कारोबार संवाददाता
शुक्रवार, फाल्गुन २, २०७६
418

विराटनगर- निर्यात प्रबद्र्धन गर्ने उद्देश्यका साथ विराटनगरमा उद्योगी व्यवसायीलाई प्रशिक्षण दिन सुरु गरिएको छ ।
निर्यातजन्य वस्तुको उत्पादनमा उद्योगी व्यवसायीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले प्रदेशस्तरीय प्रशिक्षण सुरू भएको हो । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश–१ को समन्वयमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आयोजना गरेको प्रशिक्षण कार्यक्रमको प्रदेश–१ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियैतले उद्घाटन गरे । उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री कुसियैतले निर्यात आयात प्रतिस्थापन र निर्यात वृद्धिका लागि प्रदेश सरकार निजी क्षेत्रसँग समन्वय गरेर अघि बढ्न तत्पर रहेको धारणा राखे । उनले वैदेशिक व्यापार सहजीरकणका लागि प्रदेश सरकारले बनाउनुपर्ने कानुन तथा नीतिका विषयमा पनि प्रशिक्षणमा छलफल हुनुपर्ने बताए । उनले निजी क्षेत्रको सल्लाह र सुझावअनुसार नै प्रदेश सरकारले उद्योग व्यवसायसम्बन्धी नीति तथा कानुन तयार गर्ने पनि स्पष्ट पारे । “निर्यातजन्य उद्योगको प्रवद्र्धनका लागि प्रदेश सरकारले कस्ता नीति नियम बनाउनुपर्छ त्यसबारेमा पनि उद्योगी व्यवसायीहरूबाट सुझाव आउनुपर्छ,” उनले भने, “प्रदेश सरकार निर्यातजन्य उद्योगको संरक्षण र सम्वद्र्धन गर्न तयार छ ।” उनले मुलुकको व्यापारघाटा दिन प्रतिदिन बढ्दै गएकोमा चिन्ता व्यक्त गरे ।

“आयात घटाउन र निर्यात बढाउन प्रदेश सरकारले ल्याउनुपर्ने आवश्यक नीतिका विषयमा निजी क्षेत्रको सुझाव आवश्यक छ,” मन्त्री कुसियैतले भने । प्रदेश–१ कृषिजन्य वस्तु उत्पादनमा अब्बल भए पनि वस्तु छनोट तथा ब्रान्डिङमा पछि परेका कारण तुलनात्मक लाभका वस्तुहरू उत्पादन गर्ने र निर्यात क्षमता बढाउन आवश्यक रहेको मन्त्री कुसियैतले बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधानले प्रदेश–१ कृषिजन्य वस्तु उत्पादनका दृष्टिले राम्रो सम्भावना बोकेको प्रदेश भएकाले निर्यात प्रबद्र्धनका लागि कृषिजन्य उत्पादनको क्षमता बढाउनु आवश्यक रहेको बताए । उनले कन्ट्याक्ट फार्मिङका माध्ययमबाट ठूलो मात्रामा कृषिजन्य वस्तुको उत्पादन गर्नसके मात्रै निर्यात बढाउन सकिने धारणा राखे । “कुन–कुन वस्तुको विदेशमा माग छ भनेर पहिचान गरेर त्यसैअनुसार उत्पादन गर्र्नुपर्छ,” उपाध्यक्ष प्रधानले भने ।
उद्योग वाणिज्य महासंघ प्रदेश–१ का कार्यबाहक अध्यक्ष लिलम बस्नेतले स्वदेशमै उत्पादित वस्तुले आयात प्रतिस्थापन गर्नु आवश्यक रहेको बताए । आयात प्रतिस्थापन गर्ने र निर्यात प्रबद्र्धन गर्ने उद्देश्यले प्रदेश–१ मा उद्योगी, व्यवसायीको क्षमता अभिवृद्धिका लागि प्रशिक्षण कार्यक्रम आयोजना गरिएको उनले प्रस्ट्याए । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव महेश आचार्यले दुनियाँमा निर्यात गर्न सक्ने देशले मात्रै आर्थिक विकास गर्नसक्ने भएकाले आर्थिक समृद्धिका लागि निर्यात आवश्यक रहेको धारणा राखे ।
दुई दिनसम्म सञ्चालन हुने प्रशिक्षणमा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश–१ अन्तर्गतका उद्योग वाणिज्य संघका अध्यक्ष एवं प्रतिनिधिहरू गरी ४० जनाको सहभागिता रहेको छ । र्काक्रमममा अर्थविज्ञ रवि भट्टराईले नेपालको आर्थिकसहित निकासी र पैठारीको अवस्थाका सम्भावनाका विषयमा प्रशिक्षण दिने प्रदेश महासंघका कार्यकारी निर्देशक राधारमण भण्डारी (श्याम)ले जानकारी दिए ।