नीरज पिठाकोटे
शनिवार, माघ ११, २०७६
598

वीरगन्जमा बिहीबारदेखि दुईवटा प्रदेश स्तरीय मेला शुरु भएको छ । नगरसभागृहमा प्रदेश स्तरीय दोश्रो संस्करणको सूचना प्रविधि मेला र विपी उद्यानमा पहिलो प्रदेश स्तरीय स्वदेशी जुत्ता चप्पल मेला शुरु भएको हो । सूचना प्रविधि मेलाको गणतन्त्र नेपालका पूर्व राष्ट्रपति डाक्टर रामवरण यादवले उद्घाटन गरे । सूचना प्रविधि मेलाको पूर्व राष्ट्रपति डा.यादवले रिमोटबाटै मैनबत्ति बालेर र रिमोटबाटै रोवर्टको माध्यमले रिवन काटेर उद्घाटन् गरेका हुन् ।
मेला उदघाटन गर्दै पूर्व राष्ट्रपति यादवले सूचना प्रविधिको माध्यमले शिक्षा, स्वास्थ, कृषि, उद्योग र पर्यटनको विकास गर्न सकिने र यसमा नेपालका युवाहरुलाई परिचालन गर्नुपर्ने बताए । उनले सूचना प्रविधिको युगमा नयाँ नयाँ प्रविधिको विकाससँगै देशको आर्थिक समृद्धिका लागि पनि युवाहरुको भूमिका महत्वपूर्ण रहेकोले सबैक्षेत्रमा सूचना प्रविधिको माध्यमबाट नै देशको विकास गर्नुपर्नेमा जोड दिए । नेपालमा सूचना प्रविधि विकास, प्रवर्द्धन र सुधारका लागि विगत एक दशक भन्दा बढी समय देखि काम गर्दै आएको सूचना प्रविधिमा संलग्न व्यवसायीहरुको छाता संगठन क्यान महासंघ पर्साले वीरगंजमा दोश्रो प्रदेश स्तरिय क्यान इन्फोटेक आयोजना गरेको हो । क्यान प्रदेश नं. २ को संयोजन र क्यान महासंघको संरक्षणमा बिहीबारदेखि शुरु भएको मेला १३ गते सम्म रहने छ । क्यान इन्फोटेक २०७६ नाम दिईएको मेलामा सूचना प्रविधिसंग सम्बन्धित विभिन्न ६० वटा स्टल रहेको छ ।

प्रभु पे मुख्य प्रायोजक रहेको क्यान इन्फोटेक २०२० वीरगंजमा विभिन्न छुट समेतको व्यवस्था गरिएको आयोजकले जनाएको छ । क्यान इन्फोटेकमा प्रभु पे एप मार्फत टिकट खरिद गर्दा टिकटको पुरा रकम एप मार्फत फिर्ता पाउने व्यावस्था गरिएको छ । त्यसैगरी सूचना प्रविधि मेलामा मुख्य आकर्षणको रुपमा रोबोर्ट प्रतियोगिता, आईटी म्युजियम, आईसीटी छात्रवृत्ति, छुट दरमा विभिन्न उपकरण लगयात पाईने छ । पाँच दिन सम्म हरेक दिन सूचना प्रविधिसँग सम्बन्धित विभिन्न विषयमा जानकारी मुलक सेमिनार, अभिमुखीकरण, समूहिक छलफल र प्रदर्शनी समेत रहेको छ । त्यसैगरी स्कुल, कलेज र आईटी अध्यनरत विद्यार्थीहरुका लागि पनि छुट्टै छुट्टै सेमिनारको व्यस्था गरिएको क्यान पर्साका अध्यक्ष दीपक साहले जानकारी दिए ।
स्वदेशी उत्पादनको प्रवद्र्धनका लागि जुत्ता चप्पल मेला
बिहीबारदेखि नै वीरगंजमा शुरु भएको प्रदेश स्तरीय पहिलो जुत्ता चपल व्यापार मेलाको वीरगन्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले उदघाटन गरे । मेला उदघाटन गर्दै मेयर सरावगीले स्वदेशमा उत्पादन गरिएको गुणस्तरीय जुत्ता चप्पलको मेलाले स्वदेशी ग्राहकको वृद्धि हुने र छिमेकी देश भारतका ग्राहकहरुको पनि स्वदेशी गुणस्तरीय जुत्ता चप्पल रोजाईमा पर्ने विश्वास व्यक्त गरे । उनले स्वदेशमै उत्पादन गरेका गुणस्तरीय वस्तुको प्रयोग गरेर स्वदेशी उत्पादनको प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए ।
त्यस्तै स्वदेशी कच्चा पदार्थ र स्वदेशमै उत्पादन गरिने यस्ता वस्तुहरुको भ्याटमा छुट पाउने व्यावस्था सरकारले गर्नुपर्ने माग गरे । सबै कुरामा परिनिर्भरता रहेको अवस्थामा स्वदेशी जुत्ता चप्पलहरुले अहिले नेपाली बजारको ६० प्रतिशत माग धानी रहेको र यसलाई अझै बढाएर निर्यात गर्न सक्ने अवस्था सम्म पु-याउन राज्यले ध्यान दिनुपर्ने नेपाली जुत्ता घरका अध्यक्ष होमनाथ उपाध्यायले जानकारी दिए । एकमहिना चल्ने मेलामा नेपाल र भारतका करिब २ लाख ग्राहक तथा उपभोक्ताहरुलाई मेलाको भ्रमण अवलोकन गराई १ लाख जोडी जुत्ताचपल बिक्री गर्ने लक्ष्य राखिएको मेला आयोजक समितिले जनाएको छ । वीरगंज घण्टाघरको उत्तरतर्फ रहेको उद्यानमा लागेको मेलामा ७ वटा विभिन्न स्वदेशी जुत्ता चप्पल कम्पनीका स्टल राखिएका छन् । मेलामा स्वदेशी ७ वटा कम्पनीको विभिन्न ब्रान्डका जुत्ताचप्पल सस्तो शुलभ मूल्यमा बिक्री गरिने र मेला अवधी भर हरेक जुत्ता चपलको जोडीमा १५ देखि ५० प्रतिशत सम्म छुटको अफर पनि रहेको उनले बताए ।
मेलामा शिखर सुज, रन, बिएफ डियर हिल, सुज ल्यान्ड, कोसेली, क्रस रोल, हिल लाइफ गरी कुल ७ स्वदेशी कम्पनीको उत्पादन बिक्रीको लागि राखिएको छ । स्वदेशी उद्योगलाई प्रवद्र्धन गर्न र भिजिट नेपाल शुरु भएको देशमा देशको विभिन्न कुनाकपचाको उपभोक्ताहरुलाई सस्तो दाममा फूटवेयर अर्थात जुत्ता चप्पल बिक्री गरी स्वदेशी उद्योगलाई प्रवद्र्धन तथा संरक्षण गर्न मेलाको उदेश्य रहेको मेला सञ्चलक समितिका रुद्र न्यौपानेले जानकारी गराए ।