कारोबार संवाददाता
बुधवार, कार्तिक २७, २०७६
306

सर्वोच्च अदालतका न्यायाधीश इश्वरप्रसाद खतिवडाले मेलमिलाप पद्धतिलाई व्यावसायिक विवाद समाधानको उपयुक्त र प्रभावकारी माध्यम बनाउन निजी क्षेत्रलाई आग्रह गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघको सचिवालयमा स्थापित व्यावसायिक मेलमिलाप केन्द्रको उद्घाटन गर्दै न्यायाधीश खतिवडाले मेलमिलाप पद्धतिलाई व्यावसायिक विवाद समाधानको उपयुक्त र प्रभावकारी माध्यम बनाउन आग्रह गरेका हुन् । उनले केन्द्र उद्घाटनपछि आयोजित व्यावसायिक मेलमिलापसम्बन्धी अन्तरक्र्रियालाई सम्बोधन गर्दै महासंघलाई व्यावसायिक विवादको समाधानमा प्रभावकारी माध्यम बन्न आग्रह पनि गरे ।
न्यायाधीश खतिवडाले व्यावसायिक विवादको छिटो, छरितो र मितव्ययी ढंगबाट समाधान नै व्यावसायिक मेलमिलाप भएको बताए । सर्वोच्च अदालतले समेत व्यावसायिक मेलमिलापलाई उच्च प्राथमिकतामा राखेर यस्ता केन्द्र स्थापना गरी सोही केन्द्रको माध्यममार्फत समस्या समाधानमा जोड दिएको उनले बताए । कार्यक्रममा पूर्व न्यायाधीश केशरीराज पण्डितले वाणिज्य क्षेत्रको विवाद समाधानमा मेलमिलाप प्रक्रिया र वरिष्ठ अधिवक्ता एवं मेलमिलाप परिषदका सदस्य मातृकाप्रसाद निरौलाले नेपालमा व्यावसायिक विवादमा मेलमिलापको सम्भाव्यता र कार्यदिशाका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा सहभागी वरिष्ठ कानुन व्यवसायीहरूले ऐन कानूनको निर्माणले पनि मेलमिलाप पद्धतिलाई प्रवद्र्धन गर्न वल पुग्न जानुको साथै मेलमिलाप पद्धतिको प्रवद्र्धनतर्फ भैरहेका प्रयासको सह्राना गरे । उनींहरूले वाणिज्य जगतले मेलमिलाप पद्धतिलाई विवाद समाधानको उपयुक्त माध्यमको रूपमा स्वीकार गर्नुपर्नेमा जोड समेत दिए ।
केन्द्रको उद्घाटन संयुक्त रूपमा न्यायाधीश खतिवडा र महासंघ अध्यक्ष भवानी राणाले गरेका हुन् । अध्यक्ष राणाले मेलमिलापलाई व्यावसायिक विवाद समाधानको उपयुक्त माध्यमका रूपमा आत्मसात गर्नुपर्नेमा जोड दिइन् । व्यावसायिक मेलमिलापको बढ्दो आवश्यकता र यसले व्यवसाय क्षेत्रलाई पुग्ने सहयोगका विषयमा छलफल गर्ने उद्देश्यले अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको भन्दै उनले मेलमिलापबाट छिटो, छरितो र सजिलोसँग विवाद समाधान हुन सक्ने भए पनि कतिपय व्यावसायिक विवादलाई अनावश्यक रूपमा अदालतसम्म पु¥याउने, विवादलाई इज्जत र प्रतिष्ठाको विषय बनाउने प्रवृत्तिले गर्दा विवादित पक्षले निकै ठूलो नोक्सानी बेहोर्नु परेकाले व्यावसायिक मेलमिलापलाई विवाद समाधानको महत्वपूर्ण माध्यमको रूपमा निजी क्षेत्रले स्वीकार गर्नुपर्ने सुझाव दिइन् ।
अध्यक्ष राणाले महासंघले संस्थागत व्यवस्था गरी मेलमिलापको सेवा उपलव्ध गराउने, मेलमिलाप पद्धतिलाई भरपर्दो र व्यवस्थित तरिकाले प्रवद्र्धन गर्ने उद्देश्यले केन्द्र स्थापना गरेको पनि स्पष्ट पारिन् ।
यस्तै, महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले व्यावसायिक एवं आर्थिक कारोबार गर्ने पक्षहरू बीच उत्पन्न हुने विवाद समाधानमा महासंघमा स्थापित केन्द्रलाई प्रभावकारी ढंगमा अगाडि बढाउने प्रतिवद्धता जनाउँदै व्यावसायिक मेलमिलाप निजी क्षेत्रको लागि महत्वपूर्ण सरोकारको विषय भएतापनि यो पद्धतिलाई व्यापक रूपमा प्रयोग गर्न नसकिएको सन्दर्भमा महासंघले यसको महत्वलाई बुझाउन आम रूपमा निजी क्षेत्रमाझ लैजाने विश्वास समेत दिलाए ।
कार्यक्रममा न्यायाधीशहरू किरण पौडेल र श्रीकान्त पौडेलसहित पाटन उच्च अदालतका चार न्यायाधीशहरूले समेत सम्बोधन गरेको थिए भने महासंघका उपाध्यक्ष किशोरकुमार प्रधान, महासंघका महानिर्देशक धरणीधर खतिवडा, वरिष्ठ कानुन व्यवसायीहरू, उद्यमी व्यवसायीहरूको सहभागिता रहेको थियो ।