत तथा जापानको ६८ प्रतिशत सेयर लगानी रहने गरी शालिमार पेन्ट्स र कन्साई नेरोलाक पेन्ट्सबीचको संयुक्त उपक्रम केएनपी नेपाल २०१२ अक्टुबरमा नेपालमा स्थापना भएको कम्पनी हो । 
स्थापनकालदेखि नै केएनपी नेपालले रंग रोगनसम्बन्धी सामग्री उत्पादन गर्ने एक उत्कृष्ट उद्योगको रूपमा चिनिन्छ । नेपालमा विश्वप्रसिद्ध प्रविधि र विशिष्ट तथा नविन वातावरणमैत्री उत्पादन गर्ने उद्योगका रूपमा पनि स्थापित भएको छ । केएनपी जापानको प्राविधिक धार नै नेपालको ग्राहकहरूको बदलिँदो आवश्यकतालाई पूर्ति गर्ने मुख्य सवल पक्ष रहेको कम्पनीका निर्देशक वैदको दाबी छ । जापानको उत्कृष्ट रंगरोगन कम्पनीको हिस्सा र ग्रुप कम्पनीको हैसियतले केएनपी नेपाल जापानको नविनतम प्रविधि सम्म पहुँच राखेको छ । यसले रंगरोगनबाट हुन सक्ने स्वास्थ्य, वातावरणीय जोखिम लगायतका कुराहरमा पनि अत्यन्तै संवेदनशील रहदै थप लागत बिना वातावरणमैत्री स्वास्थ्य घरेलु रंगरोगन उत्पादन गर्ने नेपालका पेन्ट्स उद्योगहरू मध्य उत्कृष्ट बनाउन सहयोग गरेको उनको भनाई छ । स्थापनाको छोटो अवधिमा उत्साहजनक व्यावसायिक परिणामसहित केएनपी जापान अझ बढी उन्नत र अत्याधुनिक प्रविधि ल्याउनको साथै विशिष्ट र नविनतम उत्कृष्ट उत्पादनहरू बजारमा ल्याउन दृढ रहेको कम्पनीले जनाएको छ । भ्रमण टोलीमा जापानी राजदूत ओगावा, जापान उद्योग वाणिज्य संघ, सिंगापुरका अध्यक्ष ताकुहिको तोचोइरी, ओकाडा ताकुयालगायत १२ जना थिए । टोलीले वीरगन्जको नोवेल टेक्सटायल, सिर्सियास्थित सुख्खा बन्दरगाह, तथा जापानको प्राविधिक सहयोगमा निर्माण भएको वीरगन्जको मुटुमा रहेको धरोहर घण्टाघरको पनि अवलोकन गरेका छन् ।