विप्लव काफ्ले
बिहिवार, मंसिर ५, २०७६
349

भरतपुर-चितवनमा यो वर्ष ७ सय ५१ वटा घरेलु तथा साना उद्योग खुलेका छन् । साउनदेखि कार्तिकसम्मको यो आकडा निकै उत्साहजनक देखिएको छ । यो वर्षमात्रै १ अर्ब ७४ करोड १० लाख ४३ हजार लगानी थपिएको छ । गत वर्षमा ३ अर्ब ९९ करोड ७४ लाख ६ हजार पुँजी लगानी थपिएको थियो । घरेलु तथा साना उद्योग कार्यालय चितवनका अनुसार गत वर्षमा १ हजार ६ सय ८८ नयाँ दर्ता भएका थिए ।
“४ महिनामा दर्ता हुने दर सन्तोषजनक देखिएको छ”, कार्यालयका सूचना अधिकारी सुदर्शन पौडेलले भने, “दिनहुँ कार्यालयमा भीड हुन्छ ।” उनका अनुसार कृषि तथा वनतर्फका लघु उद्यम धेरै दर्ता प्रक्रियामा आएका छन् । कृषि तथा वनतर्फ लघुउद्यम ३ सय ४३, घरेलु उद्योग ३, साना उद्योग ६० वटा सहित लु ल ४ सय ७ दर्ता भएका छन् । पर्यटनतर्फ १ सय २४, उत्पादनमुलकका १ सय १८, सेवामुलक १ सय, सूचना, प्रसारणतर्फ १ दर्ता भएका छन् । “स्वदेशमै रोजगारी सृजना गर्ने वातावरण बन्दै गएको छ”, उनी भन्छन्, “लगानी पनि बढेको छ ।” चितवनमा हालसम्म १२ हजार ३६ वा घरेलु तथा साना उद्योग छन् ।

लगानीकर्ता र रोजगारी पाउनेमा महिला अगाडी
कार्यालयको तथ्यांक अनुसार ४ महिनाको अवधिमा दर्ता भएका घरेलु तथा साना उद्योगमध्ये महिला पुरुषभन्दा दोब्बर छन् । लगानी गर्नेमा ६ सय ६९ महिला छन् भने ३ सय ३६ जना पुरुष छन् । महिलाले दर्ता गर्दा ३५ प्रतिशतबढी छुट पाउने भएकैले महिलाहरु उत्साहित बनेका हुन् । दर्ता गर्दा सञ्चालकले बुझाउने विवरणका आधार केलाउँदा १ हजार ६ सय ८७ जना महिलाले यो वर्ष नयाँ रोजगारी पाएका छन् । पुरुषतर्फ ६ सय ५१ जनाले मात्रै पाएको देखिन्छ ।
नवीकरण र खारेजी गर्न आउने उस्तै
कार्यालयका अनुसार ४ महिनामा २ सय ८८ उद्योगको नविकरण भएको छ । २४ वटा बन्द भएका छन् । गत वर्ष १ हजार ५ सय ५१ वटाले नविकरण गरेका थिए । २ सय २ वटा बन्द भएका थिए । पहिलो पटक नविकरण गर्दा दर्ता भएको ५ वर्षपछि, त्यसपछि हरेक दुई–दुई वर्षमा नविकरण गर्नुपर्ने प्रावधान हुन्छ । यो वर्ष २४ वटाले लगानी बढाएका छन् । गत वर्ष १ सय ४१ वटाले लगानी बढाएका थिए । गत वर्ष ४१ करोड ४९ लाख ८ हजार पुँजी बढाइएको थियो । “उद्योग, व्यवसाय चलेन बन्द गरौँ भनेर आउने नगण्य छन्”, सूचना अधिकारी पौडेलले भने, “पारिवारिक कारण देखाउँदै ज्यादै कम बन्द गर्न आएका छन् ।”