नीरज पिठाकोटे
शुक्रवार, कार्तिक २२, २०७६
160

वीरगन्ज- राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली चलचित्र जगत आर्थिक क्षेत्रको सकारात्मक प्रभाव पार्ने माध्यम भएको बताएकी छिन् । वीरगन्जमा बिहीबारदेखि सुरु भएको नेपाली चलचित्र स्वर्णिम महोत्सवको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले चलचित्र जगत आर्थिक क्षेत्रको सकारात्मक प्रभाव पार्नेमा माध्यम भएकाले यसलाई समय सापेक्ष विकास गर्दै लानुपर्ने बताइन् । कलाकारहरू राष्ट्रका जागरुक तथा महत्वपूर्ण प्रतिनिधिपात्र भएकाले समाजिक सहिष्णुता, शान्ति प्रवद्र्धन, पर्यटन विकास, पर्यावरणीय सन्तुलन र आर्थिक समृद्धिका सन्देश वाहक बनेर समाजमा चेतना र जागरण फैलाउनु पर्ने बताइन् ।
उनले नेपाली चलचित्रहरू मौलिक संस्कृतिको संरक्षण र विरताका गाथाहरू बोकेको पनि हुनुपर्ने बताइन् । नेपाललाई अन्तर्राष्ट्रिय चलचित्रको छायांकन स्थलका रूपमा विकास गर्न सबैक्षेत्रले सहकार्य गर्नुपर्नेमा जोड दिइन् । सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँसकोटोले नेपाली चलचित्रहरूले परिवर्तन र क्रान्तिको सकारात्मक पक्ष र त्यसले दिएको उपलब्धिको कथाहरू पनि समेटेको हुनुपर्ने बताए । उनले नेपालमा आमूल परिवर्तनहरू धेरै भए पनि त्यसको विषयमा अहिलेसम्म चलचित्रहरूमा देख्न नपाइएकाले अब बन्ने त्यस्ता चलचित्रहरूले इतिहासको विरताका गाथाहरूमा पनि चलचित्र बन्नुपर्ने बताए ।

कलालाई कुनै भूगोल र भाषाले नछेक्ने बताउँदै आन्दोलन र राज्यको शासन प्रणाली नै परिवर्तन गरेकाले कुनै एक भाषा र संस्कृतिको मात्रै राज्यले प्रोत्साहन गरेको छ भन्ने भ्रम नपाल्न आग्रह गरे । उनले अन्तराष्ट्रिय चलचित्रहरूसँग भन्दा पनि नेपालमै प्रतिस्पर्धात्मक चलचित्रहरूको निर्माण र विकास गर्न सुझाव दिए । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले नेपालमा अझै पनि नेपाली चलचित्रहरूको सम्भावना प्रचुर रहेकोले बाहिरी कलाकार भन्दा पनि नेपालकै कलाकारहरूलाई बढी माया गर्नुपर्ने बताए ।
नेपाल उद्योग वाणिज्य संघकी अध्यक्ष भवानी राणाले नेपालको आर्थिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने चलचित्र क्षेत्रलाई पनि राज्यले उचित स्थान र संरक्षण गर्नुपर्ने बताइन् । वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले नेपाली चलचित्रको अर्धदशक यात्रामा स्थानीय भाषा र संस्कृतिहरू समेटिने मौलिक कथाहरूलाई स्थान नपाएकोमा महोत्सवले स्थानीय भाषा र संस्कृतिलाई पनि प्रोत्साहन गर्ने अपेक्षा गरे । वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले वीरगन्जमा नेपाली चलचित्रको स्वर्णिम महोत्सव हुनु गर्वको विषय रहेको भन्दै यसले नेपालको प्रमुख प्रवेशद्वार र आर्थिक राजधानीलाई अझ बढी आर्थिक सहयोग पुग्नेमा विश्वस्त रहेको बताए ।
उद्घाटन समारोहमा नेपाली चलचित्रका दुईजना विशिष्ट व्यक्तित्वहरूलई सम्मान पनि गरिएको थियो । नेपाली चलचित्र स्वर्णिम सम्मानले प्रथम चलचित्र छांयाकार वैकुण्ठ मास्के र प्रथम चलचित्र सम्पादक तीर्थलाल श्रेष्ठलाई राष्ट्रपति भण्डारीले सम्मानित गरिन् ।