कारोबार संवाददाता
बुधवार, कार्तिक २७, २०७६
452

सुर्खेत-कर्णाली प्रदेशमा पहिलो पटक व्यावसायिक कालिज पालन थालिएको छ । प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिका–१३ रातानाङ्लामा केही युवाहरूले व्यावसायिक कालिज पालन सुरु गरेका हुन् ।
‘एचके अर्गानिक वाइड एण्ड् अर्गनाईजेशन रिसर्च’ प्रालिले फ्रान्समा पाइने ५२ प्रजातिका कालिजमध्ये रिङनेक प्रजातिको कालिज पालन सुरुवात गरेको छ । २० रोपनी जग्गा १० वर्ष लिजमा लिएर ८८ लाखको लगानीमा कालिन पालन फर्मको सुरुवात गरिएको सञ्चालक हस्तबहादुर शाहीले जानकारी दिए ।

‘समृद्धिको आधार व्यवसाय रोजगार’ भन्ने मूल नाराका साथ व्यावसायिक फर्मको सुरुवात गरिएको शाहीले बताए । गत भदौ महिनादेखि कालिज पाल्न सुरु गरिएकोमा एक हजार दुई सय कालिज उत्पादन गरिएको शाहीले जानकारी दिए । आफ्नो आर्थिक समृद्धिसँगै कर्णाली प्रदेश सरकारले लिएको समृद्धिको नारालाई समेत सहयोग पुग्ने उद्देश्यका साथ फामको सुरुवात गरेको उनको भनाइ छ ।
आवश्यकताअनुसार व्यवसायलाई बिस्तार गर्दै जाने सोचमा रहेको उनले बताए । “हाल १ हजारदेखि १२ सयसम्म कालिज पालेका छौं,” सञ्चालक शाहीले भने, “चल्लाहरू आउने क्रम जारी छ । बिस्तारै ४ हजार बढी पु-याउने लक्ष्य छ ।” फ्रान्सेली कालिजको मूल्य एउटाको ३ हजार ५ सय पर्ने उनले जनाए ।
यसैबीच फर्मको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, सामाजिक विकासमन्त्री दल रावल, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बूढासहितको टोलीले अनुगमन गरेको छ । अनुगमनपछि मुख्यमन्त्री शाहीले वीरेन्द्रनगरमा कालिज पालनको सुरुवात राम्रो भएको भन्दै यसलाई विस्तार गर्दै जानुपर्ने बताए ।
कर्णाली प्रदेशका अधिकांश जिल्लामा जंगली कालिज पाइने भए पनि व्यावसायिक रूपमा पालन गरिएको भने यो पटक हो । जंगली कालिजसमेत पाइने हुँदा कर्णालीका धेरै ठाउँमा व्यावसायिक कालिज पालनको समेत राम्रो संभावना रहेको देखिन्छ ।

गोविन्द खत्री