कारोबार संवाददाता
बुधवार, फाल्गुन ७, २०७६
331

नेपालगन्ज- बाँकेमा नौ करोडको लागतमा दूध डेरी उद्योग सञ्चालनमा आएको छ । नेपालगन्ज उपमहानगरपालिका–२२ पुरैनीमा स्थानीय सरोज पाण्डेसहित विभिन्न व्यवसायीले सामूहिक लगानी गरेर एसके दूध डेरी इन्डस्ट्रिज प्रालि सञ्चालन गरेका हुन् ।
साढे पाँच कठ्ठा जग्गामा ९ करोड लगानीमा स्थापना गरिएको डेरी उद्योगले दैनिक १५ हजार लिटर दूध प्रशोधन गरेर बिक्री वितरण गर्ने योजना बनाएको छ । बर्दियाको मैनापोखरस्थित भगवती दुग्ध उत्पादक सहकारी संस्थासँग सहकार्य गरेको डेरी उद्योगले रोयल च्वाइस ब्राण्डको दूधका उत्पादनका साथै उद्योगबाट दूधका अतिरिक्त पनिर, बटर, दही, घिउ, चिज र आइसक्रिम उत्पादन गर्ने सञ्चालक पाण्डेले बताए । “हामी दूधमात्रै नभई दूधका अन्य परिकारसमेत उत्पादन गर्छौं,” उनले भने । आफूहरू दूधबाट बनेका बृहत् वस्तु उत्पादन गर्ने लक्ष्य लिएको बताउँदै सरकारले नीतिगत सहयोग गर्न जरुरी भएको उनको भनाइ छ ।

उद्योगबाट दूधका अतिरिक्त पनिर, बटर, दही, घिउ, चिज र आइसक्रिम लगायत दर्जन बढी उत्पादन हुने र यसले पशुपालन किसानसमेत लाभान्वित हुने विश्वास डेरीका निर्देशक किसन गुरुङले लिएका छन् । उद्योगले गुणस्तरमा उच्चतम ध्यान दिएको बताउँदै उनले उद्योगका लागि आवश्यक कच्चा दूध संकलनमा पनि विशेष ध्यान दिइएको बताए ।
डेरी उद्योगको उद्घाटन गर्दै प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले कृषि उत्पादनलाई उच्च प्राथमिकता दिएको बताए । लगानीको सुरक्षामा प्रदेश सरकारले ध्यान दिने आश्वासन दिए । कार्यक्रममा प्रदेश कृषिमन्त्री आरती पौडेल, प्रदेश सभा सदस्य आईपी खरेल, पूर्वमन्त्री दिनेशचन्द्र यादवलगायत सहभागी थिए ।