कारोबार संवाददाता
बिहिवार, मंसिर ५, २०७६
276

भरतपुरमा राष्ट्रिय कृषि यान्त्रीकरण प्रर्दशनी हुने भएको छ । यही ६ गतेदेखि ९ गतेसम्म हुने प्रर्दशन चितवन एक्स्पो सेन्टरमा सञ्चालन हुनेछ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विभाग, कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवद्र्धन केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय प्रदेश नं ३ र नेपाल कृषि मेशिनरी व्यवसायी संघले संयुक्त आयोजना गरेका हुन् । बुधबार आयोजित पत्रकार सम्मेलनमा नेपाल कृषि मेशिनरी व्यवसायी संघका महासचिव कृष्ण शमाले कृषिलाई यान्त्रीकरण गर्न सहयोग पुग्ने बताए । “२० देशका कृषि यन्त्र, औजार उपकरण र प्रविधिहरु राखिनेछ”, उनले भने, “२ हजार बढी प्रविधिबारे बुझ्न सकिनेछ, यो नेपाली किसानलाई अवसर पनि हो ।” प्रर्दशनीमा १ सय बढी स्टल रहनेछन् । “इञ्जिन, इन्धनविना चल्ने उपकरणबारे जानकारी लिन सकिनेछ”, उनले भने, “प्रविधिको प्रयोगले उत्पादन बढाउन र लागत घटाउन सहयोग पुग्नेछ ।” प्रर्दशनीको शुक्रबार पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गर्नेछन् । संघका अध्यक्ष स्वयम्भु कृष्ण श्रेष्ठले कृषिमा आकर्षण बढाउन प्रर्दशनीले मद्धत पु-याउने बताए ।
“श्रमशक्तिको अभाव खड्कीन थालेको छ, उत्पादन लागत बढेकाले किसान निराश छन्”, उनले भने, “नयाँ प्रविधिको प्रयोगले कृषिमा आर्कषित गराउनेछ ।” प्रर्दशनीमा ३५ हजार किसानले अवलोकन गर्ने अनुमान गरिएको बताए । देशभरीका कृषक समूह, सहकारी, सुपरजोन, जोन क्षेत्रका किसानहरु सामूहिक अवलोकनका लागि आउने बताए । प्रर्दशनीमा प्रवेश गर्न शुल्क लाग्नेछैन । प्रर्दशनीबाट करिव १० करोड बढीका उपकरण, यन्त्रहरु बिक्रि हुने अनुमान गरिएको छ । व्यवसायी, उद्यमी, नीतिनिर्माता लगायत सराकोरवालाको सहभागिता रहने जनाइएको छ । २०७० सालमा नारायणी नदी किनारमा पहिलो कृषि यान्त्रीकरण प्रर्दशनी भएको थियो । दोस्रो प्रर्दशनी २०७२ सालमा बाँके कोहलपुरमा, तेस्रो भृकुटीमण्डप काठमाडौंमा भएको थियो । चौथो प्रदर्शनी पुनः भरतपुरमा हुन लागेको हो ।