कारोबार संवाददाता
सोमवार, फाल्गुन १२, २०७६
275

जनकपुरधाम- परम्परागत पोसिला एवं स्थानीय खाद्य पदार्थको प्रवद्र्धन गर्ने र असल पोषणका लागि खाने बानीमा सुधार ल्याउन जनकपुरमा तीन दिने प्रदेश स्तरीय खाद्य मेला शनिबारदेखि सुरु भएको छ । स्थानीयस्तरमा उत्पादित कृषि उपजको प्रवद्र्धन गरी खाद्यान्नमा देशलाई आत्मनिरभरतर्फ उन्मुख गराउन सहयोग पु-याउने र परम्परागत पोसिला र स्वस्थकर खाना स्थानीय स्तरमा नै उपलब्ध हुन्छ भन्ने जानकारी दिने उद्देश्यले मेलाको आयोजना गरेको हो ।  प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र यादवले मेलाको उद्घाटन गरे । उद्घाटनपछि राज्यमन्त्री यादवले स्थानीय स्तरमा पोषिलो खानेकुराहरू पाइने गरेको भए पनि विलासी जीवनशैलीले बजारमा पाइने आयातित खाद्यवस्तुहरू खानेबानीले नेपालीको औसत आयु कम हुँदै गएको बताए । उनले स्थानीय स्तरमा पाइने परम्परागत खाद्यवस्तुको औद्योगीकरण गर्नुपर्नेमा जोड दिए । तयारी जंक फुड विस्थापित गरी पारम्परिक भोजन शैलीको प्रचार–प्रसार तथा लोपोन्मुख पोसिला खाद्यान्नको उत्पादनलाई बढावा दिने उद्देश्यले खाद्य प्रविधि गुण नियन्त्रण कार्यालय जनकपुरधामले मेला आयोजना गरेको वरिष्ठ खाद्य अधिकृत विजय खनालले बताए । मेलामा प्रदेश २ सँगै कैलाली, मोरङ, मकवानपुर, ललितपुर, सुनसरी सिन्धुलीसहितका जिल्लामा उत्पादन हुने अन्न, तरकारी, गेडागुडीसँगै ती जिल्लामा रहेका खाद्य उद्योगको उत्पादन प्रदर्शन तथा बिक्रीका लागि राखिएको थियो । मेलामा सहभागीको संख्यामा कमि देखिए पनि मेलामार्फत स्थानीय उत्पादनलाई बढावा दिने तथा पारम्परिक भोजन शैलीबारे सकारात्मक सन्देश दिन सफल हुने विश्वास गरिएको छ । खाद्य प्रविधिगुण नियन्त्रण विभागका महानिर्देशक मदिनी जोशी वैद्यको अध्यक्षतामा भएको कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्चका उपाध्यक्ष अजय अधिकारी, नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष केसी लामिछाने जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष ललति साहलगायतले मन्तव्य व्यक्त गर्दै अहिले बजारमा आएका खाद्य वस्तुहरूमा पनि अनुगमनको अभाव रहेको र कालाबजारीले महँगो र अखाद्य वस्तुहरू बिक्री वितरण गरेकोले यसको नियन्त्रणमा राज्यले ध्यान दिनुपर्ने बताए । उपभोक्ता सचेतना बढे पनि राज्यको उदासीनता तथा समाजको निष्क्रियताले कालाबाजारीयाहरूको मनोबल बढ्दै गएको बताए ।
आधुनिक सफा पशुवधशाला मेलाको मुख्य आकर्षण
जनकपुर उपमहानगरपालिकाको तिरुहुतिया गाछीमा तीन दिनसम्म लाग्ने मेलामा अहिलेसम्म नेपालमा नभएको सफा आधुनिक पशुवधशालाको नमुना प्रदर्शनी मुख्य आकर्षण छ । नेपालमै स्थापना नभएको सफा पशुवधशालाको नमुना केन्द्रीय प्रविधि विद्यालय हात्तीसार धरानका विद्यार्थीहरूले निर्माण गरेका हुन् । पशु वधशालामा पशुको निरोगिताको परीक्षण, विभिन्न रोगहरूको पहिचानदेखि उनीहरूलाई बध गर्दा कुनै प्रकारको प्रसव पीडा नहुने गरी वध गरिने विधि र त्यसपछि बजारमा लाने तयारी मासुको बारेमा पनि विस्तृत जानकारी विद्यार्थीहरूले गराएका थिए । विद्यार्थीहरूले परिकल्पना गरेर निर्माण गरेको पशु वधशालाको नेपालमा स्थापना गर्न सके सबै नेपाली नागरिकहरूलाई स्वस्थ मासु उपलब्ध गराउन सकिने दाबी विद्यार्थीहरूको छ ।