लक्ष्मीप्रसाद सापकोटा
बिहिवार, माघ ९, २०७६
456

पर्वत जिल्लाको समग्र विकासका लागि आयोजना गरिएको छैटौं पर्वत महोत्सव आज बिहीबारदेखि सुरु हुँदैछ ।
सदरमुकाम कुश्माबजारको बडागाउँ खेल मैदानमा संचालन हुने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ । महोत्सवको बिहीबार दिउँसो राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उद्घाटन गर्ने कार्यक्रम रहेको बुधबार साँझ आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

आज (बिहीबार)देखि माघ १९ गतेसम्म सञ्चालन हुने महोत्सवमा २ सय वटा स्टल रहेका छन् । जसमध्ये ३० वटा स्टल महिला उद्यमीहरुले उत्पादित सामग्रीहरुका लागि निःशुल्क उपलव्ध गराइएको छ भने अन्यमा होटल, बैंक तथा अन्य व्यावसायिक स्टलहरु रहेका हुन् ।
उद्घाटन पूर्व विहान सदरमुकाम कुश्माबजारमा बृहद ¥याली निकालिने छ । महोत्सव का लागि यतिवेला कुश्माबजार तुल, व्यानर, स्वागत गेट र ध्वजापताकाले सिंगारिएको छ ।
महोत्सवमा झण्डै पाँच करोडको कारोवार गर्ने लक्ष्य लिईएको छ भने दुई लाख भन्दा बढि दर्शकहरु भित्र्याउने लक्ष्य आयोजकको रहेको छ । हालसम्म ५० लाख रुपैया विभिन्न प्रायोजक, सह–प्रायोजक र सहयोगी निकायवाट संकलन भैसकेको महोत्सव मुल आयोजिक समितिका आर्थिक उपसमिति संयोजक गोपि अधिकारीले जानकारी दिए । महोत्सववाट डेढ करोड भन्दा बढि आम्दानी गर्ने आयोजकको लक्ष्य रहेको छ ।
महोत्सवको मुख्य प्रायोजकमा प्रभु बैंक र सह–प्रायोजकमा राष्ट्रिय बाणिज्य बैंक, सनराईज बैंक लगायत रहेका छन् । त्यस्तै पर्वतका सातवटै स्थानीय तह सह–आयोजकका रुपमा रहेका छन् ।
प्रत्येक तीन तीन वर्षमा हुँदै आएको महोत्सव यस पटक भने फरक ठाउँमा गरिएको छ । विगतका वर्षहरुमा बजार क्षेत्रभित्र गरिँदै आएकोमा यसवर्ष कुश्मा नगरपालिका र उद्योग बाणिज्य संघको पहलमा निर्माण सम्पन्न भएको बडागाउँ खेल मैदानमा गरिएको छ । फराकिलो क्षेत्रफल र मुलुककै अग्ला र लामा झोलुङ्गे पुल नजिकै संचालन गरिएकाले विगतमा भन्दा दर्शकहरुको चाप उल्लेख्य रहने मुल संयोजक केदारनाथ शर्माले बताए ।
विशेषगरी नेपाल भ्रमण वर्ष २०२० र गण्डकी प्रदेश सरकारले मनाइरहेको आन्तरिक भ्रमण वर्ष २०१९–२२ लाई यो महोत्सवले ठुलो भूमिका खेल्ने शर्माको विश्वास रहेको छ ।
गण्डकी प्रदेशस्तरीय औधोगिक ब्यापार मेलामा यस वर्ष महिला उद्यमी र कृषकलाई ३० वटा स्टल निःशुल्क उपलब्ध गराइएको छ । गण्डकी प्रदेश भित्रका महिला उद्यमी र कृषकहरुको उत्पादनलाई प्रर्बद्धन गर्नका लागि निःशुल्क स्टल उपलब्ध गराइएको शर्माले बताए । महिला उद्यमी र कृषकलाई १५÷१५ वटाका दरमा स्टल उपलब्ध छन । यसपटक पर्वत उद्योग बाणिज्य संघका सदस्यहरुले स्टल राख्दा समेत २५ प्रतिशत छुट दिइएको छ । महोत्सबमा रहने होटल बाहेकका ब्यबसायिक स्टलमा संघका सदस्यलाई २५ प्रतिशत छुट दिइएको महोत्सबका प्रचार संयोजक तथा उद्योग उपाध्यक्ष ठाकुर बि पौडेलले जानकारी दिए ।
पर्वतमा थुप्रै ऐतिहासिक धार्मिक तथा पर्यटकीयस्थल भएपनि प्रचारप्रसारको अभावमा ओझेलमा पर्दै आएका छन् । आकर्षक गुप्तेश्वर र अलपेश्वर गुफा, हिमश्रृङखला हुर्ने आकर्षक ठाउँ, बञ्जीजम्प, अग्ला र लामा पुलहरु, मोदीबेनी, विश्वकै ठुलो शालिग्राम शिला, महाशिला, हम्पालको लेक कालाञ्जर पर्वत, दुर्लुङकोट, डहरेको लेक, फलामखानी, लगायतका थुप्रै ऐतिहासिक र आकर्षक ठाउँ रहेका छन् ।
महोत्सवमा साधारण व्यक्तिका लागि ७०, विद्यार्थीका लागि ४० रुपैको टिकटको व्यवस्था छ भने ११ दिनसम्मका लागि ५ सय रुपैयाको प्याकेज टिकटको व्यवस्था गरिएको छ । सवै वर्गका अपाङ्ग, ७० वर्ष नाघेका बृद्धबृद्धा, र दृष्टिबिहीनका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । यस बाहेक विभिन्न गण्डकी प्रदेश स्तरीय अन्तर पालिका भलिबल, दौड, रत्यौली, भजन प्रतियोगिता, कलाकारहरुको प्रस्तुती, डिजे तथा लाईभ कन्सर्टहरु पनि महोत्सवका मुख्य आकर्षण रहेका छन् ।