केशव समर्पण
बुधवार, कार्तिक २७, २०७६
745

हेटौंडा–१३ मयुरधापमा निर्माण सुरु भएको मयुरधाप औद्योगिक क्षेत्रको प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) प्रतिवेदन वन तथा वातारण मन्त्रालयले स्वीकृत नगर्दा एकवर्षदेखि औद्योगिक क्षेत्र स्थापनाको काम रोकिएको छ । बन्दै गरेको औद्योगिक क्षेत्रपर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र पर्ने भन्दै वन मन्त्रालयले प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन नै स्वीकृत गर्न आनाकानी गरेको हो ।
वन मन्त्रालयले आईईई प्रतिवेदन स्वीकृत नगर्दा वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) पूरा गरी भौतिक पूर्वाधार निर्माणमा असर परेको मयुरधाप औद्योगिक क्षेत्रको परियोजना प्रमुखसमेत रहेका हेटौंडा औद्योगिक क्षेत्रका प्रमुख राजेन्द्रप्रसाद कँडेलले जानकारी दिए ।“औद्योगिक क्षेत्रको लालपूर्जा प्राप्त गरी हामीले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) पनि स्वीकृत गरी तारबार र प्लटसमेत छुट्याउने काम गरिसकेका छौं । गत वर्ष आईईई प्रतिवेदन पनि तयार गरी वन मन्त्रालयमा स्वीकृति माग्दा मन्त्रालयले स्वीकृत दिन आनाकानी गरिरहेको छ । त्यसयता कुनै काम नै अघि बढ्न सकेको छैन,” कँडेलले भने ।

औद्योगिक क्षेत्र स्थापनाको लागि सरकारले दुई वर्षदेखि बजेटसमेत विनियोजन गरिरहेको छ । तर, पर्याप्त काम हुन नसक्दा बजेटसमेत फ्रिज हुने गरेको छ । चालू आवमा पनि संघीय सरकारले करिब ३१ करोड रुपैयाँ मयुरधाप औद्योगिक क्षेत्रको लागि छुट्याएको छ । तर, आईईई प्रतिवेदन मन्त्रालयमै रोकिएका कारण कुनै पनि काम हुन सकेको छैन ।
गत वर्षदेखिऔद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले मयुरधाप औद्योगिक क्षेत्रको परियोजना कार्यालयसमेत स्थापना गरी ७ जनाको दरबन्दी तोकेर कर्मचारीसमेत खटाइसकेको छ ।हाल कार्यालयमा दुई जनामात्र कर्मचारी छन् । कार्यालय स्थापनाको बेला प्रकाश केसीलाई परियोजना प्रमुखकारूपमा पठाए पनि औद्योगिक क्षेत्र स्थापनाको काम अघि बढ्न नसकेपछि लिमिटेडले फिर्ता बोलाएको छ । हाल हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय प्रमुखलाई नै परियोजना प्रमुखको जिम्मेवारी दिइएको छ ।
“हामीसँग बजेट पनि पर्याप्तै छ, आईईई प्रतिवेदन स्वीकृत भएमा ईआईए गरी संरचना निर्माणको काम अघि बढाउने थियौं,” परियोजना प्रमुख कँडेलले भने,“छिट्टो समस्याको समाधान गर्न हामीले पहल गरिरहेका छौं । स्थानीयले पनि मन्त्रालयमा डेलिगेशन जाने तयारी गरिरहेका छन् ।” हेटौंडा उपमहानगरपालिकाले पनि औद्योगिक क्षेत्र बन्न लागेको जग्गासहित विभिन्न वडालाई मध्यवर्ती क्षेत्रभन्दा बाहिर राख्ने निर्णय गरी मन्त्रालयमा सिफारिस गरिसकेको छ । तर, सिफारिसबमोजिम मन्त्रालयले निर्णय गरेको छैन ।
खहरे उकासको करिब २ सय बिघा जमिनमा स्थापना हुन लागेको औद्योगिक क्षेत्रमा६५ वटा उद्योग स्थापना गर्ने तयारी छ । पूर्वमा मयुरधापको बस्ती, पश्चिममा कालापानी, उत्तरमा हेटौंडा १६ नम्वर वडा र दक्षिणमा उत्तरपानी पर्ने उक्त चार किल्ला भित्र रहेको चुरे खहरेको उकास जमिनमा औद्योगक क्षेत्र स्थापना गर्न ४ वर्षअघि नै मन्त्रिपरिषद् बैठकले निर्णय गरेको थियो ।
२०७२ चैत १ गतेको मन्त्रिपरिषद् बैठकले मयुरधापमा नयाँ औद्योगिक क्षेत्र बनाउने गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्कै निर्णयले २०७३ साउन ६ गते औद्योगिक क्षेत्र स्थापना गर्ने जग्गाको लालपूर्जा मयुरधाप औद्योगिक क्षेत्रको नाममा नामसारी गरिएको थियो ।
औद्योगिक क्षेत्र तयार गर्नका लागि करिब साढे सात अर्ब रूपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । डीपीआर तयारीपछि २० बिगाहा जमिन मुद्रण विभागले नोट छाप्ने उद्योग स्थापनाको लागि सम्झौता गरिसकेको छ । बाँकीजमिनलाई चारदेखि १४ रोपनीसम्मका गरी ६३ वटा प्लटमा विभाजित गरिएको मयुरधाप औद्योगिक क्षेत्र परियोजना कार्यालयका प्रशासन प्रमुख तिलक सुवेदीले जानकारी दिए ।
औद्योगिक क्षेत्र स्थापनाको काम सुरु भएसँगै उद्योगीहरू जग्गाको लागि निवेदनसमेत लिएर आउन थालेका छन् । आफूले स्थापना गर्न चाहेको उद्योगको प्रकृति र आवश्यक कागजातका साथ निवेदन दिने उद्योगको संख्या दर्जन पुगिसकेको परियोजना कार्यालयका प्रशासन प्रमुख सुवेदीले बताए । “प्रक्रियाअनुसार त भौतिक पूर्वाधार निर्माण भइसकेपछि आशयपत्र मागेर उद्योग छनोट गर्नुपर्ने हो, तर अहिलेदेखि नै उद्योगीहरू निवेदन लिएर आउने गरेका छन् । कस्ता प्रकारका उद्योगहरूले कस्तो प्रस्ताव गरिरहेका छन् भन्ने जान्नको लागि हामीले पनि निवेदन लिएर राख्ने गरेका छौं । पछि उद्योग छनौट त आशयपत्रको आधारमै हुने हो,” सुवेदीले भने ।
स्वदेशी उत्पादनमा वृद्धि गर्ने तथा स्वरोजगार सिर्जना गर्ने उद्देश्यले सरकारले देशका विभिन्न चार स्थानमा औद्योगिक क्षेत्र स्थापनाको काम गरिरहेको छ । सबैभन्दा पहिले जग्गा नापजाँच र लालपुर्जा पाएको मयुरधाप औद्योगिक क्षेत्रको काममा भने ढिलाइ भइरहेको छ ।वर्षौंदेखि चुरेको जंगल हुँदै मयुरधापमा खहरे बग्ने गरेको थियो । चुरेको खहरेले धार परिवर्तन गरेसँगै ठूलो क्षेत्रफल खाली जमिनको रूपमा बसेको थियो । बुट्यानहरूले ढाकेको उक्त जमिनमा ठूला रुखहरू छैनन् । खाली रहेको उक्त जग्गा समथर रहेको छ ।