अमरराज आचार्य
आइतवार, माघ ५, २०७६
210

दाङ-सरकारले प्रदेश नं ५ मा ‘प्रदेश एक्स्पो’ गर्ने भएको छ । प्रदेश सरकार स्थापनाको अवसर पारेर प्रदेश सरकारले फागुन १०, ११ र १२ मा प्रदेश सरकारले हालसम्म गरेको काम, विकास, विविधता र संस्कृति झल्कने गरेर दाङको बेलझुन्डीको रंगशालामा प्रदर्शन गर्न लागेको हो । त्यसका लागि प्रदेश सरकारले मुख्यमन्त्री शंकर पोख्रेलको संयोजकत्वमा मूल समारोह समिति समेत गठनको प्रस्ताव गरेको छ भने विभिन्न उपसमितिसमेत गठनको प्रस्ताव गरेको छ ।
प्रस्तावित समिति अब बस्ने मन्त्रिपरिषद्को बैठकले पास गरेर कार्यान्वयनमा जाने छ । “प्रदेश सरकारले २ वर्षमा गरेको कामको जानकारी एक्स्पोमार्फत दिने तयारी गरेको छ,” प्रदेश नं. ५ का आन्तरिक मामिला तथा कानुनमन्त्री तथा प्रस्तावित मूल समारोह समितिका सदस्य कुलप्रसाद केसीले भने, “त्योअनुसार तयारी प्रदेश सरकारले गरेको छ ।” मन्त्री केसीका अुनसार कार्यक्रममा १२ जिल्लाका पहिचान गरेर स्टलसमेत राखिने भएको छ । “१२ जिल्लाका आ आफ्नै विशेषता छ ।

त्यो यहाँ राखिने भएको छ,” उनले भने, “त्यसका लागि सबै जिल्ला र पालिकाहरूलाई समेत पत्रचार गरिने भएको छ ।” सरकारी र निजी क्षेत्रबाट स्टल राखिने मन्त्री केसीले बताए । एक्स्पोमा १२ जिल्लाका १ सय ९ स्थानीयले आफूले गरेको नमुना कामसमेत प्रस्तुत गर्ने अवसरसमेत प्रदेश सरकारले दिनेछ । राम्रो काम शो गर्नको लागि समेत हामीले सयम प्रदान गर्ने छौं । “त्यो अन्य पालिकाको लागि सिक्ने अवसर समेत हो,” मन्त्री केसीले भने ।
त्यसै गरेर निजी क्षेत्रसँग पनि समन्वय गरेर निजी स्टल समेत राखिने भएको छ । “उवासंघहरूसँग समन्वय गरेर निजी क्षेत्रका स्टल राखिने छन्,” मन्त्री केसीले भने, “त्यसका लागि उवासंघहरूसँग छलफलको तयारी भएको छ ।” यसैबीच मन्त्री केसी र प्रतिनिधिसभा सदस्य सुजिता शाक्यले कार्यक्रमको तयारीका बारेमा सरोकारवालासँग बेलझुन्डीमा छलफल गरेका छन् । छलफल कार्यक्रममा बोल्दै मन्त्री केसीले यो दाङ जिल्लाका लागि ठूलो अवसर प्राप्त भएको भन्दै यसलाई सवै क्षेत्रको सहयोगमा सफल बनाउनुपर्ने बताए । प्रदेश सरकार स्थापना भएको दुइ वर्षको अवधिमा दाङ जिल्लालाई ठूलो अवसर प्राप्त भएको छ ।
मन्त्री केसीले भने, “यो अवसरलाई सबैले मिलेर सफल बनाउनुुको विकल्प छैन ।” उनका अुनसार प्रदेश सरकारका हाल सम्मका गतिविधि र उपलब्धि, प्रदेश नं ५ को विवधता, उत्पादन पहिचान संस्कृित र विकासको स्थितका बारेमा जानकारी दिने काम हुनेछ । मन्त्री केसीका अनुसार यो कार्यक्रमले समृद्ध प्रदेश, खुसी जनताको लक्ष्यमा उत्साह र प्रदेशवासीमा खुसी प्रदान र प्रदेश नं ५ मा नमुना कृषि, नमुना पर्यटन, नमुना स्वास्थ्य, नमुना विकास, नमुना शिक्षा तथा संस्कृित स्थापनामा अभिप्रेरितको लागि मुख्य भूमिका खेल्नेछ । गत २ वर्षको गतिविधि, प्रगति तथा सेवाप्रवाहसम्बन्धी जानकारीमूलक प्रस्तुति तथा स्टल निर्माण प्रदेश ५ का नाचहरू, दोहोरी गीत, सारङी बादन भ्रमण वर्ष–२०२० स्टल निर्माण, स्थानीय प्रविधि र उत्पादनहरूको प्रदर्शन नव प्रवद्र्धन प्रविधिमा आधारित स्टल राखिने भएको छ ।
वन पैदावारहरूको स्टल व्यवस्थापन, योगा, मेडिटेसन, र माइन्ड्फुलनेस कार्यक्रम युवा तथा बालबालिकाका लागि नविन खेलहरू शैक्षिक तथा वैज्ञानिक कार्यक्रमहरू (स्मार्ट पढाइ र सिकाइको प्रोजेक्टहरू) हेल्थ क्याम्प सञ्चालनलगायतका स्टल राखिने भएको छ । त्यसै गरेर सुरक्षा व्यवस्था र गतिविधिहरूको प्रस्तुति, विपद तैयारीको डेमो तथा राहत व्यवस्थापन र वितरण प्रणालिको प्रस्तुति, सूचना सञ्चार क्षेत्र, सूचना तथा सञ्चार प्रविधि प्रतिष्ठान टेलिसेन्टर टिभी, रेडियो, एफएमका कार्यक्रमहरू निर्माण कार्यहरूको जानकारी, टिभी, एफएमहरूसँगको बृहत् गोष्ठी, एक्स्पो कार्यक्रम वृतचित्र कार्यक्रम छ ।
कार्यक्रममा प्रदेश सभा सदस्य, पालिकामा प्रमख तथा प्रतिनिधि, नागरिक समाज र अन्य क्षेत्रको सहभागिता थियो ।