कारोबार संवाददाता
बिहिवार, फाल्गुन १, २०७६
502

जापानको राजधानी टोकियोमा आयोजना भएको एसियन फेस्टिभलमा हजारौं जापानीलाई नेपालको पर्यटकीय क्षेत्रबारे जानकारी गराउँदै नेपाल भ्रमण वर्ष– २०२० को प्रचार–प्रसार गरिएको छ ।
नेपालसहित दक्षिण कोरिया, चीन, थाइल्यान्ड, मलेसिया र म्यानमारको सहभागिता रहेको फेस्टिभलमा नेपालले पर्यटन प्रवद्र्धनात्मक स्टल राखेको थियो ।

नेपाल भ्रमण वर्ष–२०२० प्रचार–प्रसारको उद्देश्यसहित राखिएको स्टलबाट सयौं जापानीले नेपालको पर्यटकीय क्षेत्र र नेपाल भ्रमणबारे जानकारी लिएका छन् ।
फेस्टिभलमा नेपालको पर्यटकीय क्षेत्रको प्रचारसहित सांस्कृतिक विविधता र नेपाली कला झल्काउने विभिन्न झाँकी प्रस्तुत गरिएको थियो ।
फेब्रुअरी ९ र १० तारिख शनिबार र आइतबार दुईदिन चलेको फेस्टिभलमा नेवारी लाखेँ नाच, जीवित देवीकुमारीको झाँकी देखाइदा जापानीहरू रमाउँदै नाचगानमा सहभागी भएका थिए ।
मगर समुदायको कौडा नृत्य र प्रख्यात बाँसुरी बाधक खड्ग पुनले नेपाली सांस्कृतिक संगीतमा बाँसुरीको धुन प्रस्तुत गर्दा जापानी नागरिकहरूले उत्सुकता र चासोका साथ प्रस्तुति अवलोकन गरेका थिए ।
गैरआवासिय नेपाली संघ जापानको अग्रसरतामा नेपालले सहभागिता जनाएको फेस्टिभलमा करिब १५ सय जापानीसहित विदेशी आगन्तुकलाई नेपाल भ्रमण वर्षको प्रचार सामग्री वितरण गरिएको थियो । कार्यक्रममा यहाँस्थित नेपाली राजदूतावासले भने कुनै पनि चासो र सहभागिता जनाएको पाइएन ।
एनआरएनए जापानका अध्यक्ष देवीलाल भण्डारीका अनुसार पहिलो पटक जापानी भाषामा तयार पारिएको पर्चा पाएर जापानीहरूले नेपालको बारेमा सहज जानकारी पाउन सकेको भन्दै सकारात्मक प्रतिक्रिया दिएका थिए ।
जापानीहरूले नेपालको पर्यटन क्षेत्र र भ्रमण वर्षबारे उत्सुकतापूर्वक जानकारी लिँदै नेपाल भ्रमणमा जान इच्छुक र हिमालयको देश घुम्न उत्साहित रहेको सो अवसरमा बताएका थिए ।
प्रचार सामग्रीमा नेपाल जाने प्रक्रिया, नेपालको मौसमबारे जानकारी, नेपाल भ्रमण कुन समयमा कुन क्षेत्र उपयुक्त, भिसा प्रक्रिया, शुल्कलगायत अत्यावश्यक जानकारीहरू समेटिएका छन् ।
कार्यक्रममा एनआरएनए पूर्वअध्यक्ष तथा नेपाल भ्रमण वर्ष अन्तर्राष्ट्रिय संयोजक भवन भट्ट, एसिया क्षेत्र पर्यटन संयोजक ओम गुरुङलगायतको उपस्थिति रहेको थियो ।
एनआरएनए जापानका पदाधिकारीहरूको सक्रिय सहभागितामा सम्पन्न दुईदिने फेस्टिभलबाट करिब २ हजार जापानीसहित विदेशी नागरिकले नेपालको पर्यटन क्षेत्रबारे जानकारी लिएको संस्थाका महासचिव जनकविक्रम शाहीले जानकारी दिए ।
नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेसँगै एनआरएनए जापानसहित यहाँका क्षेत्रीय समिति र संघ–संस्थाहरूले यहाँ हुने पर्यटन प्रवद्र्धनात्मक कार्यक्रममा सक्रिय उपस्थिति जनाउँदै नेपाल भ्रमण वर्षको प्रचार–प्रसार गर्दै आएका छन् ।

गोकर्ण अधिकारी