कारोबार संवाददाता
शुक्रवार, मंसिर ६, २०७६
381

वीरगन्ज-बाराको सदरमुकाम कलैयामा निर्माण भएको तीनतारे होटल सञ्चालनको तयारीमा छ । नेपाल भ्रमण वर्ष–२०२० को तयारी भइरहँदा र विश्व प्रसिद्ध पञ्चवर्षीय गढीमाई मेला सुरु भएको समयमा नै कलैयाको बरेवामा रहेको कलैयाकै पहिलो तीनतारे होटल, बरेवा दरबार होटल एन्ड बक्वैट सञ्चालनको तयारीमा रहेको हो । पहिलेको बरेवा दरबार रहेको स्थानमा ११ करोडको लागनीमा दरबारकै केही संरचना भत्काएर सुविधासम्पन्न होटल निर्माण भइरहेको छ ।
बरेवा दरबारको १ बिघा १० धुर क्षेत्रफलमा निर्माण भएको बरेवा दरबार होटल एन्ड बंक्वैट ढिलोमा मंसिर १० गते उद्घाटन गर्ने योजना रहेको होटलका सञ्चालक किरण विक्रम शाहले बताए । शाही शासन कालका सुरेन्द्र विक्रम शाहको सन्तान भूपेन्द्र विक्रम शाहको छोरा रामराजा विक्रम शाह हुँदै दिपविक्रम शाहका छोरा किरण विक्रम शाहले होटलमा लगानी गरेका हुन् । कलैयाको बरेवामा १९४० मा करिब दुई बिघा क्षेत्रफलमा बनेको दरबारको संरचनाकै दक्षिणी भागलाई भत्काएर आकर्षक होटलको निर्माण गरिएको छ । होटलमा ३ सय ५० जना अटने हलसहित रेस्टुराँ र अन्य विभिन्न क्षमता चारवटा हल छन् ।

होटलमा स्वीट, डिलक्स स्टयान्डर्ड गरी तीन स्तरका कुल २४ वटा कोठा छन् । होटल परिसरमा प्रदेश २ को सबैभन्दा ठूलो स्वीमिङ पुल निर्माण भएको होटल सञ्चालक किरण विक्रम शाहले बताए । नेपाली सेनाबाट लेफटीनेन्ट कर्णेल (प्रमुख सेनानी) को जागिरबाट गत वर्ष मंसिर १५ गते अवकाश पाएका शाह आफ्नो पुख्र्यौली दरबारमै होटल स्थापना गरेर व्यवसायमा प्रवेश गरेका हुन् । भारतीय पर्यटकहरूलाई लक्षित गरी कलैयामा स्तरीय होटलको स्थापना गरेको उनी बताउँछन् । आफु जन्मिएको हुर्किएको ठाउँलाई विकास गर्न र स्थानीयलाई नै रोजगारी पाओस भनेर पनि आफुले दरबारकै जग्गामा होटल निर्माण गरेको शाहको भनाइ छ । चाइनिज, कन्टिनण्टल र इन्डियन खानाको परिकार पाउने होटलमा अहिले ३० जना दक्ष तथा अर्धदक्ष कामदारहरूले रोजगारी पाएका छन् ।
तीमध्ये १८ जना स्थानीय नै छन् । उनले स्थानीयलाई नै होटल सम्बन्धि विभिन्न किसिमको तालिम समेत दिएर क्षमता अभिवृद्धि गरि त्यहि रोजगारी दिने व्यावस्था पनि गरेको बताए । कलैयादेखि झन्डै ७-८ किलोमिटरको दूरीमा मात्रै रहेको नेपाल भारतको सीमा मटिअर्वादेखि कलैया हुँदै पूर्व–पश्चिम राजमार्गसँग जोडिएको मानमत मटिअर्वा सडक हुदै पर्यटकहरू आवत जावत गर्ने भएकाले पनि होटलले प्रतिफल पाउनेमा उनी आशावादी छन् । बारामा प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमान स्थल, तराई काठमाडौं जोड्ने निजगढ काठमाडौं दू्रतमार्ग पनि नजिकै भएकोले सडक सञ्जालको सहज पहुँच, बरियारपुरमा रहेको विश्व प्रसिद्ध गढीमाई मन्दिर, सिम्रौनगढमा रहेको ऐतिहासिक स्थल लगायतका धार्मिक, ऐतिहासिक पर्यटकीय स्थल रहेका छन् । त्यहाँ आउने पर्यटकहरूलाई वस्ने सुविधा सम्पन्न होटलहरू नभएकाले कलैयामा एउटा स्तरीय होटलको आवश्यकता महसुस गरेर आफुले होटल सञ्चालन गरेको शाहले बताए ।