कारोबार संवाददाता
बुधवार, कार्तिक २७, २०७६
292

आउँदो मंसिर पहिलो साता हुने क्यान महासंघको चुनावका लागि नवराज कुँवरले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । हाल क्यानको वरिष्ठ उपाध्यक्ष रहेका कुँवरले क्यान महासंघको १३ औं कार्यसमितिको निर्वाचबाट अध्यक्षका निर्वाचित गराउन सूचना प्रविधिसँग सम्बन्धित सरोकारवाला पक्षसँग आग्रह गरेका छन् । संस्थाको २६ वर्षे इतिहासमा उपत्यका बाहिरबाट पहिलो पटक नेतृत्वमा दाबेदार बनेको उनले बताएका छन् ।
“७७ वटै जिल्लामा क्यान महासंघका शाखा पु¥याई मुलुकमा सूचना प्रविधिको विकासलाई नयाँ चरणमा प्रवेश गराउने सोचका साथ सूचना प्रविधि महासंघको अध्यक्ष पदमा दावेदारी पेश गरेको हुँ,” कुँवरले भने । सूचना प्रविधिसम्बन्धी सामग्री एवं सेवा आयात र निर्यातमा देखिएको समस्या तथा ब्रोडव्यान्ड कनेक्टिभिटी सञ्चालनमा रहेको अव्यावहारिक कर नीतिलाई सरकारसँग छलफल गरी समाधान गर्ने पहल गरिने उनले बताएका छन् ।

आफू निर्वाचित भएमा केन्द्र र सातै प्रदेशमा क्यान फेडेरेसनको आफ्नै भवन तथा पूर्वाधार तयार गर्ने र प्रादेशिक सचिवालय स्थापना गर्ने कार्यलाई प्राथमिकता दिने बताएका छन् । सूचना प्रविधि मेला क्यान इन्फोटेकलाई अझ परिस्कृत र विकसित बनाउने र यसलाई सातै प्रदेशमा विस्तार गर्ने योजना पनि उनले अघि सारेका छन् । त्यसैगरी, नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन सूचना प्रविधि र पर्यटनलाई सम्बोधन गर्ने गरी पोखरामा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने उनको लक्ष्य छ ।
सूचना प्रविधिका विभिन्न क्षेत्रको विकासका लागि अन्तर्राष्ट्रिय सहयोग जुटाउन आफूले पहल गर्ने र सूचना प्रविधिको हस्तान्तरण गरी मुलुकको विकासमा टेवा पु¥याउनका लागि नेपालमा भएका कूटनीतिक नियोगसँग छलफल गरी काम अगाडि बढाउन पहल गर्ने बताए ।
०५२ देखि क्यानको सदस्य रहेका कुँवरले ०५७ सालमा लुम्बिनी अञ्चलका सूचना प्रविधि व्यवसायीलाई संगठित गरी आफ्नो अध्यक्षतामा क्यान लुम्बिनी संस्था गठन गरी क्यानको पहिलो शाखाको रूपमा सदस्यता दिलाएका थिए । विगत डेढ दशकदेखि क्यानको केन्द्रीय समितिमा रहेर कामको अनुभव संगालेको, समितिका सबैभन्दा पुरानो र हाल वरिष्ठ उपाध्यक्ष भएकाले पनि आफ्नो उम्मेदवारी स्वाभाविक रहेको कुँवरले बताएका छन् ।
सातै प्रदेशमा विस्तार भएको महासंघले हालसम्म ५७ जिल्लामा उपस्थिति जनाइसकेको छ भने करिब ५ हजार सदस्यहरू आबद्ध छन् ।
राष्ट्रिय सूचना प्रविधि नीति तथा कार्यक्रममा सरकारलाई परामर्श दिने तथा सहकार्य गर्ने, मुलुकमा यस क्षेत्रका लागि व्यावसायिक वातावरण निर्माणका लागि प्रयासरत रहने, व्यवसायीको हकहितका लागि निरन्तर काम गर्ने तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सहकार्य गर्नेजस्ता कार्यमार्फत क्यानले आफूलाई यस क्षेत्रको सशक्त संस्थाका रूपमा उभ्याउन सफल भएको उनले बताए । क्यानलाई त्यसै दिशामा अझ प्रभावकारी ढंगले अगाडि बढाउने आफ्नो योजना रहेको भन्दै कुँवर आफ्नो समूहबाट संस्थागत साधारण समूहबाट राजन कर्माचार्य, अमित सराफ, राजेश अग्रवाल, शंकर श्रेष्ठ, शर्मिला भुजेल, निरञ्जन पटेल, सुरेन्द्र न्यौपाने, संस्थागत आजीवन समूहबाट डा. पवनकुमार शर्मा, नविन जोशी, राजेन्द्र अर्याललाई अगाडि सारेका छन् । व्यक्तिगत आजीवन समूहबाट प्रा. डा. सुवर्ण शाक्य, विक्रम श्रेष्ठ, दामोदर अधिकारी छन् भने व्यक्तिगत साधारण समूहबाट खुसल रेग्मी, रत्नतारा वैद्य, सुवास खड्का, धनश्याम खनाल, श्रवण श्रेष्ठ, श्री पौडेल, दिनेशराज कार्की छन् ।
त्यस्तै वस्तुगत सदस्य समूहबाट नारायणबहादुर थापा, भोजराज भट्ट, चिरञ्जीवी अधिकारी, प्रताप सापकोटा छन् । लेखा समितिमा लक्ष्मण यादव संस्थागत सदस्य समूह, हृदयमान श्रेष्ठ व्यक्तिगत सदस्य, भीमसेन गिरी (जिल्ला शाखा) छन् । जिल्ला शाखा समूहबाट प्रदेश नं २ दीपेन्द्रराज सिंह र भुपालदास श्रेष्ठ, प्रदेश नं ३ शेखरनाथ दुलाल र भानु शर्मा, गण्डकी प्रदेशः अशोकबाबु राना, प्रदेश नं ५ ः रेशम गिरी र ध्रुवराज शर्मा (सुदीप), कर्णाली प्रदेश ः दलबहादुर खड्का र भीम मल्ल तथा सुदूर पश्चिम प्रदेशः हर्क सेठ्ठी र खेमराजले उम्मेदवारी घोषणा गरेका छन् ।