कारोबार संवाददाता
मंगलबार, कार्तिक २६, २०७६
570

आगामी मंसिर ५ र ६ गते काठमाडौँमा आयोजना हुन लागेको सातौं नेपाल पावर समिट–२०१९ मा नेपाल र भारतबीच विद्युत् आदान–प्रदानका लागि सम्झौता हुने भएको छ ।
दुई देशबीच विद्युत् आदान–प्रदानका लागि निजी क्षेत्रका जलविद्युत् प्रवद्र्धकहरूले गठन गरेको नेपाल पावर एक्सचेन्ज लिमिटेडले भारतीय कम्पनीसँग सम्झौता गर्न लागेको हो । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) को मूल आयोजनामा हुन लागेको समिटमा भारतको एक्सचेन्ज कम्पनीसँग नेपाल पावर कम्पनीले विद्युत् व्यापारका लागि सम्झौता गर्ने गरी अघि बढेको छलफल अन्तिम चरणमा पुगेको इप्पानका महासचिव आशिष गर्गले जानकारी दिए ।

“भारतीय दुई एक्सचेन्ज कम्पनीसँग छलफल अघि बढेको छ, उनीहरूसँग गर्ने सम्झौताले बिजुली बिक्रीका लागि ढोका खुल्छ ।” उनले भने, “पावर समिटमा कम्तीमा पनि तमोर क्षेत्रमा निजी क्षेत्रले निर्माण गर्न लागेको ५ सय २९ मेगावाट बराबरका पाँच आयोजनाको विद्युत् बिक्रीका लागि सम्झौता हुने सम्भावना छ ।”
एक्सचेन्ज लिमीटेडले पाँच जलविद्युत् आयोजनाको विद्युत् भारत निर्यातका लागि स्वीकृति दिन विद्युत् विकास विभागमा आवेदनसमेत दिइसकेको छ । कम्पनीका अनुसार क्रिष्टल पावर कम्पनी प्रवद्र्धक रहेको १६६ मेगावाटको सुपर तमोर, सिम्बुवा हाइड्रोपावर प्रवद्र्धक रहेको ४६.८१ मेगावाटको माथिल्लो सिम्बुखोला, अपर तमोर प्रवद्र्धक रहेको ३२.५ मेगावाटको माथिल्लो तमोर बी, स्पार्क हाइड्रो इलेक्ट्रिक प्रवद्र्धक रहेको १२८ मेगावाटको तमोर मेवा तथा आरएम इस्भेष्टमेन्ट प्रवद्र्धक रहेको १५५.८२ मेगावाटको घुन्सा खोला जलविद्युत् आयोजनाले निर्यातका उनीहरूले प्रस्ताव गरिसकेका हुन् ।
समीटमा भरारतको सबैभन्दा ठूलो हाइड्रो भारतीय सरकारी कम्पनी नेसलन हाइड्रोपावर डेभलपमेन्ट कम्पनी (एनएचडीपी) का अध्यक्षसहित आठ जनाको टोली आउन लागेको र टोलीले जलविद्युत् लगानी तथा विकास कम्पनीसँग कम्तीमा एक हजार मेगावाट बराबरको आयोजना निर्माणका लागि समझदारी गर्न लागेको पनि महासचिव गर्गले जानकारी दिए । समीटमा नेसनल थर्मल पावरका प्रतिनिधि पनि नेपालको जलविद्युत् लगानीका लागि छलफलका लागि आउन लागेको छन् । त्यसैगरी गर्दैछ ।
भारतीय सरकारी कम्पनी डेहरी हाइड्रो डेलभपेन्ट कर्पोरेसनका साथै भारतको हटानी पावर, सनलाइट पावर, जेएसडब्लू पावर, ग्रिको पावर लगायतको टिम नेपाल आएर जलविद्युत्को लगानी गर्नुका साथै विद्युत् आदान–प्रदानका लागि छलफल गर्न लागेको छ ।
भारतसँग विद्युत् व्यापार सम्झौता (पीटीए) गरिसकेको तथा बंगलादेशले पनि सन् २०४० भित्र ९ हजार मेगावाट विद्युत् किन्ने प्रस्ताव गरे पनि हालसम्म कसरी व्यापार गर्ने टुंगो लागिसकेको छैन । आगामी वर्षापछि विद्युत् खेर जाने भन्दै नेपाल विद्युत प्राधिकरणले विद्युत खरिद सम्झौता (पीपीए) कडा गरेपछि पीपीए गरिसकेका र प्रतिक्षामा रहेका आयोजनाबाट उत्पादन हुने बिजुली खेर जान नदिन २० जलविद्युत् प्रवद्र्धक कम्पनी आफैं सक्रिय भएर पावर एक्सचेन्ज कम्पनी गठन थिए । इप्पानका अधिकांश पदाधिकारीहरू समेत संलग्न भएर गठन भएको कम्पनीले अहिले भारतका साथै वंगलादेशका नीजि क्षेत्रसँग विद्युत् व्यापारका लागि छलफल अघि बढाएको छ । भारत र वंगलादेशका नीजि क्षेत्र सहभागी हुने समिटले विद्युत् व्यापारका लागि ढोका खोल्ने अपेक्षा नीजि जलविद्युत प्रवद्र्धकहरूको छ ।