कारोबार संवाददाता
मंगलबार, पुष २९, २०७६
516

ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण लाल महर्जनको नेतृत्वमा २४ सदस्यीय प्रतिनिधि मण्डलद्वारा ६ दिन थाइल्याण्ड भ्रमण गरी फर्कियो । दुई देशबीचको व्यापारिक सम्बन्धलाई थप विस्तार गर्ने अभिप्रायका साथ ललितपुर उद्योग वाणिज्य संघका अध्यक्षको नेतृत्वमा संघका पदाधिकारीहरू, कार्यसमिति सदस्यहरू र सचिवालयका कर्मचारीहरू समेतको टोलीले थाइल्याण्ड भ्रमण गरिएको थियो ।
भ्रमणका दौरान थाइल्यान्डस्थित थार्ई गार्मेन्ट म्यानुफ्याक्चर एसोसियसन, थार्ई जेम्स एन्ड ज्वेलरी ट्रेडर्स एसोसिएसन, थार्ई–नेपाल चेम्बर अफ कमर्स, थार्ई चेम्बर अफ कमर्स र नेपाली दूतावाससँग समेत भेटघाट तथा छलफल गरिएको थियो ।

भेटघाट तथा छलफलका क्रममा बुधबार थार्ई गार्मेन्ट म्यानुफ्याक्चर एसोसिएसनका अध्यक्ष सुत्ताना सिल्पसर्नसँग दुई देशबीचको गार्मेन्ट व्यवसायसम्बन्धी विद्यमान अवस्था र नेपालका कटन कपडाको संभावित प्रवद्र्धनका विषयमा आपसी सहकार्य कसरी गर्न सकिन्छ भन्नेमा केन्द्रित रहेको थियो । साथै सिल्पसर्नबीच नेपालको गार्मेन्ट व्यवसायको विकास एवं प्रवद्र्धनका लागि आउँदो चैत २०७६ सालमा ललितपुर उद्योग वाणिज्य संघले आयोजना गर्ने ललित अन्तर्राष्ट्रिय व्यापार मेलाका बारेमा पनि बृहत् रूपमा छलफल गरियो ।
यस्तै सोही दिन थाई जेम्स एन्ड ज्वेलरी ट्रेडर्स एसोसिएसनका अध्यक्ष सोमचाई फोर्नचिन्दारकसँगको छलफलमा नेपालको जेम्स एन्ड ज्वेलरी व्यवसायको विकास एवं प्रवद्र्धनका लागि आपसी सहकार्यमा नेपालमा भएका खनिज तथा जेम्स पत्थरहरूको प्रशोधन गरी सोसम्बन्धी प्रवद्र्धन एवं व्यापार विस्तार गर्नेबारे गहन छलफल गरियो । जेम्स र पत्थरहरूको गुणस्तर मापनका लागि एक जेम्स ल्याब स्थापना गर्नेसम्बन्धी पनि बृहत् रूपमा छलफल गरिएको थियो । साथै निकट भविष्य नेपालमा हुने नेपलिज जेम्स एन्ड ज्वेलरी एक्स्पोका बारेमा समेत छलफल भएको थियो ।
थाइल्यान्डका लागि नेपाली राजदूत गणेशप्रसाद ढकालसँगको भेटघाट तथा छलफलको क्रममा संघका प्रतिनिधि मण्डलहरूले थाइल्याण्डमा वस्तु निर्यातका लागि भएका समस्याहरूका बारेमा अवगत गराउनुका साथै समस्या समाधानका निमित्त सम्बन्धीत निकायमा पहल गरी दिनुहुन अनुरोध गरिएको थियो भने राजदूत ढकालले नेपालको व्यापार विस्तारका लागि हर सम्भव पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । यसै क्रममा संघका अध्यक्ष महर्जनले नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न ललितपुर उद्योग वाणिज्य संघ र दूतावासको समन्वयमा आवश्यक कार्यहरू गर्न इच्छुक रहेको बताए ।
थाई–नेपाल चेम्बर अफ कमर्शसंगको छलफलमा थाइल्याण्डमा नेपाली वस्तुहरूको बजार विस्तारका लागि सहकार्य गर्नुका साथै ललितपुर उद्योग वाणिज्य संघ र थाई–नेपाल चेम्बर अफ कमर्शसँग सहकार्य र समन्वय गर्नका लागि एक समझदारी पत्रमा समेत हस्ताक्षर गरिएको थियो ।
यस्तै गरी थाई चेम्बर अफ कमर्ससँगको भेटघाट तथा छलफलमा अध्यक्ष महर्जनले नेपाल–थाइल्यान्डबीचको व्यापार विस्तारका लागि सहकार्य गर्न तयार रहनुका साथै नेपालको थाइल्याण्डसँगको व्यापार घाटालाई न्यूनीकरणका लागि सहयोग गर्न आग्रह गरे । यसै अवसरमा ललितपुर उद्योग वाणिज्य संघद्वारा आयोजना गरिने ललित अन्तर्राष्ट्रिय व्यापार मेलामा सहभागीबारे एवं संघ र थाई चेम्बरबीच सहकार्य र समन्वय कार्य गर्न पहल गर्नेबारे समेत छलफल भएको थियो ।