कारोबार संवाददाता
बुधवार, फाल्गुन ७, २०७६
481

फुडमान्डु प्रालि, नेपालको सबैभन्दा ठूलो फुड डेलिभरी प्लेटफर्मले नेपालमा आधारित निजी लगानी फन्ड संस्था टिम भेन्चर्सबाट दोस्रो चरणको लगानी हासिल गरेको छ । सन् २०१० मा आईटी व्यवसायी मनोहर अधिकारीले स्थापना गरेको फुडमान्डुको फुड डेलिभरी व्यवसाय सन् २०१५ को भूकम्पपश्चात् पनि सशक्त हुँदै सन् २०१६ मा ट्रू नर्थ एसोसिएसन(टीएनए)बाट सुरुवाती चरणको लगानी प्राप्त गरेको थियो ।
फुडमान्डुले हाल काठमाडौं उपत्यकाभित्र मात्र ५ सयभन्दा बढी रेस्टुराँहरुबाट २ सय जना राइडरको सहयोगबाट फुड डेलिभरी सेवा दिइरहेको छ । यसबाहेक कम्पनीले ताजा तरकारीहरु, पेय पदार्थहरु र केकहरु फामर्स मार्केट्स, थोक बिक्रेताहरु र प्रमुख होटलहरुबाट समेत डेलिभरी गरिरहेको छ । फुडमान्डुका चिफ टेक्नोलोजी अफिसरसमेत रहेका अधिकारीले भने, “हामी संस्थागत लगानीकर्ताहरुले गरेको हामीमाथि गरेको विश्वासले अझ उत्साहित बनाएको छ, हालै सुरक्षित गरिएको फन्ड विशेषगरी भौगोलिक रूपमा बिस्तार गर्न उपयोग गरिनेछ ।”

हालै सम्पन्न भएको अनलाइन फुड फेस्टिभलमा राखिएको अग्मेन्टेड रियालिटी फिचरले हाम्रा ग्राहकहरुबाट अथाह प्रतिक्रियाहरु प्राप्त भएको छ र यसले नेपाली व्यवसायमा नयाँ प्रवृत्तिलाई कायम गरेको छ । यो सम्झौताअन्तरगत, टिम भेन्चर्सले फुडमान्डुमा करिब २० प्रतिशत सेयर ओगट्नेछ जसअन्तर्गत नयाँ सेयरहरु र टिएनएले लिएको केही सेयरहरु खरिद गर्नेछ ।
“हामी फुडमान्डुजस्तो घरेलु स्तरमा बढ्दै गरेको, नयाँ अर्थ व्यवसायमा लगानी गर्न पाउँदा र यसको भविश्यको वृद्धिमा सहभागी हुन पाउँदा हर्षित भएका छौं,” टिम भेन्चर्सका संस्थापक तथा सीईओ तेन्जिन गोन्सारले भने । उनको कम्पनीले विभिन्न रियल स्टेट डेभलपमेन्ट प्रोजेक्टहरु, मर्चेन्ट बैंकिङ कम्पनी, स्टक मार्केटमा लगानी गरेको छ भने आफ्नै ट्रेडिङ कम्पनी पनि सञ्चालन गर्छ । टिम भेन्चर्स संस्थागत भेन्चर फन्डको प्रमुख सेयरहोल्डर हो र यसले कयौं जलविद्युत् परियोजनाहरुको सेयर लिएको छ । त्यसैगरी प्रमुख बिमा कम्पनीहरुले नेतृत्व गरेको अटो सर्भिसिङ सेन्टर चेनको प्रमुख प्रवद्र्धक पनि हो । फुडमान्डु टीएनएद्वारा गरिएको पहिलो लगानी हो, र यो प्रमुख घरेलु पीईभीसी फर्म हो । यसले वित्तीय सेवाहरु उपलब्ध गराउने, कृषि, प्रविधिमा आधारित व्यवसायहरु जसले ती क्षेत्रहरुमा नै परिवर्तन ल्याएका थिए त्यसमा लगानी गरेको छ ।
“आंशिक रूपमा फुडमान्डुबाट बाहिरीनुले नेपालमा वैकल्किप लगानी इकोसिस्टम वृद्धि हुँदैछ भन्ने ससक्त सन्देश दिएको छ । यसले हामी अझै फुडमान्डुप्रति प्रतिबद्ध छौं भन्ने सुनिश्चितसमेत गरेको छ, जेभए तापनि कम्पनीहरुलाई तीव्र रूपमा विकास गर्न कसरी प्राइभेट इक्युइटी इन्भेस्टमेन्टको एप्लिकेसनले अग्रगामी सहयोग गर्छ भन्ने यो एउटा उदाहरण हो,” टीएनएका इन्भेस्टमेन्ट म्यानेजर निधान श्रेष्ठको विश्वास छ । फुडमान्डुको व्यवसाय पछिल्लो ४ वर्षभित्र मात्रै १० गुणाले वृद्धि भएको छ ।