कारोबार संवाददाता
सोमवार, मंसिर १६, २०७६
239

इलाम-नेपालको नै पहिलो ऐतिहासिक उद्योगका रूपमा रहेको इलाम चिया कारखानालाई पहिचानका रूपमा स्थापना गरी संरक्षणका लागि पहल गर्न सरोकारवालाहरूले माग गरेका छन् । चौथो उद्योग दिवस २०७६ का अवसरमा ऐतिहासिक कारखानामा आयोजित कार्यक्रमका वक्ताहरूले यसको महत्वलाई उजागर गरि म्युजियमको रूपमा विकास गर्न सकिने भन्दै संरक्षणका लागि माग गरेका हुन् ।
इलामका तत्कालीन बडाहाकिम कर्णेल गजराजसिंह थापाले नेपालमा नै पहिलो पटक विक्रम संम्बत १९२० सालमा चिया बगान लगाएर उनले नै १९३५ सालमा चिया प्रशोधन कारखानाको सुरुवात गरेको बताइएको छ । पहिलो उद्योगको स्थापनासँगै इलाममा चिया विस्तार भई हाल २१६ वटा चिया उद्योग घरेलु तथा साना उद्योग विकास समितिमा दर्ता भएको पाइएको छ ।

कार्यक्रममा बोल्दै इलामका इतिहासविद् तथा समाजसेवी युद्धप्रसाद वैद्यले यो कारखाना संरक्षण गर्न सके पर्यटन प्रवद्र्धन हुने भन्दै ऐतिहासिक वस्तु जगेर्नामा स्थानीय सरकार लाग्नुपर्नेमा जोड दिए ।
ऐतिहासिक उद्योगलाई संरक्षण गर्न इलाम नगरपालिकाले मातहतमा हस्तान्तरण गर्न माग गरेको छ । नगरले उद्योग स्थापना गर्ने कर्णेल गजराजसिंह थापाको मूर्ति स्थापना पहल थालेको इलाम नगरपाकिाका मेयर महेश बस्नेतले बताए । उनका अनुसार ऐतिहासिक चिया बगानलाई अनुषन्धान केन्द्रका रूपमा विकास गरि उद्योगलाई म्युजियम बनाउन इलाम नगरपालिकाले पहल थालेको छ । कार्यक्रममा बोल्दै एक नम्बर प्रदेशका प्रदेश सांसद रामबहादुर राना, जिल्ला समन्वय समिति इलामका सभापती गणेश बराल, इलाम उद्योग वाणिज्य संघका अध्यक्ष ईश्वर चिपालुलगायतले मन्तब्य राख्दै उद्योग स्थापनासँगै दिगोपनका लागि पनि पूर्वाधारलगायतका विषयमा स्थानिय सरकारले सहयोग गर्नुपर्नेमा जोड दिए ।
इलाम चिया बगानसमेत सरकारी स्वामित्वमा रहेका सात चिया बगान सरकारले ५० वर्षका लागि संघाई ग्रुपलाई लिजमा दिएको छ । लिजमा दिएपछि जिल्लाका ऐतिहासिक उद्योगहरू संरक्षण अभावमा जीर्ण बन्दै गएका छन् ।